एक हजार घरेलु उद्योग सञ्चालनमा

गोरखा, ३ साउन । जिल्लामा एक हजार घरेलु उद्योग दर्ता भएर सञ्चालनमा आएको घरेलु तथा साना उद्योग विकास समिति गोरखाले जानकारी दिएको छ ।

सरकारको नियमानुसार जिल्लामा एक करोड ५० लाख रुपियाँसम्मको उद्योग कलकारखाना दर्ता गर्न सकिने व्यवस्था रहेको छ । जिल्लामा २०४० सालदेखि दर्ता भएका उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भई सञ्चालन हुँदै आएका छन् । लगानी पुँजीअनुसार नीतिले तोकेको राजस्व लिएर उद्योग दर्ताको प्रमाणपत्र प्रदान गर्ने गरिन्छ ।
यहाँको समितिले एक लाख रुपियाँसम्म पुँजीको उद्योग दर्तामा ३ सय, तीन लाखमा ५ सय , पाँच लाखमा ८ सय, १० लाखमा एक हजार, २ सय ५० लाखसम्म १ हजार ७ सय र त्यसभन्दा माथि १५ हजार नवीकरण शुल्क लिँदै आएको छ ।
नवीकरणबाट प्राप्त सबै शुल्कहरू राजस्व खातामा जम्मा गर्ने गरेको समितिका वाणिज्य फाँट प्रमुख राजकुमार पोखरेलले बताए । स्थानीय तहमा रहेका स–साना घरेलु उद्योगलाई दर्ता प्रक्रियामा ल्याउन पहल भइरहेको कार्यालय स्रोतले जानकारी दिएको छ । जिल्लाभित्र रहेको स्थानीय इँटा उद्योगहरू दर्ता प्रक्रियामा आउन थालेका छन् ।
घरबुना, तान र अन्य साना उद्योगलाई पनि दर्ता प्रक्रियामा राख्ने कार्यालयको योजना रहेको छ । जिल्लामा झन्डै दुई हजार उद्योग सञ्चालनमा रहेको अनुमान गरिएको छ । तर, पनि सम्बन्धित निकायले उद्योगको संख्या कति रहेको भनेर अझसम्म पनि यकिन राखेको छैन ।

प्रतिक्रिया