सरकारी बेवास्ताले विकासमा ढिलाइ

उदयपुर, ४ असार । जिल्लाको उत्तरी क्षेत्र जोड्ने पुवाँरे भन्ज्याङ–पाँबु–भुट्टार सडकको निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन स्थानीयले माग गरेका छन् ।

सडक समयमा नै निर्माण हुन नसक्दा आफूहरू मर्कामा परेको भन्दै उनीहरूले अन्य कुरामा ध्यान नदिई विकास निर्माणको कामलाई अगाडि बढाउन माग गरेका छन् । स्थानीय प्रशासन तथा उत्तरदायी सम्यन्त्र (एलजिएफ)को सहयोगमा सामुदायिक विकास तथा परिवर्तन केन्द्र (एसडिसी) नेपाल उदयपुरले पुवाँरे भन्ज्याङ–पाँबु सडकलाई लक्षित गरी रौता–१ पाँबुमा आयोजना गरेको स्थानीय विकास निर्माण तथा सेवाको समुदायमा आधारित अनुगमन तथा सार्वजानिक बहस कार्यक्रममा स्थानीयले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा स्थानीयले वर्षा लागेपछि कामको थालनी गर्ने परम्पराको अन्त्य हुनु पर्ने, कामदारको ज्याला निकै कम भएकाले वृद्धी गरिनु पर्ने र आयव्यय सार्वजानिक गरिनु पर्नेलगायतका सुझाव दिएका छन् । उपभोक्ता लालबहादुर मगरले सडक निर्माणले गाउँमा आर्थिक परिवर्तन भएको बताए । सडक निर्माण उपभोक्ताकै प्रत्यक्ष सहभागितामा भएकाले निर्माण अवधिमा स्थानीयलाई दुई छाक टार्न कुनै समस्या नपरेको स्पष्ट पारे । त्यस्तै उपभोक्ता पुर्णमाया लायो मगरले मोटरबाटो पुगेपछि स्थानीय उत्पादित वस्तु नासपाती, कागती, करेला, निगुरो, तेजपात, सुन्तला जस्ता उत्पादन बिक्री गर्न कठिनाइ नआउने बताइन् । पूर्णमायाले पुवाँरे भन्ज्याङदेखि भुट्टार जोडन सके आफ्नो गाउँको विकासले गति लिने बताइन् । कार्यक्रममा उपभोक्ताले उठाएका सवाललाई ग्रामीण सामुदायिक पूर्वाधार विकास केन्द्र (आरसिआइडब्लु)का सवइन्जिनियर तथा साइड इन्चाज दीपेन्द्र श्रीवास्तव र सडक निर्माण समितिका अध्यक्ष मीनबहादुर मगरले प्रष्ट्याएका थिए ।
उक्त सडक आरसिआइडब्लुको १५ लाख २१ हजार ६ सय ६ रुपियाँ र जिल्ला विकास समितिको चार लाख ८० हजार गरी कुल २० लाख एक हजार ६ सय ६ रुपियाँ लागतमा निर्माण गरिएको हो । आव ०६८/६९ मा बजेट विनियोजन गरी निर्माण कार्य सुरु गरिएको उक्त सडकको लम्बाइ एक हजार एक सय २३ मिटर र पाँच मिटर चौडाइ रहेको छ । सडक बलियो बनाउन विभिन्न ठाउँमा गरी चार सय ११ मिटर पर्खाल लगाइएको साइड इन्चाज श्रीवास्तवले जानकारी दिए । उनका अनुसार सडकको लक्ष्य साँढे आठ किलो मिटर रहेको छ ।
आरसिआइडब्लुले हरित सडक अवधारणाअन्र्तगत मसिनरी तथा विष्फोटक पदार्थको मद्दत नलिई पूर्णरूपमा स्थानीय उपभोक्ता परिचालन गरी निर्माण गरेको हो । जसबाट स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ । स्थानीयको रोजगारी र सडकको दिगोपनका लागि आरसिआइडब्लुले यो अवधारणाअघि सारेका हो । जुन गाउँमा विकास पुग्छ त्यसको रोजगारको पहिलो श्रेय स्थानीयलाई नै दिनु पर्ने मान्यताले यो अवधारणाअघि सारिएको साइड इन्चाज श्रीवास्तवले बताए । मेसिनको प्रयोग गर्दा जमिन थर्किएर जताततै पहिरो जाने खतरा हुने भएकाले यसबाट जोगिन र स्थानीयलाई रोजगार दिन हरित सडकको नामाकरण गरिएको हो ।

प्रतिक्रिया