‘एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध’

Khilraj-Regmi'sकाठमाडौं, १२ असार । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद्का ‘स्टेट काउन्सिलर’ याङ जेइचीसित मंगलबार भएको भेटवार्तामा उनले नेपाली भूमिबाट चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धतासमेत गरेका छन् ।
अध्यक्ष रेग्मीले मुलुकको वर्तमान राजनीतिक अवस्था तथा आगामी मंसिर ४ मा गर्ने भनेर घोषणा गरिएको संविधानसभा चुनावको तयारीबारे स्टेट काउन्सिलर याङलाई जानकारी गराएका थिए । वार्ता र सहयोगको माध्यमबाट  चुनाव  स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रयत्नशील रहेको उनले चिनिया टोलीलाई बताएका थिए ।
नेपालको सामाजिक–आर्थिक विकासका साथै शान्तिप्रक्रिया र अघिल्लो संविधानसभाको चुनावमा चीनले गरेको सहयोगप्रति अध्यक्ष रेग्मीले आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका थिए ।
स्टेट काउन्सिलर याङले चीनले नेपालमा शान्ति कायम भई विकास भएको हेर्न चाहेको भन्दै आगामी मंसिरमा चुनाव गराउने सरकारको निर्णयकोे चीनले स्वागत गरेको बताए । चुनावमा चीन सरकारले पूर्णसहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चुनावले राजनीतिक स्थिरताका निम्ति मार्ग प्रशस्त गर्ने र नेपाली जनताका चाहना तथा अपेक्षा पूरा गर्ने दिशामा राजनीतिक दलहरूले आवश्यक काम गर्ने विश्वास पनि स्टेट काउन्सिलर याङले व्यक्त गरे । उनले दुवै देशको पारस्परिक विकासका लागि विस्तृत सहयोगको सहकार्य गर्न चीनले चाहेको जानकारी अध्यक्ष् रेग्मीलाई गराएका थिए ।
भेटवार्तामा उनीहरूबीच आपसीहित र चासोका विविध विषयमा पनि छलफल भएको थियो । अध्यक्ष रेग्मीले नेपाल र चीनबीच विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै भविष्यमा यो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । उनले मौजुदा आपसी सम्बन्ध उच्चस्तरमा हुने भ्रमण आदानप्रदानबाट अझ प्रगाढ हुनेमा जोड दिए ।
स्टेट काउन्सिलर याङले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन चीन तयार रहेको बताएका थिए । मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा हालैको बाढीमा परी जनधनको क्षति भएकामा उनले चीन सरकार र जनताका तर्फबाट सहानुभूति पनि प्रकट गरे ।

प्रतिक्रिया