काठमाडौं, १२ असार । पूर्व अर्थमन्त्रीहरुले कागजमा राम्रो बजेट बनाउनुभन्दा पनि त्यसको कार्यान्वयन पक्षमा सचेत रहन सरकारलाई सुझाव दिएका छन् ।
आगामी बजेटका विषयमा पूर्व अर्थमन्त्रीहरुको सुझाव माग्न आज (बुधबार) सिंहदरबारमा बोलाइएको बैठकमा उनीहरुले पूँजीगत खर्च घटेको, व्यापार घाटा बढेको, निर्यातले आयातलाई प्रतिस्थापन गर्न नसकेको अवस्थामा उच्च आर्थिक वृद्धि दरको सपना नदेख्न आग्रह गरे । बजेट ल्याएपछि कुनै पनि मन्त्रालयले त्यसको स्वामित्व लिन नचाहने रोगका कारण कार्यान्वयन पक्ष फितलो हुने गरेको उनीहरुको भनाई छ ।
डा.रामशरण महतले नेपालमा लगानी नभएर असल शासनको समस्या भएको बताए । उनले अनावश्यक योजना आयोजना कटौती गर्ने उपयुक्त समय भएकाले चुनावी सरकारका नाममा नाफा घाटाको फेहरिस्त मात्र प्रस्तुत नगर्न आग्रह गरे ।
‘सरकारले तोकेको उर्जा, सिंचाई र पूर्वाधारको प्राथमिकता उचित भएपनि त्यस क्षेत्रमा के–के गर्ने भन्ने किटान हुन जरुरी छ,’ उनले भने, ‘ट्याक्सको नेटमा आउन चाहनेलाई छुट दिएर भएपनि दायरामा ल्याउने समय यही हो ।’
पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले पैंसा विनियोजन गरेर मात्र समस्याको समाधान नहुने जनाए । उनले बजेटको विनियोजन रकमको खर्चको सुनिश्चितता हुनुपर्ने बताए ।
‘५८ प्रतिशत विद्यार्थी एसएलसीमा फेल भएका छन्,’ डा.लोहनीले भने, ‘शिक्षामा भएको लगानीका विषयमा खोजी गर्ने बेला आएको छ ।’
पूर्व अर्थमन्त्री महेश आचार्यले सम्पूर्ण दलका नेताहरुलाई साक्षी राखेर सवैले स्वामित्व ग्रहण गर्ने खालको कार्यक्रम ल्याउन सल्लाह दिए । उनले कृषि, पर्यटन र उद्योगमा उपयोग हुने खालका पूर्वाधार योजना बनाउन आग्रह गरे ।
पूर्व अर्थमन्त्री मधुकरशम्शेर राणा, सुरेन्द्र पाण्डे र डा.रुप ज्योतिले आर्थिक वृद्धिदर हासिल गर्न निजीक्षेत्रलाई प्रोत्सान र नियमन जरुरी रहेको बताए ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले साझा विकासका एजेण्डालाई बजेटले प्राथमिकता दिने बताए । उनले सुशासन र लगानीमैत्री वातावरण बनाएर चुनावपछि आउने सरकारलाई सत्ता सुम्पिनु आफ्नो अभिष्ट रहेको बताए ।
प्रतिक्रिया