तेह्र जलविद्युत् आयोजनाको अध्ययनमा विभाग

काठमाडौं, १० असार । सरकारले होल्ड गरेका ५२ आयोजनामध्ये १३ आयोजनाको विद्युत् विकास विभागले अध्ययन अगाडि बढाएको छ ।

निजी क्षेत्रका प्रवद्र्धकहरूले लाइसेन्स होल्ड गरेको आरोप लगाउने सरकारले आफैँले होल्ड गरेका ती आयोजनाको अध्ययन विभागमार्फत अघि बढाउन लागिएको हो । ४७ सय मेगावाटका ५१ आयोजना सरकारले रिजर्भ राखेकोमा तीमध्ये करिब २ हजार मेगावाट बराबरका १३ आयोजनाको अध्ययन विभागले अघि बढाउन लागेको हो । रिभर्ज आयोजनामध्ये ४ सय मेगावाटको नौस्यालगाड जलविद्युत् आयोजना विकास समितिमार्फत अघि बढाउन लागिएको छ भने ४८ मेगावाटको भेरी सिञ्चाई विभागले निर्माण गरिरहेको छ । ‘विभागले सरकारको बास्केटमा राखिएका १३ आयोजनाको निर्माण अघि बढाउन लागेको छ, ती आयोजनाहरू विभिन्न अध्ययनको चरणमा छन्,’ विभागका सूचना अधिकारी गोकर्णराज पन्थले भने ।
सरकार तथा विदेशी सहायताबाट १३ वटा आयोजनाहरूको अध्ययन अघि बढाउन लागिएको हो । एडिबीको सहयोगमा ११ सय १० मेगावाटको सुनकोसी दोस्रो जलाशय र ५ सय ३६ मेगावाटको सुनकोसी दोस्रो जलाशय जलविद्युत् आयोजनाको विस्तृत अध्ययन अघि बढाउन लागिएको छ । दुवै आयोजनाको अध्ययनमा एडिबीले रुचि देखाएपछि छलफल भइरहेको र टुंगो लाग्न बाँकी रहेको अधिकारी पन्थले जानकारी दिए । त्यसैगरी, विभागले ५.७ मेगावाटको गोडगाड, ८.२ मेगावाटको चेपे खोला, २२ मेगावाटको बूढीगंगा, १८० मेगावाटको आँधीखोला, १२ मेगावाटको काबेली, ८.१ मेगावाटको इखुवा, १३.५ मेगावाटको मैवा खोला, १२.२ मेगावाटको मादी खोला, ८.४ मेगावाटको मादी खोला नै र ८.९ मेगावाटको इन्खु खोला जलविद्युत् आयोजनाको अध्ययन अघि बढाएको छ । ३ मेगावाटको बबिया खोलाको प्रारम्भिक सर्भेसमेत गर्न लागिएको छ । अध्ययन अघि बढाइएकामध्ये आँधीखोला सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा अघि बढाउने लक्ष्य राखिएको विभागका अधिकारी पन्थले जानकारी दिए । ‘सरकारले आफ्ना बास्केटमा रहेका आयोजनाहरूको थप अध्ययन गर्न लागेको छ, बाँकी आयोजनाहरूसमेत स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानी गर्न चाहेमा
प्रतिस्पर्धामार्फत दिइनेछ,’ उनले भने । विभागले यी सबै आयोजनाहरूलाई प्राथमिकतामा राखेर अध्ययन अघि बढाइएको र अध्ययन सकेपछि सरकार वा स्वदेशी र विदेशी लगानीकर्तामार्फत निर्माण गरिने जनाएको छ ।
बूढीगंगा आयोजनालाई विभाग आफैँले अध्ययन अघि बढाई सोका लागि कुबेत फन्डले सहयोग गरिसकेको छ भने साउदी अरबले समेत विस्तृत अध्ययनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ तर ऋण सम्झौता हुन बाँकी छ । जनताको जलविद्युत् कार्यक्रममार्फत समेत विभागले अन्य आयोजनाहरूको निर्माण कार्य अघि बढाउन लागेको छ । नेपाल विद्युत् प्राधिकरणले मात्र जलविद्युत् आयोजनाहरू निर्माण गर्दै आएकोमा अब विभागले समेत आयोजनाको निर्माणका साथै अध्ययन अघि बढाउन लागेको हो । प्राधिकरणमा समेत जलविद्युत् आयोजना अध्ययनका लागि छुट्टै आयोजना विकास विभाग छ । उक्त विभागले समेत आयोजना अध्ययन अघि बढाउँदै आएको छ ।
स्वदेशी तथा विदेशी लगानीकर्ताले तुरुन्तै जलविद्युत् आयोजना निर्माण गर्न चाहेमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भएका आयोजनाहरू नभइरहेका बेला विभागले थप जलविद्युत् आयोजनाहरू अघि बढाउनका लागि आयोजनाहरूको विस्तृत अध्ययन, सम्भाव्यता अधययनलगायत गर्न लागेको हो ।

प्रतिक्रिया