समर्पण शिक्षामा

Keshar-Bdr-Aaleउनीसँगै ब्रिटिस गोर्खाबाट अवकाश लिएकाहरू बेलायती सरकारले उपलब्ध गराएको स्थायी बसोबास सुविधा (आइएलआर) लिएर इलबिच सहरमा आरामले बसिरहेछन् ।

धेरैजसो सैनिक अवकाशपछिका दिन परिवारसँग सुखसयलमा बिताउँछन् । तर, १९ वर्ष ब्रिटिस गोर्खामा बिताएका ५५ वर्षीय केशरबहादुर आले भने अवकाशपछिका दिनमा पसिना बगाइरहे छन्, स्कुलको व्यवस्थापन गर्न खटिन्छन् रातोदिन । ब्रिटिस गोर्खामा छँदाको भन्दा कम छैन उनको खटाइ । फरक यति छ– पहिले परदेशको सुरक्षाका लागि खटिनुपथ्र्यो, अहिले आफ्नो देशमा शिक्षा प्रदान गर्न ।
बिहानै विद्यालय जानु, शिक्षकसँग विद्यार्थीको पढाइबारे समन्वय गर्नु र विद्यार्थीलाई अध्ययनको सहज वातावरण तयार पार्नु उनको अहिलेको दैनिकी हो । उनी विद्यालयको व्यवस्थापन मात्र हेर्ने होइनन्, शिक्षकले विद्यार्थीलाई पढाउने तरिकाबारे पनि जानकारी राखिरहन्छन् । उनी सुनाउँछन्– ‘बेलायतका साथीहरू उतै बोलाइरहन्छन् । राजनीतिले देशमा कुनै काम गर्ने अवसर छैन, त्यसैले स्कुल कसैलाई जिम्मा लाएर यतै आइज भन्छन् । तर, मलाई मनै छैन । यहीँ शिक्षामै लागिरहेछुु ।’ पहिलेदेखि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लागेकाले बेलायतको आरामदायी जीवन छाडेर आएका रहेछन् उनी ।
बाँकेको कोहलपुरस्थित गोर्खा युनाइटेड स्कुल उनैले सञ्चालन गरेका हुन् । यसको शैक्षिक गुणस्तर बढाउनतिर उनी समर्पित भएका छन् । अनि उनको समर्पणले फल पनि लगाइसकेको छ । स्थापनाको ११ वर्षमा यसपालिको एसएलसीमा विद्यालयले उत्कृष्ट अंक ल्याएको छ । गोर्खा युनाइटेड हरेक वर्ष एसएलसीमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । दुईपटक त मध्यपश्चिम क्षेत्रकै सर्वोत्कृष्ट अंक ल्याएको छ । यसपालि पनि सोही उपलब्धि हात पर्‍यो । यो सबै यिनै पूर्वब्रिटिस गोर्खाको मेहनतको परिणाम हो ।
शिक्षाक्षेत्रमा यति धेरै लगाब किन त उनको ? भने– ‘शिक्षाकै कमीका कारण ब्रिटिस सेनामा नेपालीले तल्लो दर्जामा खुम्चिनुपरेको देखेँ । त्यसैले मलाई देशको शिक्षामा काम गर्न मन लाग्यो । म चाहन्छु– पढाइकै कमीका कारण कुनै पनि नेपालीले विश्वको कुनै पनि कुनामा तल्लो दर्जामा सीमित हुन नपरोस् ।’ त्यसो त आलेले सेनामा छँदा २ वर्ष लडाइँमा अपनाउनुपर्ने प्राथमिक उपचारबारे ३ हजार सेनालाई प्रशिक्षण दिएका रहेछन् । अवकाशपछि शिक्षणलाई नै कार्यक्षेत्र बनाउनुमा यो पनि एउटा कारण रहेछ ।
सन् १९९९ मा रिटायर्ड भएपछि शिक्षाक्षेत्रमा काम गर्नेबारे उनले साथीहरूबीच छलफल चलाए । नर्सिङ क्याम्पस वा विद्यालयमध्ये एक रोज्ने निक्र्योल गरे । इच्छा भए पनि के गर्दा उपयुक्त हुन्छ भन्ने चाहिँ उनले खुट्याइसकेका थिएनन् । त्यसैले यहाँ आएर शिक्षा ऐन पढे । यो ऐन ब्रिटिस गोर्खा सेनाको व्यवस्थापनसँग मिल्दोजुल्दो पाए । ‘अनि शिक्षामा काम गर्न सजिलो भयो,’ सुनाउँछन् ।
साथीहरूले सुरुमा चाँडो पैसा कमाइने नर्सिङ क्याम्पस खोल्ने मनसाय देखाएपछि उनी एक्लै कम फाइदा हुने विद्यालय खोल्नतिर कस्सिएछन् । त्यसपछि साथीहरू पनि उनीसँग सहमत भए । त्यसो त आफूले जानेबुझेको भन्दा बाहिरी क्षेत्रमा लगानी गर्दा केही हुने हो कि भन्ने डर उनलाई पनि थियो । ‘तर जे त होला,’ भन्छन्, ‘मेरै आग्रहमा ३९ जना (केही अवकाश र केही कार्यरत) ब्रिटिश गोर्खा सेनाको संयुक्त प्रयासमा विद्यालय खोल्ने निर्णय भयो । डर लागे पनि काम गर्दै जाँदा आज सफल भइयो, खुसी लाग्छ ।’ उनी अहिले सोही विद्यालयको निर्देशक भएर काम गरिरहेछन् ।
विद्यालयको जिम्मेवारीसहित ब्रिटिश सरकारले लिने गोर्खा सेनाको छनोट समितिमा पनि केही वर्ष काम गरे । विद्यालयलाई पर्याप्त समय दिन नसकेपछि भर्खरै समितिबाट बिदा लिएछन् । भन्छन्– ‘छनोट समितिमा रहँदा स्कुललाई समय दिन पाएको थिइनँ, अहिले त पूरै समय यसैलाई ।’
बेलायतमा रहेका साथीहरूले त्यहीँबाट सहयोग गरिरहेका छन् । उनी भने विद्यालयमा नयाँनयाँ कक्षा सञ्चालन गर्ने योजना बुनिरहेछन् । दश जोड दुईसम्म सञ्चालित उनको विद्यालय अब टेक्निकल विषय पढाउने तयारीमा छ । अहिलेको आवश्यकता नै टेक्निकल शिक्षा भएकाले त्यसमा जोड दिएका रहेछन् आलेले । ‘अबको शिक्षा सैद्धान्तिक नभएर व्यावहारिक हुनपर्छ, त्यसैले केही वर्षमा प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी हुँदै छ ।’ राम्रो व्यवस्थापन हुने हो भने सरकारी विद्यालयले पनि उत्कृष्ट नतिजा ल्याउन सक्ने दाबी गर्छन् आले ।

प्रतिक्रिया