यादव समुदायको सक्रियतामा खुला दिसामुक्त अभियान

देउखुरी, ६ असार । गढवामा स्थगित भएको खुला दिसामुक्त अभियानलाई सक्रिय बनाइएको छ । यादव समुदायका सक्रिय युवाले अभियानलाई सहयोग गर्न लागि परेका छन् । आगामी १३ कात्तिकभित्र गाविसलाई खुला दिसामुक्त बनाउने घोषणा गरिएको छ ।

गाविस सचिव हर्षमान श्रेष्ठले अभियान प्रभावकाारी भएको बताए । गढवा गाविसको आयोजना, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको पहलमा बुधबार गढवामा सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रम पनि आयोजना गरियो । कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका पदाधिकारी सबैले अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए । जिल्लाले अनुमोदन गरेको १२ बुँदे घोषणापत्र कार्यान्वायन गर्ने र आगामी १३ असारमा स्थानीय संघसंस्था, विद्यालय, सामुदायिक वन र नौवटै वडाका संयोजकका बीचमा दबाबमूलक कार्यक्रम गर्ने निर्णय भएको सचिव हर्षमान श्रेष्ठले जानकारी दिए । भेलाले नौवटै वडामा अभियान सञ्चालन गर्न संयोजक तोकेको छ । वडा संयोजकमा शंकर पाण्डे, विष्णु कुमाल, जयराम यादव, पटवारी यादव, जितलाल सुनार, यज्ञबहादुर चौधरी, सञ्जु चौधरी, गणेशराम चौधरी र चमेली चौधरी रहेकाछन् । वडा स्तरीय संयोजकहरूको समूहलाई कमान्डो मूल समिति नाम दिइएको छ ।
कमान्डो टोलीले अभियान सञ्चालन गर्न नयाँ रणनीति तयार गर्ने, हरेक १५/१५ दिनमा समीक्षा बैठक बोलाउने भएको छ । अभियानलाई सफल पार्न गढवा गाविस कार्यालय, राजनीतिक दल, महिला स्वास्थ्य स्वयम् सेविका, विद्यालय, सामुदायिक वन र संघसंस्था पूर्णरूपमा लाग्ने भएका छन् । सचिव श्रेष्ठको अध्यक्षता, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर तिलक न्यौपानेको प्रमुख आतिथ्य र जिल्ला जनस्वास्थ्यका केशवराज पण्डितको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण जिल्ला खानेपानीका तिलबहादुर केसी र गढवा गाविसका रामनरेश यादवले गरेका थिए ।

प्रतिक्रिया