कालिकोटमा एलडिओको मनपरी

कालिकोट, १३ असार । अहिलेसम्म जिल्लामा आएका स्थानीय विकास अधिकारी कसैको पनि कार्यकाल राम्रोसँग सकिएन । कहिल्यै पनि कसैको औपचारिक बिदाइ हुन सकेन । कोही मध्यरातमा भागेर, केही विवादास्पद गतिविधिका कारण काठमाडौंमा आएका बेला अन्तै सरुवा गरेर हिँडे । अहिलेका एलडिओ पुष्पराज शाही पनि आर्थिक अनियमितामा तानिएका छन् ।

उद्योग मन्त्रालयमा कार्यरत शाही झन्डै एक वर्षअघि कालिकोटमा एलडिओका रूपमा गएका थिए । जिल्लामा सञ्चालित कुनै पनि विकासी कार्यक्रममा सार्वजनिक सुनुवाइ नगरी उनले योजनाको भुक्तनी गरेर सुशासनलाई चुनौती मात्र दिएनन्, युवा मन्त्रालयले जिविसमार्फत चलाएको नौ लाख रुपियाँको स्थानीय युवा साझेदारी कार्यक्रममा मनपरी ढंगले एनजिओहरू छाने ।
प्रतिस्पर्धाबाट बाहिरिएका संस्थासित आर्थिक लेनदेन गरी एलडिओ शाहीले रातारात कार्यक्रम सम्झौता गरे । एक संस्थासँग पैसाको कुरा नमिलेपछि उनले ‘पैसा दिँदा आफूले अस्वीकार गरेको’ भन्दै विज्ञप्ति नै निकालेका छन् ।
युवा मन्त्रालयले स्थानीय युवा साझेदारी कार्यक्रम जिल्ला स्तरमा सञ्चालन गर्दा पनि कार्यक्रम सञ्चालन निर्देशिकाको दफा २ को ‘ङ’ लाई बेवास्था गरिएको छ । युवा गैरसरकारी संस्था महासंघले निर्देशिकाअनुसार युवाको सहभागिताका लागि धर्नासहितका ९ सूत्रीय मागसहित अल्टिमेट पत्र ९ जेठमा पेस गरेको थियो ।
स्थानीय विकास अधिकारी शाही र सदस्यका हैसियतले प्रजिअ जगतबहादुर बस्नेतले युवाको सहभागिता बिना एकपक्षीय रूपमा युवा कार्यक्रम जबरजस्ती अगाडि बढाएको, शाहीले विभिन्न गैरसरकारी संस्थासँग कार्यक्रमा साझेदार बनाएबापत कमिसन माग गरेको, छनोट गरेकाभन्दा भिन्न संस्थालाई अनुचित लाभ लिई कार्यक्रम दिएको, निर्देशिकाविपरीत गैरयुवा संस्थालाई छनोट गरेको, छनोटमा परेका केही संस्थाको कार्यक्रमको सम्झौता पत्र र चेक जफत गरेको भन्दै महासंघले आपत्ति जनाएको छ ।
महासंघले एलडिओ शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएको छ ।

प्रतिक्रिया