सुखी संसार देख्ने गायक ठकुरी

Rajan-Thakuriकाठमाडौं : लोकदोहोरी गायक राजन ठकुरीले पछिल्लो समय आफ्नो गायनशैलीमा केही परिवर्तन गरेर आधुनिक गीततर्फ पाइला बढाएका छन् ।
‘सिमसिम पानी रै’छ्यौ बेइमानी…’ लोकदोहोरी गीतबाट आºनो पहिचान बनाएका ठकुरीले त्यसपछि पछाडि फर्केर हेर्नु परेन । उनका दर्जनौं गीत बजारमा आए ती श्रोताका मन–मन्दिरमा अझै बसेका छन् ।
‘एउटा चिठी लेख्न मन लाछ….’, तिम्रै झल्को तिम्रै तिर्सना…,’ ‘बादलभित्र जुन छ…….,’ लगायत सांगीतिक आकाशमा हाइट लिन सफल गीत गायक ठकुरीले आफ्नै स्वरमा रेकर्डिङ गराएका हुन् । यी गीत अहिले पनि श्रोताले गुनगुनाइरहन्छन् ।
उनले पछिल्लोपटक आधुनिक गीत समेटेर ‘परीक्षा’ एल्बम बजारमा ल्याएका छन् । एल्बममा रहेको ‘मैले पनि अरूले झैँ सुखी संसार देख्न पाए, कति सुन्दर लेख्थेँ होला, भाग्य आफैँ लेख्न पाए…’ बोलको आधुनिक गीत उनलाई अत्यधिक मन पर्छ । यी गतिमा स्वर, संगीत र संगीत संयोजन ठकुरीकै छ । शब्द भने राम अविरलले लेखेका हुन् ।
सो गीत प्रिज्म डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको हो । गीतलाई आदर्श डिजिटल प्रालिले बजारमा ल्याएको ठकुरीले जानकारी दिए ।
अचेल विद्युतीय सञ्चारमाध्यमबाट उचाइ लिँदै गरेको यो गीतबाट आफूले राम्रो प्रतिक्रिया पाइरहेको ठकुरीको भनाइ छ । ‘मैले सोचेजस्तै गीत राम्रो भएको छ,’ उनले भने, ‘श्रोताका अहिले दिएका प्रतिक्रियाबाट म सन्तुष्ट छु ।’
लोकदोहोरी गाउँदै आएका उनलाई आधुनिक गीत गाउँदा अप्ठ्यारो महसुस भएको होला भन्ने धेरैको सोचाइ हुन सक्छ तर मन र लगनले काम गरे जुन पनि सहज हुने उनको भनाइ छ ।
०५६ मा बाग्लुङदेखि अध्ययनको सिलसिलामा काठमाडौं छिरेका ठकुरीले आरआर क्याम्पसबाट संगीतमा स्नातक गरेका छन् । उसो त उनीसँग लोकगीत तथा आधुनिक गायनमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेको अनुभव पनि छ ।
लामो समय गायनमै रहेका ठकुरी गीत/संगीतको बजारबाट त्यति सन्तुष्ट छैनन् । देशको संक्रमणकालीन अवस्थाले गर्दा गीत/संगीत क्षेत्रमा पनि प्रभाव परेको, यसबाट जीवनस्तर माथि उठाउन गाह्रो हुने उनको भनाइ छ ।
ठकुरीले आदर्श डिटिजल प्रालि नामक म्युजिक कम्पनीसमेत चलाएका छन् । पुतलीसडकमा कालिका रोधी घर तथा बुद्धनगरमा मुनलाइट ब्वायज होस्टल उनैले सञ्चालन गरेका हुन् ।
गीत/संगीत क्षेत्रबाट पछिल्लो समय राम्रो आम्दानी हुन नसकेपछि वैकल्पिक व्यवसायका लागि अन्य व्यवसायमा संलग्न रहेको गायक ठकुरीको भनाइ छ । (सौस)

प्रतिक्रिया