नेविसंघको महाधिवेशन भदौमा

काठमाडौं, १३ असार । पटकपटक सर्दै आएको नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको छैटौँ महाधिवेशन भदौको २७ देखि २९ सम्म हुने भएको छ ।

बुधबार कांग्रेस सभापति सुशील कोइरालासहित पदाधिकारीबीच भएको छलफलमा महाधिवेशन भदौमा गर्ने सहमति भएको छ । औपचारिक निर्णय भने भइसकेको छैन ।
सभापति कोइरालाले संघका अध्यक्ष रञ्जित कर्णलाई भदौको अन्तिममा जसरी पनि महाधिवेशन गर्न निर्देशन दिएका छन् । कोइरालाले महासमिति बैठकले चार महिनाभित्र भ्रातृसंगठनको महाधिवेशन गरिसक्न दिएको म्यान्डेडअनुसार भदौभित्रै महाधिवेशन गराउन भनेका हुन् ।
अध्यक्ष कर्णले पार्टी पदाधिकारीले भदौको अन्तिममा महाधिवेशन गर्न निर्देशन दिएको बताए । ‘पार्टी सभापतिले भदौको अन्तिममा गराउन निर्देशन दिनुभएको छ,’ उनले भने, ‘भदौ २७ देखि २९ सम्म गर्ने भन्ने कुरा आएको छ । तर, निर्णय भएको छैन । जहाँसम्म त्यही मितिमा महाधिवेशन हुन्छ ।’ बिहीबार बस्ने संघको केन्द्रीय बैठकले औपचारिक रूपमा मिति तोक्ने उनले बताए ।
गत माघ ५ देखि ७ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि विवादका कारण हुन सकेको थिएन । माघमा महाधिवेशन गर्नका लागि २० जिल्लाको अधिवेशन पनि सम्पन्न भइसकेको थियो । तर, प्रतिनिधि छनोट गर्ने विषयमा विवाद देखिएपछि अन्य जिल्लाको अधिवेशन हुन सकेको थिएन । विवादका कारण ६ वर्षदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया