दोषीलाई कारबाही नगरेको भन्दै प्रशासन घेराउ

रौतहट, ३ असार । पिपरीया दोस्तीया गाविस–८ भिमडाबर गाउस्थित दलित बस्तीमा गैरदलित प्रवेश गरी सांघातिक आक्रमण गरेको नौ दिन बितिसक्दा पनि प्रशासनले दोषीमाथि अझै कुनै कारबाही नगरेको भन्दै पीडित आन्दोलित भएका छन् ।

प्रशासनले दोषी पक्राउ गर्न कुनै चासो नदेखाएको दलित समुदायको आरोप रहेको छ । दोषीलाई कारबाहीको माग गर्दै आज उनीहरूले जिल्ला प्रशासन कार्यालयको मूल ढोकामा धर्ना दिएका छन् । पीडकलाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन) ०६८ बोजिम हदैसम्मको कारबाहीको माग गर्दै उनीहरूले शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन माग गरेका छन् ।
घटना पश्चात दलितका विभिन्न संघ सस्था, मानवअधिकार आयोगलगायतले स्थलगत अनुगमन गरेको थियो । अनुगमन पश्चात घटना घटनुमा प्रशासनको कमजोरी रहेको बताइरहेका छन् । गैरदलितले गरेको आक्रमणमा १८ जना घाइते भएका थिए । घटनामा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाहीअगाडि बढाएको छ । विभिन्न चरणमा वार्ता मार्फत दुवै पक्षलाई राखेर सामाजिक सद्भाव कायम हुने वातावरण मिलाउन पहल गरिरहेका संस्था पनि असफल भएर फर्किएपछि प्रशासनका लागि घटना टाउको दु:खाइको विषय बनेको छ ।

प्रतिक्रिया