पहिरोको डरले सिंगो गाउँ रातभर जागै

दोलखा, ७ असार । अविरल वर्षासँगै दोलखाको मार्बु–६ टोकदिङका स्थानीय बासिन्दा रातभर जागै बस्नुपर्ने बाध्यता छ । कहिले कतिखेर पहिरो जाने हो टुंगो छैन । कपाल सबै सेताम्मे फुलेको, चाउरी परेको अनुहारमा हाँसो छैन, शान्तिमाया शेर्पालाई । अहिले उनी ७२ वर्ष पुगिन् । उनी बसेको घर २० वर्षअगाडि भासिएर भत्किँदाको स्मरण सुनाउँदै भलको भेलझैँ आँखाभरी आँसुको धारा झार्दै भनिन्, ‘खै के भनौँ, सन्तानका रूपमा रहेको एक छोराको घरले किचेर ज्यान गयो ।’ त्यसबेला धनसम्पत्ति अन्नपात केही भन्न पाएकी थिइनन् उनले । उनको परिवारले नयाँ घर बनायो । तर, अझैसम्म पनि त्यो पीडा बिर्सनसकेकी छैनन् । उनी भन्छिन्, ‘कुन बेला के हुने हो त्रासमा जिन्दगी बिताउनुपरेको छ ।’ उनी त प्रतिनिधि पात्र मात्रै हुन् । त्यस बेला पूरै गाउँ नै शोक र पीडामा डुबेको थियो ।
अर्का स्थानीय बासिन्दा निमी शेर्पा गाउँमा पहिरोका पिरलो सधैँ रहने बताउँछिन् । उनका अनुसार गाउँमाथि रहेको जंगलमा थुप्रै ठाउँमा जमिन भासिएको छ । यसले गर्दा एक दुई घर मात्र होइन, पूरै बस्तीमाथि नै खतरा छ । टोकदिङका पूरै घरपरिवारलाई त्यो त्रास हट्न सकेको छैन । २० वर्षअगाडि पहिरोका कारण भासिएपछि अहिलेसम्म रोकिएको छैन ।
दोलखाको मार्बु–६ को टोकदिङ बस्तीमा ३२ परिवारको बसोबास छ । यस बस्तीमा वर्षा हुनेबित्तिकै गाउँलेमा त्रास जन्मिन्छ । उनीहरू वर्षा भएको दिन राम्रोसँग निदाउन सक्दैनन् । यहाँको कमजोर धरातलका कारण यस ठाउँको बस्तीमा पानी पर्नेबित्तिकै यहाँको जमिनमा माटो भासिन्छ ।
यस्तो समस्याबारे जानकारी पाएपछि जिल्ला भू–संरक्षण कार्यालय र इकार्डस् दोलखासहितको एक टोली स्थलगत भ्रमणमा गएको थियो । स्थानीय बासिन्दासँगको छलफलपछि कार्यालयले बस्ती बसेको भू–बनोट कमजोर भएका कारण यो समस्या आइपरेको निष्कर्ष निकालेको छ । टोलीमा संलग्न जिल्ला भू–संरक्षण कार्यालयका शेरबहादुर श्रेष्ठका अनुसार कुनै समय पहिरोले पुरिएर नयाँ बनेको जमिनमा बस्ती बनेका कारण बस्तीमा यस्तो समस्या आइपरेको हो । ‘लामो समयअगाडि पहिराका कारण पुरिएको जमिनमा रहेका ढुंगा कमजोर हुन लागेका कारण जमिन भासिन लागेको हुनसक्छ,’ श्रेष्ठले भने ।
स्थानीय क्षेत्रको विपद्बारे काम गरिरहेको इकार्डस् दोलखाले यस गाउँमा आउन सक्ने विपद्का लागि काम गरिरहेको बताएको छ । परियोजनाअन्तर्गत स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समितिको गठनसमेत गरिएको छ । यसले गाविसमा हुनसक्ने विपद्को सूचीकरण गर्नेलगायत काम गरिरहेको समितिका मार्बु गाविस संयोजक मोहनविक्रम आचार्यले बताए । उनका अनुसार मार्बुमा टोकदिङ बस्तीलगायत अन्य विभिन्न स्थानमा हुनसक्ने विपद् न्यूनीकरणका लागि समितिले विभिन्न कार्यक्रम गरिरहेको छ ।
इकार्डस् दोलखाले सो स्थानमा रहेको बस्ती जोगाउनका लागि विस्तृत योजना निर्माण गरिरहेको इकार्डस् दोलखाका जलवायुजन्य जोखिम व्यवस्थापन परियोजनाका परियोजना संयोजक विमल खतिवडाले जानकारी दिए । ‘हामीले सम्बन्धित स्थानको भ्रमण गरिसकेका छौँ । अब प्राविधिक तथा सामाजिक रूपमा कसरी विपद् कम गर्ने भन्नेबारे योजना निर्माणका क्रममा छौँ,’ खतिवडाले भने ।
जिल्ला दैविक विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने दोलखामा अन्य एक दर्जनभन्दा बढी क्षेत्रका पूरै बस्ती पहिरोको उच्च जोखिम रहेको र एउटा स्वास्थ्यसहितको टोली तयारीका साथ राख्नुका साथै बाढीपहिरोको उच्च जोखिमका क्षेत्र पहिचान गरी निगरानी गरिरहेको बताए । गत वर्ष पहिरोका कारण करिब १२ दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका थिए ।

प्रतिक्रिया