यो वर्ष पनि बाढीकै चिन्ता

देउखुरी ३ असार । असारको पहिलो दिन नै मनसुन सुरु भएपछि गत वर्षका बाढी पीडितलाई पोहोरको पीडाले झस्काउन थालेका छन् । आकाशमा बिजुली चम्कने बित्तिकै लालबहादुर चौधरीको मुटुको धड्कन बढ्छ । ‘गतवर्ष बाढीले सबै लग्यो । यस वर्ष पनि लाने हो कि भन्ने चिन्ता छ,’ लालबहादुरले भने, ‘पानी पर्‍यो भने रातभर निदाउँदैनौँ ।’ स्थानीय दोलइ खोलामा गत वर्ष आएको बाढीले लालबहादुरसहित गाउँका अन्य धेरैको घरवास बगाएको थियो । जेनतेन घरवास जोडे पनि यसवर्ष पनि बाढीले लैजान सक्ने भन्दै जहिले पनि पानी पर्दा चौधरी रातभर जाग्रामनै बस्छन् । ‘बस्ने वास त जोडिएको छ । तर, अहिले पनि बगाउँछ कि भन्ने चिन्ता छ,’ उनले भने, ‘रातमा आधा निद सुन्तुपर्छ ।’ गतवर्ष आएको बाढीले Deukhuri-Badiदेउखुरीको सिसहनीया, लालमटीया र सोनपुर गाविसका एक सय ६५ घर बगाएको थियो भने दुई हजार घर प्रभावित भएका थिए । यसवर्ष बाढी नियन्त्रणका लागि केही प्रयास भए पनि गाउँमा बाढी पस्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । यस वर्ष पनि सिसहनीयाको कालापानी, लठ्हवा, सिंगे, सोनपुरको डोढइलगाएत गाउँ उच्च जोखिममा छन् । यी गाउँमा अझै पनि बाढी पस्ने सम्भावना रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटीयाका सभापति गंगाराम भट्टराईले बताए । ‘बाढी नियन्त्रणका क्षेत्रमा केही काम भए पनि यी गाउँ अझै उच्चजोखिमा छन्,’ उनले भने, ‘गाउँमा जुनबेला पनि बाढी पस्न सक्छ ।’

६५ घर जोगिए
गतवर्ष आएको बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको सिसहनिया–६ कोहलुवा गाउँ भने यस वर्षदेखि सुरक्षित भएको छ । कोहलुवा गाउँको ६५ घर यो वर्ष आउने बाढीबाट सुरक्षित भएका हुन् । स्थानीयको पहलमा स्विस दूतावास, सरकार र स्थानीयवासीको जनश्रमदानमा करिब चार सय मिटिर लामो तटबन्ध गरिएपछि गाउँ बाढीबाट सुरक्षित भएको हो । ‘हामीले यसवर्ष एउटा गाउँ सुरक्षित गर्न सक्यौँ,’ सहयोग समितिका संयोजकसमेत रहेका भट्टराईले भने, ‘पूरै क्षेत्रलाई नै बचाउ सरकारलाई कार्यक्रम दबाब दिरहेका छौँ ।’

प्रतिक्रिया