एकीकृत जनस्वास्थ्य अभियान सफल

दोलखा : जिल्ला स्वास्थ्य कार्यालय दोलखाले सञ्चालन गरेको एकीकृत जनस्वास्थ्य अभियानबाट यहाँका करिब बाह्र हजार जनताले उपचार पाएका छन् ।
यहाँका उत्तरी तथा दक्षिणी दुर्गम ६ गाउँ विकास समितिमा स्वास्थ्य सेवा अपुग भएको महसुस गरी यो अभियान सञ्चालन गरेको र उद्देश्यअनुरूपको काम भएको बताइएको छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत वसन्त अधिकारीका अनुसार उत्तरी दुर्गमका खोपाचागु, आलम्पु र कालिञ्चोक तथा दक्षिणीका च्यामा, हावा र झुले गाविसमा सबैलाई सुलभ ढंगबाट स्वास्थ्य सेवा दिन तीन चरणमा यो अभियान सञ्चालन गरिएको थियो ।
पहिलो चरणको महिला स्वास्थ्य स्वयंसेविका सेवामा घरभेट स्वास्थ्य सेवा, स्वास्थ्यकर्मी सँगसँगै १५ वर्ष मुनिकालाई जुकाको औषधी, गर्भवती महिलालाई आइरन चक्की खुवाउने काम, आमा समूहमार्फत झाडापखाडा नियन्त्रणका लागि पानी शुद्धीकरण गर्न क्लोरिन चक्कीको प्रयोग, परिवार नियोजनका लागि कन्डम, पिल्स आदि वितरण, सुत्केरीपछिका आमाहरूलाई भिटामिन खुवाउने र स्वास्थ्य शिक्षा दिनेसमेतका कामबाट यी गाविसका ६ हजार ७ सय ७४ जनाले सेवा पाएका वरिष्ठ जनस्वास्थ्य अधिकृत अधिकारीले बताए ।
दोस्रो चरणमा वडास्तरीय गाउँघर क्लिनिक स्वास्थ्य सेवा सञ्चालन, खोप सेवा, गर्भ जाँच र प्रसूति सेवा, उपचार तथा औषधि वितरण, परिवार नियोजन स्वास्थ्य सेवा आदिबाट एक हजार ४ सय ३१ जनाले सेवा पाएका छन् ।
तेस्रो चरणको बृहत्तर स्वास्थ्य शिविर ६ वटै गाविसलाई पायक पर्ने उत्तरी क्षेत्रको खोपाचागुको सोरुङ खोलामा र दक्षिण भेगको जफेको छौँडेमा सञ्चालन गरिएको थियो । (सौस)

प्रतिक्रिया