कवि बन्ने सपना विकट पहाडको यात्रा रहेछ

Amar-Gigiझन्डै चार दशकदेखि तपाईं कविता लेखनमा क्रियाशील हुनुहुन्छ । आफ्नो कवितायात्रालाई कसरी मूल्यांकन गर्नुभएको छ ?
मेरो कवितायात्रा विभिन्न मोड हुँदै अगाडि बढ्यो । पछि फर्केर हेर्दा सामान्यत: मलाई सन्तोष नै लाग्छ । यद्यपि, सन्तोष भन्ने कुरा सापेक्षिक हुँदोरहेछ । मेरा कविताले जुन स्तरमा काव्यिक हस्तक्षेप गर्न सक्नुपर्ने हो, त्योचाहिँ गर्न सकेको जस्तो लाग्दैन । यसले मेरो कविता लेखनको सीमालाई देखाउँछ । नि:सन्देह, समकालीन नेपाली कविता लेखनमा मेरो एउटा परिचय त छँदै छ । तर, यो परिचयलाई अझै समृद्ध गर्न बाँकी छ । म मात्र होइन, आजको नेपाली कविता लेखन झन्डैझन्डै औसत लेखनका बीचबाट गुज्रिरहेको देख्छु । यसलाई हरेक गम्भीर स्रष्टाले स्वीकार गर्नुपर्छ जस्तो मलाई लाग्छ ।
आफ्नै लेखनका सम्बन्धमा तपाईं कुन कुरामा सन्तुष्ट हुनुहुन्छ र कुन कुरामा असन्तुष्ट ?
कुनै पनि कवि आफ्ना रचनाहरूलाई लिएर पूर्ण सन्तुष्ट हुन्छ जस्तो लाग्दैन । म पनि छैन । मेरा लेखनका पनि सबल र दुर्बल पक्षहरू छन् । सबल पक्षहरूबाट सन्तुष्ट हुने र दुर्बल पक्षहरू हेर्दा असन्तुष्टी हुने भइरहन्छ । कवितालाई जीवन र जगत्सँग गहिरो गरी जोड्नु, कविताको सोद्देश्यता, प्रतिबद्धता, सामाजिक सरोकार आदिमा स्पष्ट हुनु, विषयगत विविधता रहनु मेरा कविताका सबल पक्ष हुन् । तर, कविताको कलात्मक उचाइका दृष्टिले मैले अझै गर्न बाँकी छ भन्ने मलाई अनुभव हुन्छ । कलात्मक दृष्टिले मेरा कविता कमजोर त छैनन् । तर, यिनले अझै उचाइ छुन बाँकी छ । यस मानेमा म आफ्ना कविताबाट असन्तुष्ट भइनैरहन्छु । असन्तुष्टि नै राम्रो सिर्जनाको कारक हो भन्ने लाग्छ ।
कविता लेखनका आरम्भिक दिनहरूमा तपाईंका आदर्श कविहरू कोको थिए ?
लेखनको प्रारम्भिक दिनमा आफूले मानेका कविहरूको प्रभाव र प्रेरणा रहन्छ नै । मेरो कविता लेखनको आरम्भ दाङमै भयो । त्यहाँका केही अग्रज कविहरू खासगरी नारायणप्रसाद शर्मा, नेत्रलाल अभागी र गिरिराज शर्मा मेरा आदर्श र प्रेरणाका स्रोत थिए । कविता लेखनको आरम्भिक चरणमा गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा र भूपी शेरचनबाट पनि म अत्यधिक प्रभावित थिएँ । यिनीहरूको प्रभाव र प्रेरणा अहिले पनि ममा छँदै छ ।
भर्खरभर्खर कविता लेख्न थाल्दा तपाईं कस्ता सपना देख्नुहुन्थ्यो ?
कविता लेखनको सुरुमा मेरा पनि मीठामीठा सपनाहरू थिए । देशको ठूलो कवि बन्ने, साहित्यका माध्यमबाट समाजको परिवर्तनमा सहयोग पुर्‍याउने, सामाजिक प्रतिष्ठा आर्जन गर्नेजस्ता सपना मैले देख्ने गर्थें । सुरुसुरुमा कवि बन्ने कुरा सजिलो जस्तो लाग्थ्यो र सपनाहरू पनि त्यसैअनुसार निर्मित हुन्थे । तर, कविता लेखनको यात्रा अघि बढ्दै गएपछि थाहा लाग्यो, यो सजिलो होइन कठिन यात्रा रहेछ । कवि बन्ने सपना पनि विकट पहाडमा यात्रा गर्नु जस्तो पो रहेछ । आरम्भमा जसरी सोचिँदो रहेछ, गर्दै जाँदा वास्तविकता त्यस्तो नहुँदो रहेछ । एउटा कवि गम्भीर आत्मसंघर्षको बीचबाट गुज्रनु पर्दोरहेछ, अनेकौँ कठिनाइहरूसँग संघर्ष गर्दै अगाडि बढ्नुपर्दो रहेछ ।
कविता लेख्न तपाईंलाई केले प्रेरित गर्छ ? कविता रचनाप्रक्रियासम्बन्धी तपाईंको विश्वास के हो ?
समाजमा विद्यमान असमानता, अन्याय, त्यसविरुद्ध मानिसले गरिरहेको संघर्ष, उसको उध्र्वगामी यात्रा र स्वप्नहरू, जीवनका सुखदु:ख, आँसुहाँसो, घामछायाँजस्ता विषयले मलाई कविता लेख्न प्रेरित गर्छन् । सर्वप्रथम कविता लेख्नुपर्ने विषय अगाडि आउँछ र त्यसबारे मस्तिष्कमा विम्बको निर्माण हुन सुरु गर्छ । त्यो परिपाकको एउटा अवस्थामा पुगेपछि कविताको रूप लिन्छ । कतिपयले कविता लेखन अनायास हुन्छ भन्छन् । मसिनोसँग नियाल्यो भने कविता लेखन अनायास होइन, सायास नै हुन्छ । म कविता लेखिसकेपछि त्यसलाई तुरुन्त प्रकाशन गर्नुभन्दा केही दिन पर्खेर पुन: जाँचेर मात्र प्रकाशनमा दिने गर्छु ।
लामो समय तपाईं दाङमा बसेर साहित्यकर्म गर्नुभयो । अहिले राजधानीमै हुनुहुन्छ । राजधानी र मोफसलबीच तपाईंले अनुभव गरेको भिन्नता के हो ?
राजधानीमा मोफसलमाभन्दा साहित्यिक वातावरण र अवसर दुवै बढी छन् । रचना प्रकाशन, पुस्तक प्रकाशनलगायतका सुविधा पनि राजधानीमै बढी छन् । अध्ययन सामग्री पनि राजधानीमै बढी पाइन्छन् । प्रचारप्रसारका माध्यम पनि यहाँ नै बढी छन् । यस अन्तरले मोफसल र राजधानीलाई छुट्याउँछ । राजधानीमा बसेर लेख्ने लेखकले जे पाउन सक्छ, त्यो मोफसलमा बसेर लेख्नेलाई पाउन त्यति सजिलो छैन ।
तपाईं पनि राजधानीका यिनै सुविधा हासिल गर्न काठमाडौं आउनुभएको हो ?
म त्यस्तो सोच राखेर काठमाडौं आएको होइन । मेरो राजधानी आगमन साहित्यिकभन्दा राजनीतिक बढी हो । पार्टी (एमाले)ले संस्कृति विभागको सचिवमा काम गर्न भनेपछि म काठमाडौं आएँ । यदि त्यस्तो नभएको भए म काठमाडौं आउने थिइनँ । समयले मोफसल र राजधानीबीचको दूरी धेरै कम गरेको छ । तर, केही भिन्नता अझै जीवित छन् ।
हालै तपाईंका कवितामा भारतीय प्रगतिशील कविहरूको प्रभाव रहेको र ‘चटामरी’ कविता त कवि आलोक धन्वाको एक कविताको चोरी नै भएको आरोप पनि लाग्यो नि ?
सामान्यत: विदेशी कविको प्रभाव पर्नुलाई अनुचित मान्न सकिन्न । त्यस्तो प्रभाव ममा मात्र होइन, कमबेसी सबैमा पर्छ । प्रभाव पर्नु र ठाडो नक्कल वा चोरी गर्नु बीचमा आधारभूत अन्तर छ । मधुपर्कमा छापिएको मेरो कविता चटामरीलाई आलोक धन्वाको किसने बचाया मेरी आत्मा को ठाडो चोरी भनिएको छ । यो हास्यास्पद आरोप हो । धन्वा र मेरो कविताबीचमा मौलिक अन्तर छ । मधुपर्कका सम्पादक र राजु उप्रेतीले जानीबुझी मेराबारे भ्रम छर्न र मलाई अनैतिक सावित गर्न खोजेको देखिन्छ । त्यसैकारण मैले पाठकहरूलाई भ्रम नपरोस् भनी बुधबार साप्ताहिकमा मेरो र आलोक धन्वाको कविताको पूर्ण पाठ नै राखेर त्यससम्बन्धमा आफ्ना विचार प्रस्तुत गरेको छु । मलाई यो आरोप योजनाबद्ध ढंगले आएको भन्ने लाग्छ र यसको उद्देश्य प्रगतिशील साहित्यिक आन्दोलनलाई नै कमजोर बनाउने देखिन्छ । चटामरी कविता मात्रै होइन, मेरा सम्पूर्ण कवितालाई चोरी सावित गर्ने कुर्तक मधुर्पकमा छापिएको पाठक प्रतिक्रियामा गरिएको छ ।
स्रष्टाहरूमा प्रभाव देखिनु अनौठो र अस्वाभाविक कुरा होइन । त्यो धेरथोर सबै स्रष्टामा देखिन्छ । तपाई स्वयंलाई पनि कुनै खास कवि वा काव्यधाराको आफूमा प्रभाव छ भन्ने लाग्छ होला नि ?
ममा केही स्वदेशी तथा विदेशी कविको प्रभाव छ । प्रगतिवादी धाराबाट प्रभावित भएरै मेरो कविता लेखन अघि बढेको हो । पाब्लो नेरुदा, ब्रेख्त, लोर्का, मायाकोब्स्की, सर्वेश्वरदयाल सक्सेना, मुक्तिबोध, पाश, आइछिङजस्ता विदेशी कवि र देवकोटा, रिमाल, भूपीजस्ता स्वदेशी कविको प्रभाव ममा परेको छ । यो प्रभावले मेरो मौलिकतालाई कहीँ क्षति पुर्‍याएको छैन । यिनीहरूको प्रभावलाई मैले आफ्नो सिर्जनात्मक सामथ्र्यलाई समृद्ध गर्न प्रयोग गरेको छु ।
नेपाली कविता लेखनको पछिल्लो परिदृश्यलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
नेपाली कविता लेखनको अहिलेको परिदृश्य उत्साहपूर्ण छ । सबैभन्दा बढी स्रष्टाहरू यस विधामै कलम चलाइरहेका छन् । कविताको गुणात्मकतामा भने केही समस्या देखिन्छन्, जसबारे गम्भीर विमर्श भएको मैले पाइरहेको छैन । नेपाली कवितालाई अझ बढी सार्थक बनाउन ती कमजोरीलाई जित्न आवश्यक छ ।
ती कमजोरी के हुन् ?
शैलीगत निजत्व र विशिष्टतामा समस्या, मध्यमवर्गीय र नागर चेतनाको बाहुल्यता, विशाल ग्रामीण जीवन र त्यसका सुखदु:ख, आँसुहाँसो, स्वप्न संघर्षको अभिव्यञ्जनामा न्यूनता, रूप र अन्तर्वस्तुको एकत्वसहितको उत्कृष्ट काव्यात्मक अभिव्यक्तिमा कमी, विषयवस्तुको व्यापक फलकको अभाव, अनि आजको भूमण्डलीकरण, उपभोक्तावादप्रति प्रहारमा कमी नेपाली कवितामा देखिएका कमजोरी हुन् ।
सबलता पनि त होलान् नि ?
सबलता पनि छन् । सरलता, सामयिकता, अनुभूतिको तीव्रता, संवेदनात्मक गहिराइ र आफ्नो समयसँग व्यापक सरोकार र सार्थक हस्तक्षेप आदि समकालीन कविताका महत्त्वपूर्ण उपलब्धि हुन् ।
तपाईं हालै प्रगतिशील लेखक संघको अध्यक्ष निर्वाचित हुनुभएको छ । नेपालको प्रगतिशील साहित्य लेखनको अवस्था कस्तो छ ?
नेपालको प्रगतिशील साहित्य लेखनको अवस्था तुलनात्मक रूपमा राम्रो छ । नेपालमा प्रगतिशील साहित्य नै मुख्य धारा हो । कमीकमजोरी त छन्, तर कमीकमजोरीसहित पनि यसको अहिले प्रतिनिधिमूलक उपस्थिति छ । सामाजिक सरोकारलाई केन्द्रमा राखेर अघि बढिरहेको प्रगतिशील साहित्यले समाजको आमूल परिवर्तनका निम्ति महत्त्वपूर्ण योगदान दिएको छ । कतिपयले यस धाराको अस्तित्वलाई नै अस्वीकृत गर्न खोजेको देखिन्छ । खास गरेर समानान्तर धाराका केही मानिस यस अभियानमा लागेका छन् । तर, यसले प्रगतिशील साहित्यको सशक्त उपस्थितिलाई कुनै क्षति पुर्‍याउन सक्ने देखिँदैन । प्रगतिशील साहित्यलाई अझ समृद्ध गर्नुपर्ने दायित्व प्रगतिशील स्रष्टाहरूको काँधमा छ । खास गरेर प्रगतिशील साहित्यलाई कलात्मक एवं विधागत रूपमा समृद्ध गर्ने दिशामा प्रगतिवादी स्रष्टाहरूले काम गर्नुपर्ने देखिन्छ ।
प्रगतिशील साहित्यभित्रै स्रष्टाहरूको एउटा पंक्ति प्रगतिशील लेखक संघ र त्यसका गतिविधिप्रति आलोचक देखिन्छ । यी आलोचनाहरूलाई कसरी लिनुभएको छ ?
आलोचनाहरूलाई मैले असहज रूपमा लिने गरेको छैन । मेरो आग्रह रचनात्मक आलोचना होस भन्ने छ । हामी सबै प्रगतिशील साहित्यिक आन्दोलनमै छौँ । प्रगतिशील लेखक संघ र त्यससम्बद्ध स्रष्टाहरूको आलोचना गर्ने प्रगतिशील साहित्यकारले पनि प्रगतिशील आन्दोलनलाई बलियो बनाउने दिशामा सोच्न आवश्यक छ । यो आन्दोलन बलियो बन्दा नै उहाँहरू पनि बलियो बन्नुहुन्छ । साहित्यको सामाजिक सरोकारलाई महत्त्व दिने मित्रहरूले प्रगतिशील साहित्यिक आन्दोलन बलियो बन्दा नै साहित्यको सामाजिक सरोकारलाई सार्थक रूप प्रदान गर्न सकिन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । त्यसैले मेरो आग्रह रचनात्मक आलोचना आओस् र साथसाथै बसेर काम गर्न सक्ने वातावरण बनोस् भन्ने छ ।
प्रगतिशील साहित्य क्षेत्रका अहिलेका मुख्य चुनौती केके हुन् ?
प्रगतिशील साहित्यलाई अन्तर्वस्तु र रूपले अझ समृद्ध गर्ने दिशामा काम गर्नु, प्रतिध्रुवबाट लाग्दै आइरहेको स्तरहीनताको आरोपको सोदाहरण सशक्त प्रतिवाद गर्नु र प्रगतिशील साहित्यको प्रचारप्रसारलाई प्रभावकारी रूपमा अगाडि बढाउनु प्रगतिशील साहित्य क्षेत्रका अहिलेका मुख्य मुख्य चुनौती हुन् ।
प्रस्तुति : सङ्गीतश्रोता

प्रतिक्रिया