पहिलो सट तीन टेकमा ओके भयो

Rupa-Khanalकाठमाडौं : ०६१ तिर होला, त्यतिबेला म पढ्दै थिएँ । साथसाथै नारी चेतना केन्द्र भन्ने संस्थामा जागिरे थिएँ । मलाई सानैदेखि कलाकारितामा रुचि थियो । अध्यायनकै समयमा पनि कलाकाकारितातिर मेरो ध्यान सधैँ जान्थ्यो । पढाइ र जागिरमै मेरो दिन बित्दै थियो । एकदिन समीर श्रेष्ठ दाइको फोन आयो । उहाँले फोनबाट हामीलाई एक नायिका चाहिएको छ तिमी खेल्छ्यौ भने आएर भेट भन्नुभयो । म पत्याउनै सकिनँ । तैपनि कोही आफन्तले सिफरिस गरेका होलान् भन्ने सोचले म उहाँलाई भेट्न गएँ ।
समीर दाइ परिधि चलचित्र निर्माणको तयारीमा हुनुहुँदो रहेछ । म पुग्दा उहाँ अफिसमै हुनुहँुदो रहेछ । उहाँले मलाई चलचित्रका बारेमा सबै कुरा भन्दै स्क्रिप्ट पनि पढ्न दिनुभयो । चलचित्र डान्स रेस्टुरेन्टमा नाच्ने एउटी केटीको कथामा रहेछ । त्यो कथा र मैले निर्वाह गर्ने पात्र मलाई मन पर्‍यो । पहिलोपटक चलचित्र अभिनयका लागि अफर आएको त्यो पनि नायिकाको । आफ्ना लागि यो ठूलो औसर ठानेर तुरुन्तै ओके भने । अनि अभिनयका लागि तयार पनि भए ।
अभिनय गर्ने सहमति जनाएपछि मलाई एडभान्स पनि दिइयो । एडभान्स लिएको १२ दिनपछि चलचित्रको छायांकन सुरु भयो । मेरो पहिलो दिनको सुटिङ चाँगुनारायणमा थियो । छ बजे म सुटिङ स्पोट पुगेकी थिएँ । पहिलो दिनको सट गीतको थियो । करिब दुई घन्टा यानिकी आठ बजेतिर नास्ता खाँदै मैले मेकअफ गरेँ । चलचित्र अभिनय मेरा लागि नौलो थियो । पहिलो दिनको सुटिङ त्यो पनि गीतको भएकाले मलाई निकै डर लागिरहेको थियो । त्यति बेला म त्यति राम्रो नाच्न पनि जान्दिनथेँ । भित्रभित्र डर भए पनि चलचित्र अभिनय गर्ने अवसर पाए राम्रो गर्नुपर्छ भन्ने सोच मनमा थियो । चलचित्रको सबै युनिट सबै मिलनसार थिए । मलाई अभिनयमा छान्ने समीर श्रेष्ठ नै निर्देशक भएकाले म केही ढुक्क थिएँ । चलचित्रको पहिलो सट मेरो श्याम घिमिरेसँग थियो ।
पहिलो चलचित्र अभिनय गर्न लागेकी म क्यामेराका एंगलिङप्रति अनभिज्ञ नै थिएँ । त्यसैले अभिनयको पहिलो टेक ओके भएन । कहिले मेरै त कहिले लाइट र अन्यका कारणले गर्दा पहिलो सट ओके हुन तीन टेक लाग्यो । पहिलो टेक ओके भएपछि सबैले मेरो अभिनयको प्रशंसा गरे । म भित्रभित्रै दंग भएँ । चलचित्र पहिलो भएकाले मलाई ड्रेसका बारेमा केही ज्ञान थिएन । आफ्नो गेटअफमा पनि ध्यान दिएकी थिइनँ । हेयर ड्रेसर र ड्रेसम्यानले जे भने त्यही गरेँ । चलचित्रमा गाउँले केटीले लगाउने साधारण कुर्ता सुरुवाल नै मैले बढी प्रयोग गरेकी थिएँ ।
२५ दिनमा चलचित्र सकियो । रमाइलो रमाइलोमै चलचित्र अभिनय सकिएपछि आफन्तसँग खुसी सेयर गरेँ । कलेज अध्ययन सकिएकाले साथीहरूसँग खासै खुसी सेयर भएन । चलचित्रको डबिङ सकाएर म प्रोजेटका लागि उपत्यकाबाहिर गएँ । करिब ६–७ महिनापछि चलचित्र प्रदर्शनमा आयो । चलचित्र प्रदर्शनमा आउँदा म भकुन्डेबेँसीमा थिएँ । चलचित्र प्रदर्शनमा आएको खबरले मलाई त्यहा बस्नै मन लागेन । चलचित्र कस्तो बन्यो, चलचित्र प्रचारका लागि छापिने पोस्टरमा आफू कस्तो देखिएकी छु, उत्सुकता भयो । त्यसैले बुबाआमाका साथ काठमाडौं आएँ । यात्राका क्रममा बनेपादेखि काठमाडौंसम्म आउँदा बाटाका दायाँबायाँ बिजुलीका पोलमा आफ्नो फोटो टाँसिएका पोस्टरहरू देख्दा खुसीको सीमा नै भएन ।
चलचित्र मैले साथीसित दुईपटक हेरेँ । परिवारका सदस्यसँग हेर्न मन लागेन । किनभने त्यो चलचित्रमा मेरो सुहागरातको सिन थियो । म अहिलेको जस्तो म्याचुएट नभएकाले लाज लाग्यो । तर, मलाई चिन्ने जतिले चलचत्र हेरे, कामको प्रशंसा गरे । त्यो प्रशंसाले मलाई अभिनयमा ऊर्जा थप्यो । मैले भर्खरै चलचित्र राहदानीको छायांकन सिध्याएकी छु । यो बीचमा आधा दर्जनजति चलचित्रमा मैले अभिनय गर्ने अवसर पाएँ । यो सबैको देन भनेको त्यो पहिलो चलचित्र अभिनय नै हो । सायद त्यो चलचित्र अभिनय गर्न नपाएकी भए म आज यहाँ हुन्नथेँ होला । (सौस)

प्रतिक्रिया