होटलबाट नक्कली मदिरा बिक्री वितरण, तीनजना पक्राउ

विराटनगर, ९ असार । बजारमा बढी चलेका मदिराको बोतलमा नक्कली मदिरा भरेर बिक्रि गर्ने एक गिरोहलाई शुक्रवार विराटनगरवाट प्रहरीले पक्राउ गरेको छ ।

यती होटल र करणी माँ ट्रेडर्स चलाउदै आएका राजेन्द्र सेढाइँ, उनका सहयोगीहरू तारा दंगाल र धु्रव फुयाललाई प्रहरीले पक्राउ गरेको हो । ट्रेडर्स रहेको मदिराको होलसेल र होटल रहेकै भवनका तिन वटा कोठामा सो गिरोहले चल्तिका नामका मदिराको नक्कल गरेर बजारमा बिक्रि गर्दै आएका थिए । अन्तशुल्कको स्टीकर नलागेका तीन कार्टुन मदिरा सुनसरीको दुहबी तर्फ लैजादै गरेको फेला पारेर प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका ब्यक्तिको सुचनाका आधारमा मदिराको बोतलमा मिसावट गर्ने ठाउँ प्रहरीले छापा मारेको हो । हरेक किसिमका मदिराको बोतल तताएर बिर्को निकाली जस्ताको त्यस्तै लगाएर बजारमा पुर्‍याउने गरेको पाइएको प्रहरीको भनाई छ ।
पक्राउ परेका सेढाईले भने बोतल खोलेर पानी मात्रै मिसावट गर्ने गरिएको बताए । पानीका बोतलमा समेत लेवल बिनाका मदिरा भरेर राखिएको फेला परेको छ । यस्तै अन्तशुल्कको नक्कली स्टिकर, नक्कली बिर्कोपनि प्रहरीले बरामद गरेको छ । मोरङका प्रहरी नायव उपरिक्षक दिपक पोखरेलले उनीहरूलाई बिभिन्न मुद्धामा कारवाही गर्न सकिने बताए । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख गोपाल कोइरालाका अनुसार, अबैध मदिरा कारोबारमा जेल सजाय र नक्कली स्टीकर मुद्धामा सरकारी कागजात किर्ते सरह कारवाही हुने ब्यवस्था छ । पक्राउ परेका सेढाई होटलमा यौनजन्य क्रियाकलाप गराएको आरोपमा यस अघिपनि कारवाहीमा परिसकेका ब्यक्ति हुन् । पक्राउ गरिएका होटल संचालकलाई अन्त:शुल्क ऐन अन्तर्गत कारवाही हुने राजस्व कार्यालयले जनाएको छ ।
विषेश सुराकीको आधारमा पुगेको प्रहरी र राजस्व कार्यालयको टोलीले होटलको गोदामबाट मदिरा बनाउन प्रयोग हुने सामान सहित नक्कली मदिरा बरामद गरेको हो । सो होटलले एन्टीक्वीटी, रोयल स्ट्याग, व्हाइट मिस चिफ र रुसलान भोडका लगायतका नाम चलेका ब्राण्डहरूको नक्कली उत्पादन गोदाम घरमै तैयार गरेर विभिन्न ठांउमा सप्लाई गर्दै आएको प्रहरीले जनाएका छ ।
होटल र रेस्टुरेन्टका अतिरिक्त होटल संचालक राजेन्द्र सेढाइँले यति ट्ेरडर्सको नाउमा फर्म दर्ता गराएर मदिरा विक्री वितरणको लाइसेन्स लिएर नक्कली मदिराको कारोवार गर्दै आएको थियो। संचालक सेढाइले बजारबाट सक्कली मदिरा ल्याएर बोतल खोल्ने र त्यसमा स्प्रीट र कमशल रक्सी मिसाएर पुन सिलछाप गरि बजारमा पठाउने गरेको आन्तरीक राजस्व कार्यालयका प्रमुख कर अधिकृत गोपाल कोइरालाले जानकारी दिए ।
प्रहरीले होटलको गोदाम घरबाट बजारमा पठाउन तैयारगरी राखिएको नक्कली मदिरा १ सय ८० क्वाटर, रुसलान भोडका ६३ बोतल, व्हाइट मिसचिफ १८ बोतल, रोयल स्ट्याग १५ बोतललगायत २ सय ८० थान नक्कली स्टिकर, खाली बोतल, स्प्रीट, मिनरल वाटरको बोतलमा राखिएको कमशल मदिरा, बोतलको बिर्को खोल्न प्रयोग गरिने हिटरसहित नाप्न प्रयोग गरिने यन्त्रहरू बरामद गरेको छ । सेढाइले विराटनगर आसपासको  अधिकांश होटलमा दुहबी सम्मका होटलहरूलाई नक्कली मदिरा सप्लाइ गर्दै आएको खुलेको छ ।

प्रतिक्रिया