३२० सामुदायिक विद्यालयको नतिजा शून्य

slcकाठमाडौं, १० असार । एसएलसी परीक्षामा ३ सय २० सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ जिल्लाबाहेक सबै जिल्लाका सामुदायिक विद्यालयको नजिता शून्य आएको छ । शून्य नतिजा आउनेमा २५ निजी विद्यालय पनि छन् ।

पनिकाका उपनियन्त्रक प्रल्लाह अर्यालका अनुसार सामुदायिक विद्यालयका ७२ दशमलव ३ प्रतिशत विद्यार्थी फेल भएका छन् । सबैभन्दा बढी उदयपुरमा ३१ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।
उपनियन्त्रक अर्यालका अनुसार काभ्रे, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जुम्ला, बर्दिया, बझाङ, नवलवरासी, धादिङ, म्याग्दी र गोर्खा जिल्लाबाहेक सबै जिल्लाको विद्यालयको नजिता शून्य आएको छ । यी जिल्लामा कम विद्यार्थी र दुर्गम भएका कारण नजिता शून्य नआएको अर्यालले बताए । एउटा विद्यालय मात्र शून्य रहेको ९ जिल्ला रहेका छन् ।
चितवन, अर्धाखाँची, गुल्मी, तनहँु, दाङ, कालिकोट, ललितपुर र रूपन्देही जिल्लामा एक सामुदायिक विद्यालयको मात्रै शून्य नतिजा आएको छ । केही विद्यालयको प्राविधिक कारणले पनि शून्य नतिजा आएको उनले बताए ।
‘प्रयोगात्मक विषयको नम्बर नपठाइदिँदा सबै फेल भएर कतिपय विद्यालयको नजिता शून्य आएको छ,’ अर्यालले भने, ‘नम्बर आएकाको हालिरहेका छौँ । केही विद्यालय घट्न सक्छन् ।’
खोटाङ र इलाम १४, पाँचथर र सल्यानका १३, रोल्पा ११ र धनुषामा १० सामुदायिक विद्यालयको नजिता शून्य आएको छ । ८६ दशमलव ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सकेको निजी विद्यालयमा पनि २५ विद्यालयको नतिजा शून्य आएको छ । उपत्यकाका १० र बाहिरका १५ निजी विद्यालयको नजिता शून्य रहेको छ ।
शिक्षाविद् तीर्थ खनियाँले सामुदायिक विद्यालयको पढाइको गुणस्तर कम भएका कारण धेरैको शून्य नतिजा आएको बताए । उनले सामुदायिक विद्यालयका शिक्षक पढाउनेभन्दा पनि जागिर खाने मानसिकताका कारण नतिजा खस्कँदै गएको बताए । यस वर्षको एसएलसीमा ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । एक्जाम्टेडतर्फ ७ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया