लोकमानको रिट चौथोपटक पनि हेर्न नमिल्ने बेन्चमा

Lokman-Shing-Karkiकाठमाडौं, १० असार । सर्वोच्च अदालतको गम्भीर त्रुटिका कारण अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको रिटमा चौथोपटक आइतबार पनि सुनुवाइ हुन सकेन । एक महिनाअघि अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरेको रिट सर्वोच्च अदातलले हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी चढाएपछि रिटमाथि सुनुवाइ हुन नसकेको हो ।

‘तीनपटक लगातार भरतबहादुर कार्कीकै इजलासमा सर्वोच्च अदालतले पेसी चढायो जब कि कार्कीको बेच्चले यसमा सुनुवाइ गर्न मिल्दैन,’ रिटकर्ता अधिवक्ता अर्यालले भने, ‘एकपटक चढेको पेसी हेर्न नमिल्ने भएपछि अर्का न्यायाधीशको इजलासमा पेसी चढाउनुपर्ने हो तर हेर्न नमिल्ने थाहा हुँदाहुँदै पनि नियतवश पेसी कार्कीकै इजलासमा राख्ने गरिएको छ ।’
लोकमानसिंह कार्कीविरुद्धको रिटमा पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले वकालत गर्ने भएपछि यो मुद्दा न्यायाधीश कार्कीले हेर्न नमिल्ने भएको हो । न्यायाधीश हुनुभन्दा पूर्व कार्कीले थापाको ल फममा काम गर्थे । त्यही कारणले उक्त रिट हेर्न नमिल्ने भएको हो ।
तर, सर्वोच्च अदातलले लगातार उनकै बेन्चमा पेसी तोक्ने गरेको छ । पेसी तोक्ने काम प्रधानन्यायाधीशको हो । कामु प्रधानन्यायाधीश दामोदरप्रसाद आचार्यलाई पनि कार्कीविरुद्धको रिट न्यायाधीश कार्कीले हेर्न नमिल्ने थाहा छ । तैपनि पेसी चढाउँदै आएका छन् ।
लोकमानविरुद्धको रिटमा सुनुवाइका लागि चारपटक पेसी तोकियो । एकपटक कामु प्रधानन्यायाधीश शर्माले आफ्नै बेन्चमा राखेका थिए । उनी संवैधानिक परिषद्का सदस्य भएका कारण हेर्न नमिल्ने भएको थियो ।
कार्कीलाई संवैधानिक परिषद्को सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा राष्ट्रपति डा.रामवरण यादवले नियुक्त गरेका थिए । उक्त नियुक्ति वर्तमान कानुनी व्यवस्था र लोकतान्त्रिक मूल्य तथा मान्यताविरुद्ध भएको जिकिर गर्दै सर्वोच्च अदातलमा रिट दायर गरिएको थियो ।

प्रतिक्रिया