एक दशकपछि पोखरेलीका नाटक

काठमाडौं : लामो समयदेखि सुस्ताएका पोखरेली नाट्यकर्मी अब जुर्मुराउने भएका छन् । केही समयअघि युथ क्रियसन थियटर नामक संस्था गठन गरेका नाट्यकर्मीले आफूहरू फेरि नाटकमा लागिपर्ने हालै आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।
यो थियटरले अन्तर्राष्ट्रिय रक्सी भट्टी नामक नाटक आगामी १४ र १५ गते पोखराकै उद्योग वाणिज्य संघको हलमा प्रदर्शन गर्ने भएको छ । एक दशकभन्दा लामो समयसम्म नाटकको स्वाद चाख्न नपाएका पोखरेलीका लागि यो नाटक निकै महत्त्वपूर्ण हुने नाट्यकर्मीको दाबी छ । नाटकको लेखन तथा निर्देशन कृष्ण उदासीकै छ ।
नाम सुन्दा अलिक भिन्न लागे पनि यो हाम्रै कथामा आधारित नाटक हो, निर्देशक उदासीले भने । नाटकले विशेषगरी राष्ट्रियताको सवाललाई उठाउनेछ । नाटक पोखरेलीले मन पराउने उनले विश्वास लिएका छन् ।
कपिल शर्मा, रेम विक, इन्दु श्रेष्ठ, मनोज घर्तीमगर, सौगात पोखरेल, सरु लामिछाने, दीपक त्रिपाठी, रेखा पुरी, विभु भुषाल, अस्मिता गुरुङ, मनीष पुरी, प्रकाश पराजुली, पारु भण्डारी, सन्ध्या अधिकारी, प्रदीप सुवेदी, रुपिन्द्र प्रभावी कटु र लक्ष्मी पल्पसालगायत कलाकारले नाटकमा अभिनय गर्दै छन् । (सौस)

प्रतिक्रिया