निराशाजनक एसएलसीमा सुधारको खाँचो

एसएलसी परीक्षामा २ लाख ७१ हजार १ सय १ जना विद्यार्थी फेल हुनु असामान्य मात्र नभएर लज्जाजनक कुरा हो । यस्तो किन भएरहेको छ ? विद्यार्थीले नपढेर वा शिक्षकले नपढाएर वा अभिभावकले चासो नदिएर ? दोष कुनै एक पक्षको मात्र होइन । यो कमजोरीको भागिदार सरोकारवाला सबैले बन्नैपर्छ । केही शिक्षाविद् शिक्षकलाई मात्र एकलौटी दोष थोपरिरहेका छन् । शिक्षकलाई मात्र एकलौटी दोष थोपर्न मिल्दैन । शिक्षकका कारणले मात्र नतिजा यति तल झरेको होइन । तर, आफ्नो कमजोरी भने शिक्षकले स्विकार्नै पर्छ ।
हुनेखानेका बालबालिका निजीतिर पढ्छन् । गरिब अभिभावकका छोराछोरीले सामुदायिक विद्यालयमा पढिरहेको देखिन्छ । कर्मचारी, शिक्षक, प्रहरी, सेना र नेताका छोराछोरी कमै मात्रले सामुदायिक विद्यालयमा पढ्छन् । तलब सरकारको खाने, बालबच्चाचाहिँ निजीतिर पढाउने, नैतिकताले नदिने कुरा हो । उच्चपदस्थ कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा आएभने सामुदायिक विद्यालयप्रति स्वत: उनीहरूको चासो बढ्छ । शिक्षकले काम चोर्नै पाउँदैनन् । सामुदायिक विद्यालयसम्बन्धी नीति निर्माण गर्ने जिम्मेवार कर्मचारीका बालबालिका नै त्यहाँ पढ्दैनन् भने नीति बनाउनेले गरेको चिन्ताको कुनै अर्थ रहँदैन । साँच्चै उनीहरूले सरकारी विद्यालयको अवस्था बिग्रियो भनेर आत्मैदेखि चिन्ता गरेका हुन् त ? सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बन्नका लागि सम्बन्धित विद्यालयको अभिभावक हुनैपर्ने कानुनी व्यवस्था शिक्षा नियमावलीमा गरिएको छ भने राज्यकोषबाट तलबभत्ता खाने कर्मचारी, मन्त्रीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनै पर्ने कानुनी व्यवस्था पनि गर्न सकिन्छ । मात्र यति गर्न सकियो भने नेपालको सामुदायिक शिक्षामा ५० प्रतिशत सुधार भएर जान्छ ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कँदै गएको यथार्थ केही वर्षयताको एसएलसी नतिजाले पुष्टि गर्छ । तर, बीचमा किन बढ्यो र २०६५ सालयता किन घट्यो, त्यसका कारण स्पष्टै छन् । २०६३ देखि २०६५ सम्म एसएलसी परीक्षा यति फितलो थियो, परीक्षामा जसले लेखिदिए पनि हुने । दुईचार वर्षको परीक्षा मनपरी तरिकाले चल्न थालेपछि विद्यार्थीमा नपढे पनि पास भइन्छ भन्ने मान्यताको विकास भयो । त्यही मान्यता अहिलेसम्म विद्यार्थीमा रहँदै आएको छ । राज्यकै कमजारीले यस्तो भएको हो । परीक्षामा केही कडाइ गर्न थालेपछि परीक्षाफल तल झर्न थालेको हो ।
विद्यालयको रिजल्ट बिग्रियो भनेर शिक्षकलाई गाली गर्ने, हातपात गर्नेभन्दा पनि यसको कारण पहिल्याउनु जरुरी छ । अधिकांश सामुदायिक विद्यालयमा आवश्यक शिक्षक दरबन्दी छैनन् । ४० हजार राहत शिक्षकलाई विदेशी अनुदान दिएअनुसार किस्ताकिस्तमा म्याद थप्दै झुलाएर राखिएको छ । माध्यमिक विद्यालयमा कम्तीमा विषयगत ५ वटा मावि दरबन्दी हुनुपर्नेमा पछि खुलेका वा कक्षोन्नति भएका अधिकांश माध्यमिक विद्यालयमा मावि शिक्षक दरबन्दी छैनन् । प्रावि शिक्षकसमेत कक्षा १० मा पढाइरहेका छन् । निमावि राहत शिक्षकले विषय नमिले पनि माथिल्लो कक्षा धानिरहेका छन् । अल्पज्ञान खतरनाक हुन्छ भनेभैँm प्रावि तथा निमावि तहका शिक्षकले माथिल्लो तहमा अध्यापन गराइहेका हुनाले पनि एसएलसीको नतिजा खस्कँदै गएको हो । ग्रामीणभेगका धेरै विद्यालयमा विज्ञान विषय शिक्षणको लागि सामान्य ल्याब पनि छैन । बढी परीक्षार्थीहरू विज्ञान विषयमा फेल हुनु यो प्रमुख कारण हो । साथै शिक्षकहरू राजनीतिक दलको कार्यक्रममा सक्रिय हुनुपर्ने एउटा कारण हो । यही कारणले गर्दा सरकारी विद्यालयमा पठनपाठनभन्दा राजनीति बढी हुने गरेको स्विकार्नै पर्छ । आफ्ना छोराछोरी विद्यालय पठाउने अभिभावकहरूले शिक्षकहरूलाई राजनीतिभन्दा पठनपाठनमा बढी ध्यान दिन दबाब दिन सक्छन् । तर, अहिले त्यो भइरहेको देखिँदैन । यी सबै पक्षलाई समेटेर अगाडि नबढ्ने हो भने एसएलसी नतिजा अरू निराशाजनक बन्न सक्नेछ ।

प्रतिक्रिया