विद्यार्थीलाई पुस्तक र कपडा वितरण

जाजरकोट, ५ असार । शिक्षा नेपाल काठमाडौंले मंगलबार जाजरकोट सदरमुकाम खलंगामा रहेको हनुमान प्राथमिक विद्यालयका विद्यार्थीलाई पुस्तक तथा कपडा वितरण गरेको छ । शिक्षा नेपालको ‘एक व्यक्ति एक पुुस्तक’ अभियान स्वरूप जाजरकोटमा पहिलो चरणमा पुस्तक तथा कपडा वितरण गरेको हो ।

जाजरकोटपछि डोल्पा र रूकुम जिल्लामा पनि उक्त सामग्री वितरण गरिने शिक्षा नेपालका संस्थापक प्रेमबहादुर बोहराले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति, नेपाल पत्रकार महासंघ, जिल्ला शिक्षा कार्यालय, शिक्षा नेपाल र हिमालयन क्लाइमेन्ट इनिसिएटिभ कार्यक्रमका प्रतिनिधिको उपस्थितिमा पुस्तक तथा कपडा वितरण गरिएको हो । मंगलबार पहिलो दिन हनुमान प्राथमिक विद्यालय र बुधबार नरज्योति प्राथमिक विद्यालय कल्यानपुर, भेरी प्रावि र रावतगाउँ स्कुलमा समेत उक्त सामग्री वितरण संस्थापक बोहराले बताए । मंगलबार भएको पुस्तक वितरण कार्यक्रमा मिस युके नेपाल गौमायाँ गुरुङ, हिमालयन क्लाइमेन्ट इनिसिएटिभ कार्यक्रम अधिकृत आनन्द मिश्र, शिक्षा नेपालका संस्थापक प्रेमबहादुर बोहरा, शिक्षा नेपालकी सविना श्रेष्ठ, र स्थानीय अविभावकको सहभागिता रहेको थियो । उक्त अवसरमा शिक्षा नेपालका संस्थापक प्रेमबहादुर बोहराले सन् २०१५ सम्ममा एक लाख विद्यार्थीलाई एक लाख पुस्तक वितरण गरिने लक्ष्य राखेको जानकारी दिए ।

प्रतिक्रिया