गोर्खाज डटर्स इन इजरायल छायांकन इजरायलमै

काठमाडौं : रोजगारीका लागि बिदेसिएका नेपाली महिलाका विषयलाई समेटेर चलचित्र ‘गोर्खाज डटर्स इन इजरायल’ निर्माण हुने भएको छ । राजु भण्डारीको निर्देशनमा निर्माण हुने चलचित्रको आधा काम अर्थात् ५० प्रतिशत छायांकन इजरायलमा र बाँकी नेपालमै गरिने भएको छ । इजरायल छायांकनका लागि चलचित्र युनिटको पाँच जनाको टोली आइतबार इजरायल प्रस्थान गरेको छ ।
इजरायलका तेलअबिब, जेरुसेलम, डेड सीलगायत स्थानमा छायांकन गरिने चलचित्र नेचुरल मुभी मेकर्सको ब्यानरमा निर्माण हुन लागेको हो । ‘इजरायलमा काम गर्न गएका नेपाली महिलाको वास्तविक अवस्थालाई यथार्थ रूपमा चलचित्रमा प्रस्तुत गर्ने कोसिस गर्नेछु,’ निर्देशक भण्डारीले भने, ‘नेपाली पुरुषहरू विदेशमा गोर्खालीका रूपमा परिचित छन् तर विदेशमा काम गरिरहेका नेपाली चेलीलाई सम्मान गरिएको छैन । उनीहरूको सम्मानका लागि चलचित्र निर्माण गर्न लागिएको उनले खुलाए ।
नेपाली महिलाहरूको कार्यक्षेत्रमै पुगेर खिचिने बताइएको यस चलचित्र ‘गोर्खाज डटर्स इन इजरायल’ को प्रस्तुतकर्ता प्रकाश थापा, निर्माता सूर्य सिंखडा र नेहा गुरुङ हुन् । रत्न कार्कीको छायांकन रहने चलचित्रमा विष्णुबहादुर थापा, मनोज मानन्धर, नेहा गुरुङ, शर्मिला उप्रेतीलगायत इजरायलमा कार्यरत नेपालीका अभिनय रहनेछ ।
‘वल्र्डकप इन नेपाल’ नामक चलचित्र बनाएकै ब्यानरले निर्माण गर्न लागेको यस चलचित्रको इजरायलमा दुई साता सुटिङ हुनेछ । चलचित्रमा जुगल डंगोलको संगीत रहनेछ । (सौस)

प्रतिक्रिया