आइरन गेटको आइरोनी

यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको नतिजा मंगलबार प्रकाशित भएसँगै देशभरि अनेक चर्चा–परिचर्चा सुरु भएका छन् । यो परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो । सबै किसिमका औपचारिक उच्च शिक्षाको ढोका मानिने हुँदा एसएलसी परीक्षालाई आमरूपमा फलामे ढोका अथवा आइरन गेट पनि भन्ने गरिन्छ । सायद यही कारणले एसएलसीलाई बग्रेल्ती नेपालीले एक किसिमले अनौठो हौवा जस्तो पनि मान्दै आएका छन् । यो नै त्यो खास कारण पनि हो जसले गर्दा हरेक वर्ष एसएलसीको परीक्षा निस्किएसँगै भावुक एवं अति संवेदनशील कतिपय विद्यार्थीले असफलताको आवेशमा आफ्नो कलिलो जीवन नै यमराजलाई अकालमा दान गरिदिन्छन् । त्यो आकस्मिक आवेगले घरपरिवार र आफन्त अनि विद्यालयलाई के–कस्तो प्रभाव पार्छ भन्ने सोचले उनीहरूलाई कुनै प्रभाव पार्दैन, प्रभाव पार्छ त केवल उनीहरूका लागि फलामे ढोका नउघ्रिएको सवालले मात्र । यसपटक पनि एसएलसी परिणाम सार्वजनिक भएलगत्तै विभिन्न जिल्लाका चार परीक्षार्थीले असफलताको आवेश थेग्न नसकी आत्महत्या गरेको समाचार लगभग सँगसँगै बाहिर आयो । विद्यालयहरूले आफ्ना विद्यार्थीलाई सफलता र असफलताप्रति राम्ररी उत्प्रेरणा –मोटिभेसन– गर्न नसक्दाका तीता परिणाम नै यी आत्महत्याहरू हुन् भन्नेमा कुनै शंका छैन ।
गत वर्षको दाँजोमा करिब पाँच प्रतिशत कम परीक्षार्थीलाई उत्तीर्ण गर्दै यस वर्षको नतिजा प्रकाशित भएको हो । नियमित र आंशिकतर्फ गरी कुल ५ लाख ४७ हजार १ सय ६५ विद्यार्थीले परीक्षा फारम भरेकोमा २० हजार १ सय ५ जनाको आवदेन प्रक्रिया नपुगेको आधारमा रद्द भएको थियो । निजी कारणले अन्य कतिपयले परीक्षा दिन नसके पनि समग्रमा कुल ५ लाख ११ हजार १ सय ६५ जनाले एसएलसी परीक्षा दिएका थिए, जसमा जम्मा १ लाख ७६ हजार २ सय ५३ परीक्षार्थी उत्तीर्ण भए । यसको अनुपात परीक्षामा सामेल कुल संख्याको ४१.५७ प्रतिशत हुन आउँछ । जब कि गत वर्ष यही उत्तीर्ण अनुपात ४६.१६ प्रतिशत थियो । यस वर्ष उत्तीर्ण हुनलाई पाँच अंक नपुगेका परीक्षार्थीलाई ग्रेसमार्क दिएर उत्तीर्ण गराइएको छ । यसरी उत्तीर्ण हुनेको संख्या १४ हजारभन्दा बढी छ ।
यो सबै त संख्या र अनुपातको कुरा भयो । अझ चिन्ताको मूल कुरा त के हो भने यो नतिजा–प्रतिशत पछिल्ला वर्षहरूको दाँजोमा निकै खस्केको छ । वास्तवमा यो खस्कने क्रम त विगत आठ वर्षदेखि नै निरन्तर रहँदै आएको छ । तथ्यांक नै हेर्ने हो भने पछिल्लोपटक २०६२ सालमा यो सफलता प्रतिशत ३८.७२ थियो । सर्वाधिक सफलताको प्रतिशत ०६६ सालमा देखिन्छ जुन ६८.४७ प्रतिशत थियो । यो बीचमा राज्यले शिक्षामा लगानी दोब्बरभन्दा पनि बढाएको छ र शिक्षकलाई सुविधा पनि निकै थप गरेको छ । सबैतिर उदारता र खुलापन हावी छ तैपनि सफलताको परिणाममा यो निरन्तर ह्रास किन ? अगिल्लो वर्ष एसएलसी परिणाममा सनसनीखेज न्यूनता देखिएपछि राज्यले ०६३ सालमा शिक्षाक्षेत्रमा २७ अर्ब रुपियाँ लगानी गरेको थियो । सात वर्षपछि अर्थात् आव ०६९/७० मा यो रकम बढाएर राज्यले शिक्षाक्षेत्रमा ६३.९१ अर्ब लगानी पुर्‍यायो तर यो अवधिमा पनि बढ्दो लगानीको दाँजो एसएलसीको परिणाम भने कुनै पनि किसिमले संतोषजनक रहेको छैन, कसैले मान्न पनि सक्दैन । एकथरि सरकारी अधिकारीहरू परीक्षा सञ्चालनमा कडाइ गरिएको हुँदा नतिजा कम अनुपातमा आएको जिकिर गरिरहेका छन् भने कतिपय शिक्षविद्हरू पठनपाठनको हकमा शिक्षकको कमजोरीले यो अवस्था निम्त्याएको बताइरहेका छन् । अझ अर्काथरिहरू यसलाई समग्र शिक्षाप्रणालीकै असफलताको संज्ञा दिइरहेका छन् । हुनसक्छ, यी सबै कुरा आफ्ना ठाउँमा सही होलान् तर समस्या के हो भने यी र यस्ता प्रसंग हरेक वर्ष एसएलसी नतिजा प्रकाशित भएलगत्तै निस्कन्छन्, केही साता यससम्बन्धी परिचर्चाले राम्रो कभरेज पाउँछ । अनि, कुनै खास दिवस आएर गएजस्तै यो प्रसंग पनि एक वर्षका लागि हराउँछ ।
एसएलसी परीक्षाको आइरन गेटको यस्तो आइरोनी आमनेपालीले कहिलेसम्म बेहोरिरहनुपर्ने हो ? मुलुकको राजनीतिक एवं सामाजिक संक्रमणकालको दुहाइ दिएर यो आइरोनीलाई निरन्तरता दिने प्रयास सर्वथा अवैध हो । यसतर्फ शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालय, अभिभावक, शिक्षक, विद्यालय र सम्बद्ध सबै पक्षले गम्भीरतापूर्वक सोच्नुपर्छ ।

प्रतिक्रिया