खोजखबर

सोक्लाका महिला सामूहिक बाख्रापालनमा

सौर्य अनलाइन २०७० जेठ ३० गते २३:४० मा प्रकाशित

दोलखा, ३१ जेठ । केही वर्ष अगाडिसम्म भीमेश्वर नगरपालिकाको सोक्लाका महिलाको अधिकांश समय घरायसी काममा नै बित्ने गथ्र्यो । घरखर्च गर्नका लागि सानो रकमको आवश्यकता पर्दा पनि उनीहरूसँग खर्च गर्ने रकम हुँदैनथ्यो । अहिले उनीहरू झन्डै १२ लाखको लगानीमा सामूहिक बाख्रापालनमा जुटेका छन् । सोक्ला चाक्पा सामूहिक बाख्रापालन समूहका सचिव सोममाया थामीका अनुसार यस सामूहिक बाख्रापालन कार्यक्रममा अधिकांश महिला आबद्ध रहेका छन् । बाख्रापालनका लागि वैशाख महिना सकिँदा नै ११ लाख ७८ हजार रुपियाँ खर्च भइसकेको छ । हाल यो रकमले आधुनिक खोर निर्माणलगायत भौतिक संरचनाका काम गरिएको थामीले बताए ।

यस क्षेत्रमा रहेका खाली पाखामा कबुलियती वन विकास कार्यक्रम लागू भएपछि समूहका सदस्यहरू मिलेर बाख्रापालन सुरु गरेका हुन् । समूहले एक सयवटा भन्दा बढी बाख्रा राख्न मिल्ने आधुनिक खोरसमेत निर्माण गरेको छ । यस क्षेत्रमा भएका ५ ओटा कबुलियती वनसमूहको संयुक्त लगानीमा यो फार्म निर्माण गरिएको हो । फर्म निर्माणका लागि विभिन्न सरकारी कार्यालयले पनि सहयोग गरेका छन् । सोक्ला चाक्पा सामूहिक बाख्रापालन समूहकी अध्यक्ष कान्छी तामाङ भन्छिन्– ‘गाँउ वरपर रहेका डाँडामा कबुलियती वन कार्यक्रम लागू भएपछि बाख्रापालन सुरु गरिएको हो ।’ वनमा भुइँघाँसलगायत बिरुवा रोप्न जिल्लामा रहेका जिल्ला पशुसेवा कार्यालय, जिल्ला वन कार्यालयलगायत संस्थाले सहयोग गरेका हुन् ।
बाख्रापालन कार्यक्रममा अहिलेसम्म सोचेको प्रगति हुन सकेको छैन । समूहका सदस्यले बाख्रापालन कार्यक्रम अगाडि बढाउनका लागि बैंकबाट ऋणसमेत लिएर काम गरिरहेका छन् । समूहकी अध्यक्ष तामाङ भन्छिन्, ‘बाख्रापालन गर्नका लागि नै भनेर सूर्य विकास बैंकबाट ३ लाख रुपियाँ ऋण संस्थाले लिएको छ । अहिले पो सोचेको जस्तो नाफा भएन त सधैँ त यस्तो नहोला नि ।’
समूहकी सदस्य लक्ष्मी तामाङ गाउँमा कबुलियती वन कार्यक्रम सुरु भएपछि महिलाहरूमा परिवर्तन आएको बताउँछिन् । उनले भनिन्, ‘गाँउमा अहिले महिलामा पनि केही गर्न सकिन्छ भन्ने भावनाको विकास भएको छ ।’
जिल्ला वन कार्यालय दोलखाका निमित्त जिल्ला वन अधिकृत रामकुमार भण्डारी समूहले गरिरहेको काम उत्साहजनक भएको बताउँछन् । उनले भने, ‘समूहलाई हामीले सुरुदेखि नै कबुलियती वन विकास कार्यक्रमअन्तर्गत विभिन्न सहयोग गरिरहेका छौँ । समूहका सदस्यहरू नै विभिन्न योजनाहरू लिएर आउनुभाको छ । यस्ता कुराले गर्दा फार्म दीर्घकालीन रूपमा सञ्चालन हुने आशा लिएका छौँ ।’
अहिले नेपालमा एघार अर्बभन्दा धेरै रुपियाँको मासु विदेशबाट आयात हुने गरेको छ । यस्ता कार्यक्रममा सबै पक्षको सहयोग हुने हो भने यो अवस्थामा सुधार गर्न सकिन्छ । यसका लागि सबै पक्षको सामूहिक प्रयास आवश्यक छ ।

प्रतिक्रिया