खलंगामा पानीको हाहाकार

जाजरकोट, १ असार । जाजरकोट सदरमुकाम खलंगामा खानेपानीको अभाव भएको छ । खानेपानीका पाइप अब्यवस्थित हँदा बाटो हिड्ने बटुवालाई पनि आवतजावतमै समस्या पर्न थालेको छ । सरोकारवाला निकायले ध्यान नदिदा समस्या भएको स्थानीयको आरोप छ । सदरमुकाम खलंगामै पानीको अभाव हुँदा कामको सिलसिलामा जाजरकोट पुग्नेलाई नुहाउन तथा कपडा धुनसमेत समस्या हुने गरेको छ ।

‘पानी भर्नलाई घन्टाँै पालो कुर्नु पर्ने, सदरमुकामका सबै बाटो–घाटोमा अव्यवस्थित यत्रतत्र छरिएका खानेपानी पाइपले बाटो हिड्न नसक्ने बाध्यता छ,’ नागरिक समाजका सदस्य गणेश शाहले भने, ‘फुटेको पाइपबाट बगेको पानीले बाटो हिलाम्मे बन्दै गइरहेको छ ।’ उनले बाटोमा मात्र नभएर कतिपय ठाउँमा खानेपानीका पाइप अव्यवस्थित रूपमा रूखमा अड्काएको बताए ।
सरकारको राष्ट्रिय सरसफाइ सप्ताह मनाउने गुरूयोजनाअन्र्तगत जिल्लाले सरसफाइ सप्ताह मनाए पनि लक्ष्यभित्र सबै काम सम्पन्न हुने अवस्था नदेखिएको दिनेश श्रेष्ठले बताए । ‘जिल्लाले सन् २०१३ भित्रै खुला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखे पनि खानेपानीलाई व्यवस्थित नगरी यी सबै लक्ष्यभित्रका योजना सफल हुने अवस्था छैन,’ श्रेष्ठले भने । सदरमुकाम खानेपानीका दृष्टिले अभाव र व्यवस्थित बन्दै गइरहेको अबस्थामा जाजरकोटमा झण्डै २२ वटा सरकारी कार्यालय र २४ वटा गैरसरकारी कार्यालय गरी ४६ वटा विकासे कार्यालयमध्ये खानेपानीका विषयगत कार्यालय ६/७ वटा रहेता पनि सदरमुकामको खानेपानीप्रति कसैको ध्यान जान सकेको छैन ।
खानेपानी मर्मत तथा सुधारका लागि आफ्नो कार्यालयमा कुनै बजेट नआउने साना पाइपका टुक्रा र सकेट मात्र दिन मिल्ने जाजरकोट खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय प्रमुख शिताराम काफ्लेले बताए । तर, कार्यालय प्रमुख काफ्ले जिल्लामा थोरै बस्ने कार्यालय प्रमुखमा गनिन्छन् । यसअघि सिडिओ कार्यालयले गरेको छड्के जाँचका क्रममा उनी धेरै समय कार्यालयमा हाजिर नभएको पाइएको थियो । महिनामा चारपटकसम्म काठमाडांै ओहोर दोहोर गर्ने उनको नियममाथि शंका गर्ने ठाउँ रहेको नाम उल्लेख नगरिदिन आग्रह गर्दै एक कर्मचारीले बताए ।
वर्षातले खानेपानीको समस्या
पश्चिम जाजरकोटको मजकोट गाविस–२, मा रहेको तल्लोलुहा खानेपानी तथा सरसफाइ आयोजना वर्षातका अवरूद्ध भएको छ । मंगलबार राति आएको भारी वर्षातका कारण आयोजनाको दुईवटा ट्यांकी भत्किनुका साथै पाँच सय मिटर पाइप बगाएको स्थानीय तुलबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया