कम्युनिस्ट आन्दोलन र निर्वाचन

वर्तमान राजनीतिमा नेपाली कम्युनिस्ट दलहरू निर्णायक शक्तिका रूपमा छन् । वैचारिक धारमा विभाजित अलग–अलग दर्जनौँ कम्युनिस्ट पार्टी भए पनि सबै कम्युनिस्ट पार्टीको शक्ति र प्रभावलाई जोड्दा मुलुकको सबभन्दा ठूलो शक्ति यही नै देखिन्छ । मुलुकको वर्तमान संक्रमणकालीन स्थितिमा नेपालमा कम्युनिस्ट दलले नेतृत्व लिई निर्णायक भूमिका निभाउनुपर्ने परिस्थितिको माग छ । यस्तो महत्त्वपूर्ण घडीमा नेपाली कम्युनिस्ट आन्दोलन पुन: दिशाविहीन मात्र होइन, संकटग्रस्त पनि हुन थालेको छ । कम्युनिस्ट पार्टीले एकपछि अर्को गम्भीर गल्ती गर्न थालेबाट नेपाली आन्दोलनले गम्भीर धक्का खाने त होइन भन्ने आशंका उत्पन्न भएको छ ।
आन्दोलनले वर्गीय संघर्षलाई दिशा र गति दिन नसक्दा क्षेत्रीयतावादी र जातिवादी शक्तिको चलखेल मुलुकको राजनीतिमा अस्वाभाविक रूपमा बढेको छ । नेपाली आन्दोलन आमूल परिवर्तनको आन्दोलन मात्र होइन, यो देशभक्तिपूर्ण आन्दोलन पनि हो । जातिवादी, क्षेत्रीयतावादी शक्तिले मुलुकको राष्ट्रिय अखण्डता, एकतामा घातक प्रहार गरिरहेको स्थितिमा पनि कम्युनिस्ट पार्टीहरूले प्रतिरोध गर्न नसक्नु मात्र होइन, उनीहरूबाट निर्देशित हुनु कम विडम्बनापूर्ण होइन । अझ नेपाली कम्युनिस्ट आन्दोलनमा जातिवादी, क्षेत्रीयतावदीको प्रभाव अस्वाभाविक रूपमा बढेर वर्गीय संघर्ष ओझेलमा पार्दै गएबाट यो आन्दोलन विघटनको सिकार हुँदै गएको प्रतीत हुन्छ । कम्युनिस्ट आन्दोलनको मुख्य आधार वर्गीय संघर्ष हो । यो वर्गीय संघर्षलाई अन्तरध्वंस गर्नका लागि साम्राज्यवादीले प्रयोग गर्दै आएको खतरनाक हतियार जातीय, क्षेत्रीय र धार्मिक हुन् । यो हतियारको प्रहार नेपाली कम्युनिस्ट आन्दोलनमा भइरहेको सतहमा देखिन थालेको छ ।
मुलुकको राजनीति आमूल परिवर्तनको संघारमा छ । राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भएको छ । गणतन्त्र नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालको प्रमुख एजेन्डा हो । सामन्तवाद कम्युनिस्ट आन्दोलनको प्रमुख अवरोध हो । सामन्तवाद समाप्त नगरी जनवादी व्यवस्था स्थापना गर्न नसकिने सैद्धान्तिक, वैचारिक मान्यताका आधारमा स्थापनाकालमै नेपाल कम्युनिस्ट पार्टीले गणतन्त्रलाई प्रमुख एजेन्डा बनाएको हो । यसैले गणतन्त्रलाई नयाँ संविधानमा संस्थागत गर्नु कम्युनिस्ट आन्दोलनका लागि कम ठूलो उपलब्धि हुँदैन । कम्युनिस्ट पार्टीले नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निभाउनुको सट्टा अवरोध खडा गर्नु आफ्नो खुट्टामा आफैँले बन्चरो हान्नुसरह हो ।
मुलुकको वर्तमान राजनीतिक शक्ति सन्तुलनमा तत्काल जनवादी व्यवस्था स्थापना हुने सम्भावना छैन । तत्काल जनवादी व्यवस्थाको स्थापना गर्न खोज्नु दुस्साहस मात्र हुन्छ । यस्तो दुस्साहसले गणतन्त्र संस्थागत नहुने मात्र होइन, राजतन्त्र वा सैनिक सत्ता स्थापना हुने खतरा हुन्छ । गणतन्त्रलाई संस्थागत नगरी नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सम्भव छैन । परिस्थितिको प्रतिकूल दुस्साहसमा छलाङ मार्न खोज्नु नेपाली कम्युनिस्ट आन्दोलनलाई दुर्घटना गराउनु मात्र हुनेछ । अहिले निर्वाचनको मिति घोषणा भइसकेको अवस्था छ, यो अवस्थामा सबैले चुनावमा भाग लिनुपर्छ ।
सुधारवादी राजनीतिक शक्ति नेपाली कांग्रेसको राजनीतिक एजेन्डा गणतन्त्र होइन, संवैधानिक राजतन्त्र हो । परिस्थितिको दबाबमा मात्र गणतन्त्रलाई यो पार्टीले स्वीकार गरेको हो । अझै यो पार्टीमा संवैधानिक राजतन्त्रवादीको प्रभाव कम छैन । नयाँ संविधान नबन्दा कम्युनिस्ट पार्टीलाई जति क्षति हुन्छ त्यति नेपाली कांग्रेसलाई हुँदैन । त्यस्तै, ठूलो क्षति जातिवादी र क्षेत्रीयतावादी पार्टीलाई पनि हुँदैन । उनीहरूको सम्बन्ध अझै पनि सामन्तवादी शक्तिसँग टुटेको छैन । नयाँ संविधान बनाउन कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक हो भने उनीहरूबीचको मतभिन्नता गौण कुरा हो । नयाँ संविधान बन्न नदिन विभिन्न आवरणमा गणतन्त्रविरोधी शक्ति आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । उनीहरूलाई कम्युनिस्टविरोधी बाह्य शक्तिले सहयोग गरिरहेको सतहमा देखिँदै गएको छ । यी गणतन्त्रविरोधी शक्तिसँग सामना गर्दै नयाँ संविधान निर्माण गर्ने ऐतिहासिक दायित्व कम्युनिस्ट पार्टीले पूरा गर्नुपर्नेमा उनीहरूकै खेलौना बन्नुबाट नेपाली कम्युनिस्ट आन्दोलन दिशाहीन र संकटग्रस्त हुँदै गएको छ भने निर्वाचन नै नहुने हो कि भन्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया