होची छु भाग्यमानी छु

Laxmi-Dhunganaचार फिटभन्दा माथि उचाइ भएको व्यक्तिलाई सामान्य उचाइको भनिन्छ । मेरो उचाइ चार फिटभन्दा एक इन्च कम छ त्यसैले म होचा–पुड्काको सूचीमा परेकी छु । हातखुट्टा छोटा छन्, शरीरको उचाइ कम भएको छ । कुनै रोगव्याधि लागेर मेरो उचाइ कम भएको होइन । जन्मै बुबाको गुण बोकेर आएकी रहिछु । बुबाको क्रोमोजोमले बोकेको गुणका कारण मेरो उचाइ कम भएछ । तर, मैले आफूलाई कहिल्यै कमजोर महसुस गरिन । मान्छे कर्मले मात्रै बलियो बन्न सक्छ । म पनि आफ्नै कर्मले बलियो भएकी छु । होचो भएका कारण नै मैले आफूलाई फरक रूपमा स्थापित गराउन सकेकी छु । यस अर्थमा आफू विश्वका भाग्यमानीको सूचीमा रहेका व्यक्तिमध्ये एक हुँ झैँ लाग्छ ।
होचा व्यक्ति आफूलाई कमजोर ठान्दै घरमै खुम्चिएर बस्ने पनि गरेका छन् । म आफ्नै उदाहरण दिएर उहाँहरूलाई समाजमा छुट्टै पहिचान स्थापित गर्न हौसला थप्न चाहन्छु । दुई वर्षअघि म दुबईको पाँचेतारे होटलमा थिएँ । नेपाली, त्यसमाथि समाजको दृष्टिमा कमजोरझैँ ठानिने होचो व्यक्ति । त्यहाँ बसेर नेपाली पहिचान बाँडिरहेकी थिएँ । पाँचतारे होटलमा नृत्यमार्फत आफ्नो कला प्रस्तुत गरिरहेकी हुन्थेँ । सामान्य उचाइका कैयौँ नेपाली युवा त्यहाँ कठिन शारीरिक परिश्रम गरिरहेका हुन्थे । उनीहरूलाई कम्पनीका मालिकले दुव्र्यवहार गर्ने गरेको मेरै आँखाले देखेकी छ । हातमा सीप नहुँदा चर्को घाममा जोतिन बाध्य थिए नेपाली दाजुभाइ । म भने आफूमा भएको सीपमार्फत सहज रूपमा काम गरिरहेकी थिएँ । बाल्यकालदेखि नै रहेको नृत्यकला दुबईको पाँचतारे होटलमा साढे छ वर्ष देखाएँ मैले । तर, त्यहाँ मेरो नाम अप्पु राखिदिएका थिए । मुस्लिम समुदायका व्यक्तिहरूले नृत्य हेरेर निकै उत्साह दिन्थे । सहकर्मीहरूले गुडियाको उपमा दिन्थे । माया पनि गर्थे । म भने त्यतिबेला विदेशमा पसिना चुहाउँदै कठोर परिश्रम गरिरहेका दाजुभाइलाई सम्झँदै आफूसँग तुलना गर्थें । यदि मसँग सीप नभएको भए म पनि कमजोर ‘पुड्की’ नेपालीबाहेक केही हुन सक्ने थिइनँ ।
नेपालमै सिकेको कलाकारितामार्फत मैले विदेशी भूमिमा पुगेर आफूलाई आर्थिक रूपमा सक्षम बनाउने हैसियत राखेँ । दुई वर्षअगाडि आफूजस्तै शारीरिक रूपमा होचा व्यक्तिहरूलाई समाजको उच्च स्थानमा पुर्‍याउने अभियानमा संलग्न हुने आकांक्षाले नेपाल फर्केकी हुँ ।
०००
म जन्मिएको एक वर्ष नपुग्दै बुबा बित्नुभयो, डेढ वर्षमा आमा । दुई दाजुको हेरचाहमा हुर्किएँ । दाजुहरूले पढ्नका लागि छात्रावासमा राखिदिनुभयो । आमाबुबा सँगै हुनुभएको भए मेरो शारीरिक विकासबारे ख्याल हुन्थ्यो होला । म होची भएकीमा चासो राखेर शारीरिक विकासबारे कसैले कमेन्ट गर्दैनथे । बरु छात्रावासमा सबैभन्दा सानी भएकाले सबैले बहिनी भनेर माया गर्थे । एक हिसाबले आफू ‘फुच्ची’ भएकोमा रमाइलो पनि लाग्थ्यो । बाल्यकालदेखि नै नाच्न पनि जान्ने भएकाले साथीहरूका बीच लोकप्रिय थिएँ । त्यसैले पनि म होची हुँ, सामान्य मान्छेभन्दा फरक प्रकृतिकी छु झैँ महसुस भएन । तर, अरू साथीहरूभन्दा उचाइ कम भएपछि बुबाको गुण ममा आएछ भन्ने थाहा भयो । मेरो बुबा शेरबहादुर ढुंगाना पनि होचो हुनुहुन्थ्यो रे † उहाँलाई ‘टाइगर’ भनेर सबैले सम्बोधन गर्थे रे † जुद्धशमशेरको हजुरिया भएकाले बुबा दरबारमा पनि परिचित हुनुहुन्थ्यो । तर, मलाई आफ्नो बुबाबारे धेरै जानकारी हुन पाएन ।
होचा मान्छे बच्चामा बामे सर्न, हिँड्न ढिला गर्छन् । तर, मचाहिँ बामे सर्न पनि सामान्य उचाइका मान्छेसरह नै थिएँ रे । बढ्ने उमेरमा शारीरिक उचाइ कम हुँदै गएपछि बुबाको होचो गुण ममा सर्‍यो भन्ने चाल पाएँ । स्कुलमा साथीभाइले जिस्क्याउने गरेनन् । बाल्यकालदेखिनै सँगै भएकाले उनीहरूलाई पनि मेरो उचाइ असामान्य लागेन होला । होचा छोरीहरूको विवाह तथा काममा अवसर नहुने धेरै ठाउँमा पाइन्छ । अझै होचा पुरुषहरूलाई पनि काममा विश्वास नगर्ने प्रवृत्ति धेरै छ । हाम्रो पालामा त झनै हुने नै भयो । मेरो मामाले पनि त्यही सोचेर होला, कक्षा नौमा पढ्दै गर्दा कलाकारिताक्षेत्रमा प्रवेश गराइदिनुभयो । कक्षा ९ मा पढ्दा शोभा केसी दिदीसँग परिचय गराइदिएर मलाई नाटक खेल्ने, कालाकारितामा प्रवेश गर्ने बाटो खुलाइदिनुभयो । २०५१ सालदेखि म चलचित्र दुनियाँमा प्रवेश गरेकी हुँ । सुरुआतका दिनमा सडक नाटक, सांस्कृतिक कार्यक्रममा भाग लिने गर्थें । पछि विस्तारै ठूलो पर्दामा खेल्न सुरु गरेँ । सामान्य व्यक्तिको भन्दा कम उचाइ भएकाले सुरुआती दिनमा धेरै जना नौलो तरिकाले हेरिरहन्थे । केही त मलाई देखेर हाँस्ने पनि गर्थे । मेरो पुड्को कद देखेर हाँसेको मलाई चित्त बुझ्दैन । केहीकेहीले त अझै ‘ऊ डल्ली/पुड्की आई’ भनेर हेप्थे । मान्छेको शरीर देखेर हाँस्नेलाई म पनि बाँकी राख्दिनँ । जस्तालाई त्यस्तै त हो नि । म पनि प्याच्चै भनिदिन्छु, ‘तिमीहरू ठूला भएर पो के गरेका छौ र शरीर देखेर हाँस्छौँ ।’ त्यसपछि चुप लाग्छन् ।
होचा–पुड्का व्यक्तिको शारीरिक विकास नभए पनि उनीहरूलाई सामाजिक रूपमा सक्रिय बनाउन लागिपरेकी छु, संगठनमार्फत । २०५१ सालदेखि नै हामीजस्ता असामान्य अर्थात् कम उचाइ भएका व्यक्तिहरूको हकहितका लागि काम गर्न थालेकी हुँ । उचाइ कम भएका व्यक्तिहरू समाजले गर्ने नकारात्मक व्यवहारका कारण अगाडि बढ्न सकेका छैनन् । हाम्रो समाजमा शारीरिक उचाइ हेरेर बौद्धिकताको उचाइलाई पनि कम आँकलन गर्ने प्रवृत्ति पाइन्छ । नेपालमा करिब ७० हजार जनाको हाराहारीमा कम उचाइ भएका व्यक्ति छन् । तर, उचाइ कमजोर भएका व्यक्तिहरूको व्यक्तित्व विकासका लागि सरकारबाट कुनै पहल भएको पाइँदैन ।
०००
‘निर्मोही’मा कमेडी भूमिकामार्फत म चलचित्रको दुनियाँमा प्रवेश गरेकी हुँ । दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छु । अधिकांश चलचित्रमा हँसाउने पात्रको भूमिका पाएकी छु । हुन त नकारात्मक दृष्टिले हेर्नेहरूले हाम्रो शारीरिक बनावटलाई प्रमुखता दिएर हास्यपात्रको रूपमा पनि लिने गर्छन् । चलचित्रमा पनि हाँस्यव्यंग्य पात्रका रूपमा दर्शकलाई हँसाएर सस्तो मनोरञ्जन दिलाउने मात्रै भूमिका दिन खोज्ने निर्देशकहरूपनि थुप्रै छन् । तर, मैले खेलेका चलचित्रमा अधिकांश भूमिका ‘कमेडी’ भए पनि हाँस्यव्यंग्यमार्फत सन्देश दिने पनि गरेकी छु ।
केही चलचित्रमा ‘सिरियस रोल’ पनि खेलेको छु । ठूलो पर्दाको कुरा गर्दा हरिवंश आचार्यको ‘तँ त साह्रै बिग्रिस नि बद्री’ चलचित्रको भूमिका सँधैभरि सम्झिरहन्छु । बद्री पात्रले विवाह गरेका पत्नीमध्ये म कान्छी अर्थात् नवौँ पत्नीको भूमिकामा थिएँ । उक्त चलचित्रले एउटा पुरुष खराब हुँदा कति महिलाको भविष्य बिग्रिन्छ, अनि समाजमा त्यस्तो प्रवृत्तिले दिने नकारात्मक प्रभाव देखाएर एक व्यक्तिले समाज बिगार्न सक्छ भन्ने सन्देश दिन खोजेको छ । हरिवंश दाइसँग चलचित्र खेल्दा उहाँ सधैँ उत्साह दिनुहुन्थ्यो । हुन त अरूले पनि राम्रो व्यवहार नै गर्थे । तर, केहीले भने शारीरिक रूपमा अशक्तझैँ व्यवहार पनि गर्छन् । तर, मलाई कहिल्यै आफू कमजोर छु भन्ने महसुस हुँदैन ।
मान्छे कहिलेकाँही प्रश्न गर्छन्, ‘तिमीलाई सामान्य व्यक्तिको जस्तै उचाइ भइदिए…. भन्ने लाग्दैन ?’ यस्ता प्रश्न आउनेबित्तिकै मनमनै कल्पना गर्छु, म पनि सामान्य व्यक्तिको जस्तै उचाइ भएकी महिला भएकी भए ‘अग्लो ठाउँमा सहजै भेट्थेँ, कुर्सीमा बस्दा लामा खुट्टा हल्लाउन सक्थेँ । भात पकाउने टेबुल भेट्टाउन मुस्किल पर्दैनथ्यो । तर, आजकी ‘लक्ष्मी’ हुने थिएँ त ?’ अनि जवाफ फर्काउँछु– म पनि सामान्य उचाइ भएकी महिला भएको भए होचापुड्काको आन्तरिक क्षमता नबुझेर हाँस्ने एउटा सामान्य गृहिणी महिलाभन्दा बढी हुन सक्ने थिइनँ । सायद यतिबेला छोराछोरी हुर्काएर भातभान्छामा सिमित नेपाली गृहिणीको भूमिकामा हुने थिएँ, न कि नेपाली कलाकार लक्ष्मी ढुंगाना ।

प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया