कृत्रिम हात वितरण

धरान, ३ असार । नेवार एकता समाज धरान–७ कमिटीले शनिबार कृत्रिम हात नि:शुल्क वितरण गरेको छ ।

Kritim-hatसमाजको सामाजिक सेवा कार्यक्रमअन्तर्गत विभिन्न कारणबाट हात गुमाएका ३० जनालाई कृत्रिम हात वितरण गरिएको हो । अलोहा मेडिकल मिसन हवाई युएसएको संयोजनमा कृत्रिम हात वितरण गरिएको हो । सेवा लिनका लागि ६८ जनाले नाम दर्ता गराएको भए पनि आकार नमिलेका कारण ३० जनालाई मात्र वितरण गरिएको समाजका अध्यक्ष सूवर्ण पालिखेले जानकारी दिए । कृत्रिम हातको बनोटअनुसार कुहिनासहितको हातलाई मात्र उपयुक्त हुने भएकाले कतिपयलाई सेवा दिन नसकिएको आयोजकले जनाएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष डा. विक्रम श्रेष्ठ र एसओएस बालग्राम इटहरीका निर्देशक रमेश ताम्राकारको उपस्थितिमा हात वितरण गरिएको हो ।
कृत्रिम हातबाट १० केजीसम्मको भार उठाउन सकिने र मोटरसाइकल चलाउन सकिने आयोजकले दाबी गरेको छ । बाँकी हात सम्पर्कमा आउनेलाई वितरण गरिने समाजले जनाएको छ । कृत्रिम हात प्राप्त गर्नुभएकी धरान–३ की विना राईले हर्ष व्यक्त गर्दै आफूले कृत्रिम हात पाएन नवजीवन प्राप्त गरेको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया