संस्कारहीन राजनीतिज्ञ

संस्कार राम्रो पनि हुन्छ र नराम्रो पनि हुन्छ । संस्कार मानिसले विकास गर्ने कुरा हो । मान, सम्मान प्राप्त भएपछि त्यसलाई जोगाइराख्न सक्ने व्यक्ति नै सम्मानित हुन्छ । तर, उक्त व्यक्ति सम्मानीत स्थानमा बस्न सकेन भने त्यो पतन भएर जान्छ । विश्वमा थुप्रै व्यक्तिले राम्रो संस्कार स्थापित गर्न ठूलठूला त्याग गरेका उदाहरण छन् । हाम्रै छिमेकी मित्रराष्ट्र भारतका महात्मा गान्धी, दक्षिण अफ्रिकाका नेल्सन मन्डेलालगायतका व्यक्तिले राजनीतिमा संस्कार स्थापित गरेका छन् । उनीहरूले राजनीतिलाई व्यवसाय होइन सेवाको रूपमा ग्रहण गरेर सोही अनुरूप व्यवहार देखाए । जनतालाई ढाँटेनन्, झुक्याएनन् । जे गर्न खोजेको हो त्यो गरेरै देखाए र त्यो राष्ट्र साथै जनताकै पक्षमा भएको प्रमाणित गरे । नेपाली जनता आफ्ना नेता पनि त्यस्तै इमानदार र राजनीतिक संस्कार विकास गर्न सक्ने हुन भन्ने चाहन्छन् । तर, हाम्रा नेता जति धेरै ढाँट्न र छल्न सक्यो त्यति नै सफल हुने ठान्छन् । यही कारणले गर्दा जनताले सफलतापूर्वक सम्पन्न गरेको आन्दोलनबाट प्राप्त उपलब्धिसमेत गुम्ने गरेको पाइन्छ । वर्तमान अवस्था पनि प्राप्त उपलब्धि गुम्नेतिर नै अग्रसर भएको पाइन्छ । एउटा गुट, गुटभन्दा माथि पुगे एउटा पार्टीको मात्र नेता बन्ने सपना बोकेको व्यक्ति राष्ट्रको नेता बन्न सक्दैन । अर्कोतर्फ कार्यकर्ता पंक्तिमा चेतनाको विकास नभएसम्म नेतृत्व विकास हुन सक्तैन । नेताले कुतर्कद्वारा कार्यकर्ता, जनता र राष्ट्रलाई समेत लज्जित बनाइरहेको हुन्छ ।
नेपाली जनताले ठूलठूला आन्दोलन सफलतापूर्वक सम्पन्न गरे । कसैले माने पनि नमाने पनि २००७ सालदेखि यता भएका आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । वास्तवमा नेपालमा वामपन्थी वर्चश्व रहे पनि वाम नेतृत्वले अत्यन्त कप्टी र छली काम गर्‍यो । जस्तो कि माओवादी सशस्त्र संघर्ष केका लागि भएको थियो ? जनवाद ल्याउने सपना देखाएर १६ हजार निर्दोष जनता किन मारिए ? प्रचण्ड पथ कहाँ थियो र अहिले कहाँ छ ? एमालेको जनताको बहुदलीय जनवाद भनेको के हो ? अर्थात् कम्युनिस्टहरूले जनतालाई ढाँटेर कुटिल, छली र धूर्त भाषणमा व्यक्त गर्ने जनवादी शासन भनेको के हो ? वास्तवमा वामपन्थीहरूले जनतालाई भ्रममा राख्न मात्र भाषण गरे । यसैले गर्दा बौद्धिक वर्गमा वामपन्थीहरूले जनतालाई भ्रममा राखेर सत्तामा जाने गर्छन् भन्ने सोच विकसित भएको छ । विगतले भन्छ वाम आन्दोलन राष्ट्र र जनताको पक्षमा भए पनि नेतृत्व तहमा रहेको पुँजीवादी चिन्तनले गर्दा प्राप्त उपलब्धिहरूले स्थायित्व पाएनन् । वर्तमान अवस्थामा पनि प्राप्त उपलब्धि दिगो, स्थायी र व्यवस्थित बनाउनेतर्फ सोचेको पाइँदैन । यही कारणले गर्दा जनतामा नेताहरूप्रति वितृष्णा बढ्दै गएको छ । ठूलो आन्दोलनपछि प्राप्त संविधानसभाले जनतालाई संविधान दिन सकेन । अहिले आएर दोस्रोपटक संविधानसभाको निर्वाचन गर्ने मिति घोषणा गरिएको छ । मंसिर ४ गतेको मितिमा निर्वाचन हुन्छ भन्ने विश्वास अहिले पनि जनतामा छैन ।
नेताहरूले राजनीतिक संस्कार गुमाएपछि मुलुकमा संकट मित्रिएको भन्ने ठानिएको छ । वास्तवमा अहिलेको राष्ट्रिय समस्या नेताहरूको विमतिले निम्त्याएको समस्या हो । त्यसमा पनि संस्कारहीन असहमतिको विकास गरेर तीन दलका शीर्ष नेताले यसलाई निम्त्याएका हुन् भन्ने सबैले बुझेका छन् । राष्ट्रकै लागि नेतृत्व गर्न सक्ने क्षमतावान् नेता नजन्मनु अर्को दुर्भाग्य हो । स्वार्थी, आफ्नो अनुकूल मात्र सोच्ने र सत्तामा पुगेर छिट्टै अतिरिक्त सम्पत्ति आर्जन गर्ने सोचले ग्रस्त नेतृत्वले राष्ट्रको हित गर्न सक्तैन । त्यसले कुसंस्कार विकास गर्छ र मुलुकमा समस्या निम्त्याउँछ । अहिले नेपालमा राजनीतिक नेताकै अदूरदर्शी चिन्तन, व्यक्तिगत स्वार्थपूर्ति गर्ने उच्च अभिलाषा र संस्कारहीन कारणले विभिन्नखाले समस्या उत्पन्न भएका हुन् ।

प्रतिक्रिया