क्याम्पसमा आक्रमण र तोडफोडले प्राध्यापक त्रसित

काठमाडौं, १४ असार । शैक्षिक र प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा अराजक गतिविधि बढ्न थालेको छ । केही दिनदेखि क्याम्पसहरूमा आक्रमण, झडप र तोडफोड हुन थालेका छन् ।

काठमडौंका क्याम्पसहरूमा अराजक गतिविधि बढ्न थालेपछि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा डिनहरू सशंकित बनेका छन् । आक्रमण, कुटपिट, डरधम्की र तोडफोडजस्ता अराजक कार्य गराउनमा त्रिविका प्राध्यापक, कर्मचारी र विद्यार्थी नै संलग्न रहेका छन् । डिन तथा क्याम्पस प्रमुखहरूले छलफलको माध्यमबाट यसको समाधान खोज्न आग्रह गरेका छन् ।
पछिल्लो ४ दिनको अवधिमा इन्जिनियरिङ अध्ययन संस्थानका पुल्चोक डिनको कार्यालय, सरस्वती क्याम्पस र पाटन संयुक्त क्याम्पसमा कुटपिट तथा तोडफोड भएका छन् । कुटपिट र तोडफोड भएपछि डिनको कार्यालय र क्याम्पसहरू तनावग्रस्त बनेका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पस र पाटन क्याम्पस बन्द भएका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. भरतराज पहाडी कार्यकक्षमा एमाओवादीनिकट प्राध्यापकबाट आइतबार कुटिएका थिए । तिब्वत विश्वविद्यालयका उपाध्यक्षसँग छलफल गरिरहेको बेला पहाडीलाई प्राध्यापकहरूले लछारपछार गर्दै कुटपिट गरेका थिए ।
नेपाल प्रगतिशीत प्राध्यापक संगठन, डिनहरू तथा क्याम्पस प्रमुखहरू र त्रिवि प्रगतिशित कर्मचारी संगठनले केही दिनदेखि भइरहेका घटनाको निन्दा गर्दै त्रिवि कार्यकारी परिषद्लाई प्राज्ञिक थलो बनाउन आग्रह गरेका छन् ।
उनीहरूले बिहीबार त्रिवि पदाधिकारीलाई समेत क्याम्पसहरूमा आक्रमण, कुटपिट, डरधम्की र तोडफोडको घटना रोक्नसमेत माग गरेका छन् । बिहीबार नै १९ विभिन्न डिन, रिसर्च सेन्टर क्याम्पस प्रमुखहरू तथा नेपाल प्रगतिशील प्राध्यापक संगठनहरूले त्रिविमा भइरहेको अराजक गतिविधि रोक्ने माग गर्दै पदाधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले विज्ञप्ति निकाल्दै विशेष गरी एमाओवादीनिकट प्राध्यापकका कारण क्याम्पसहरूमा आक्रमण र कुटपिटजस्ता अराजक गतिविधि अरोप लगाएका छन् । डिन पहाडी र पाटन क्याम्पसमा विद्यार्थीलाई कुटपिट गराउनु एमाओवादी निकट प्राध्यापक र क्याम्पस प्रमुखको हात रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरस्वती क्याम्पसका क्याम्पस प्रमुखलाई पनि हातपात गर्ने, क्याम्पसको सम्पत्ति तोडफोड र आगजानी गर्ने कार्य भइरहेका छन् । यस्ता गतिविधि तुरुन्तै रोकिनु पर्छ । यो निन्दनीय कार्य हो ।’
उनीहरूले केही दिनदेखि भइरहेका अराजक गतिविधिमा संलग्नलाई कारबाहीको माग गदै छानबिन गर्न विश्वविद्यालय स्तरीय आयोग बनाउन पनि माग गरेका छन् ।
यसअघि पनि त्रिविका प्राध्यापकहरूले उच्छृंखल क्रियाकलाप गर्दै आइरहेका थिए । आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले त्रिविका पदाधिकारीको कार्यकक्षमा तोडफोड गर्नुको साथै कार्यकक्षमा थुन्ने गरेका छन् । गत असोजमा त्रिविकै प्राध्यापक संघको अगुवाइमा आफ्ना माग सुनवाइ नभएको भन्दै त्रिवि उपकुलपति, रजिस्ट्रार र रेक्टरलाई १८ घन्टा थुनेका थिए । नेकपा माओवादीनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आफ्ना मागको सुनवाइ नभएपछि पुस महिनामा उपकुलपतिको कार्यकक्ष नै तोडफोड गरेका थिए ।
ज्ञापनपत्रमा उनीहरूले यही स्थितिमा दिनदिनै कुटपिट र तोडफोड भइरहने हो भने त्रिविमा कसैले पनि काम गर्ने वातावरण नरहने बताएका छन् । त्रिविका प्रिन्सिपल गोविन्द सुवेदीले आफ्नै प्राध्यापक र कर्मचारीहरूबाट डिन कुटपिट हुन थालेपछि त्रिवि अप्राज्ञिकको थलो बन्न थालेको बताए । उनले यस्ता गतिविधिले प्राध्यापकमाथि नै प्रश्न चिह्न लाग्ने हुनाले त्रिविले घटनामा संलग्नलाई कारबाही गर्नपर्ने बताए ।
संस्थानका डिन पहाडीले आफू इन्जिनियरिङ संस्थानको द्विपक्षीय हितको सम्बन्धमा कुरा गरिरहेको बेला एक्कासि कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेको बताए । ‘म चिनियाँ पाहुनासँग कुरा गरिरहेको थिए । उनीहरू एक्कासि मेरा कोठामा प्रवेश गरेर मलाई लछारपछार गर्दै कुटपिट गरे,’ उनले भने, ‘मसँग कुनै माग पनि गरेका थिएनन् । सम्झाउन खोज्दा मानेनन् ।’
थापाथली इन्जिनियरिङ क्याम्पसबाट गएका प्राध्यापक र कर्मचारीले उनलाई कुटपिट गरेका थिए । उनीहरूले डिनको कार्यकक्षसमेत तोडफोड गरेका छन् । तोडफोडबाट कुर्सी, कम्प्युटरमा आजगनी गरेका थिए ।
त्यस्तै, बुधबार पनि पाटन संयुक्त क्याम्पसमा दुई विद्यार्थीबीच भएको झडपले क्याम्पस अनिश्चिकालीन बन्द भएको छ । दुई विद्यार्थी समूहबीचको झडपले असुरक्षा बढेको भन्दै क्याम्पस प्रमुखले बिहीबार सूचना निकाल्दै अनिश्चिकालीन क्याम्पस बन्द गरेका छन् ।
प्राध्यापक संगठनका अध्यक्ष विजयबहादुर सिलवालले दैनिक त्रिविका क्याम्पसहरूमा हुने अराजक घटनाले शैक्षिक जगत्को साख गिरेको बताए । उनले वार्ताको माध्यमबाट समाधान गर्ने उपाय हुँदाहँुदै डिनजस्तो पदाधिकारीलाई कुटपिट गर्नु दु:खद् भएको बताए ।

प्रतिक्रिया