न्यायाधीशलाई बोलाएको छैन

काठमाडौं, ६ असार । एमालेले ७–९ असारका लागि आयोजित केन्द्रीय कमिटीको बैठक साउन ४ देखि ६ गतेसम्मका लागि स्थगित गरेको छ । बुधबार पार्टी मुख्यालयमा बसेको स्थायी समितिको बैठकले निर्वाचन परिचालन अभियानबाट प्राप्त रिपोर्टका आधारमा चुनाव परिचालनको नयाँ योजना तय गर्ने भन्दै केन्द्रीय कमिटीको बैठक एक महिना पर सारेको हो ।

यसअघि एमालेले ७ असारसम्म देशभरका २ सय ४० निर्वाचन क्षेत्र केन्द्रित निर्वाचन अभियान चलाएको थियो । अभियानबाट प्राप्त सुझावका आधारमा चुनावी रणनीति तय गर्ने उद्देश्यले एमालेले केन्द्रीय कमिटीको बैठक एक महिना पर सारेको हो । एमालेले यसअघि पार्टी केन्द्रीय कमिटी सदस्यहरूको नेतृत्वमा मुलुकका सबै निर्वाचन क्षेत्रमा टोली खटाइ पार्टीको अवस्था आकालन गर्ने र चुनावमा पार्टी परिचालन गर्नै योजना मुताविक अभियान चलाएको थियो । एमालेको एकमहिने चुनावी अभियान ७ असारमा समापन हुँदै छ ।
यस्तै, एमालेले अविरल वर्षाले प्रभावित दार्चुला, कैलाली, कञ्चनपुर, बैतडीलगायत मुलुकका विभिन्न ठाउँमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । पीडितहरूलाई राहत र उद्धारका लागि क्रियाशील हुन पार्टी पंक्तिलाई पनि आह्वान गरेको छ ।
यसैबीच, एमाले केन्द्रीय कार्यालयका तर्फबाट सचिव पृथ्वी सुब्बा गुरुङले विज्ञप्ति प्रकाशित गरी पुनरावेदन अदालतका नवनियुक्त न्यायाधीशहरूलाई बोलाएर कुनै निर्देशन नदिएको स्पष्टीकरण दिएको छ । पुनारावेदन अदालतका नवनियुक्त न्यायाधीशहरूलाई पार्टी कार्यालयमा बोलाई पार्टी हितअनुरूप चल्न एमालेले निर्देशन दिएको भन्ने समाचारको खण्डन गर्दै एमालेले एमाले स्वतन्त्र न्यायालयको मान्यताप्रति प्रतिबद्ध रहेको जनाएको छ । ‘नेकपा (एमाले) ले ‘पुनरावेदन अदालतका नवनियुक्त न्यायाधीशहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर पार्टी हितविपरीत नजान निर्देशन दियो’ भन्ने जस्ता समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेकपा (एमाले) ले यस्तो कार्यक्रम आयोजना नगरेको स्पष्ट गर्दछौँ,’ गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘न्यायालयको स्वतन्त्रता, गरिमा र मर्यादा संरक्षणका लागि हाम्रो पार्टी क्रियाशील रहँदै आएको छ । विगतमा न्यायपालिकाप्रति उच्च सम्मान गर्दै र न्यायालयका निर्णयहरू शिरोपर गर्दै आएको हाम्रो पार्टी आगामी दिनमा पनि स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर प्रतिबद्ध रहनेछ ।’

प्रतिक्रिया