आफ्नै श्रीमतीको गुप्तांगमा तेजाब खन्याई फरार

राजविराज : परपुरुषसँग कुरा गरेको रिसमा आफ्नै पत्नीको गुप्तांगमा तेजाब खन्याएर सप्तरीका एक व्यक्ति फरार भएका छन् । सप्तरीको बकधुवा–७ महुली निवासी ४८ वर्षीय कृष्णबहादुर विश्वकर्माले आफ्नै पत्नी ३० वर्षीया बद्रीमाया विश्वकर्माको गुप्तांगमा तेजाब खन्याएका हुन् ।
तेजाबको असरले चिन्ताजनक अवस्थामा रहेकी बद्रीमायालाई स्थानीय महिलाले चन्दा संकलन गरी रायपुरस्थित युनिक अस्पतालमा भर्ना गराएका थिए । युनिकले उनलाई थप उपचारका लागि मंगलबारै सगरमाथा अञ्चल अस्पताल पठाएको थियो ।
अर्को पुरुषसँग कुरा गरेको आरोपमा चरित्रमाथि शंका गर्दै पतिले आफूमाथि कुटपिट गरेको र सुतिरहेका बेला गुप्तांगमा तेजाब हालेर भागेको पीडित बद्रीमायाले बताइन् ।
जेठी पत्नीले छाडेपछि कृष्णबहादुरले १३ वर्षअघि बद्रीमायासँग बिहे गरेका थिए । बद्रीमायाका १ छोरा र १ छोरी छन् । घटनाका बारेमा महुली प्रहरी चौकीमा उजुरी परेको र फरार कृष्णबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया