त्रिशूली–३ ए समयमै बनाउन संयन्त्र

Trishuli-3-A-souryadailyकाठमाडौं, ४ असार । सरकारले निर्माणाधीन त्रिशूली–३ ए जलविद्युत् आयोजना समयमै निर्माण गर्नका लागि अनुगमन गर्ने गरी संयन्त्र निर्माण गरेको छ । क्षमता अभिवृद्धिको विषयमा विवाद भएपछि सरकारले आयोजना समयमै पूरा गर्नका लागि संयन्त्र निर्माण गरेको हो ।

ऊर्जामन्त्री उमाकान्त झाको अध्यक्षतामा बसेको बैठकले ५ सदस्यीय संयन्त्र निर्माण गरेको हो । मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख श्रीरञ्जन लाकौलको अध्यक्षतामा गठित अनुगमन तथा मूल्यांकन समितिको सदस्य–सचिवमा आयोजना प्रमुख गोपालबाबु भट्टराई छन् । त्यसैगरी, आयोजना निर्माणको सिलसिलामा आउने समस्याहरूको निकास दिन नुवाकोटका सिडिओको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । आयोजनामा आवश्यक सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गर्न सरकारलाई अनुरोध गर्ने, प्रसारण लाइन निर्माणका साथै अन्य प्रशासनिक कार्यको समन्वयका लागि ऊर्जासचिवको संयोजकत्वमा गठित अन्तरमन्त्रालय समन्वय इकाईलाई सक्रिय गराउने निर्णय पनि बैठकले गरेको छ ।
१ जुन २०११ मा निर्माण थालेर ३१ मे २०१४ भित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य भए पनि हालसम्म करिब ३० प्रतिशत काम मात्र पूरा भएको छ । बाँकी करिब ११ महिनाभित्र आयोजनाको निर्माण कार्य पूरा गर्नुपर्ने लक्ष्य रहे पनि त्यो असम्भव छ तर मन्त्रालयले समयमै पूरा गर्नका लागि सहजीकरण समिति गठन गरिएको जनाएको छ ।

प्रतिक्रिया