समितिको जिम्मेवारी अब मधेसी मोर्चालाई

Vijaya gachhedar 3काठमाडौं, १ असार । उच्चस्तरीय राजनीतिक समितिको संयोजकको जिम्मेवारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पाएको छ ।
मधेसी मोर्चाका नेता समेत रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले समितिको जिम्मेवारी सम्हाल्ने एक नेताले जानकारी दिए । समितिको संयोजक पद चक्रीय प्रणाली अनुसार शीर्ष नेतामा सर्दै जान्छ ।
मधेसी मोर्चामा फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल आबद्ध छन् । चार मधेसवादी पार्टीको मधेसी मोर्चाको नेतृत्वमा पनि फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदारले नै गर्दै आएका छन् ।
निर्दलीय सरकार बनाउने क्रममा गठन भएको उच्चस्तरीय समितिको संयोजक प्रत्येक महिना सदस्य रहेका दलका शीर्ष नेताले गर्ने सहमति भएको थियो ।
समितिको संयोजकको जिम्मेवारी सबै भन्दा पहिला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्हालेका थिए । त्यस पछि कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल हुँदै मधेसी मोर्चामा संयोजकको जिम्मेवारी पुगेको हो ।
मधेसी मोर्चाले जिम्मेवारी सम्हाले पछि भोलि आइतबार समितिको बैठक बस्ने छ ।
समितिले निर्वाचन मिति र कानूनहरुमा सहमति जुटाउन नसके पछि त्यसको जिम्मेवारी स्वयं सरकारलाई दिएको थियो । सरकारले नै निर्वाचन मिति र कानूनको टुङ्गो लगाएको थियो ।

प्रतिक्रिया