११ प्रतिशतले एसएलसी नतिजा बढ्यो

गुल्मी : गत वर्षको तुलनामा यस वर्ष गुल्मी एसएलसी परीक्षाको नतिजा बढेर गएको छ । यस वर्ष गुल्मीमा नियमिततर्फ ४६.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष जम्मा ३५.२१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । देशभर एसएलसी परीक्षाको नतिजा लगातार ओरालो लागिरहेका बेला गुल्मीमा भने केही प्रगति भएको देखिएको छ ।
यस वर्ष ४ हजार ७ सय ५१ जना विद्यार्थीमा २ हजार १ सय ८८ जना विद्यार्थी पास भएको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले जानकारी दिए । नियमिततर्फ ७५ जना विद्यार्थी विशिष्ट श्रेणीमा पास भएका छन् । त्यस्तै, ८ सय ५६ जना विद्यार्थी प्रथम श्रेणीमा, १ हजार २ सय ३२ विद्यार्थी द्वितीय श्रेणीमा र २५ जना विद्यार्थी तृतीय श्रेणीमा पास भएका छन् ।
एक्जाम्टेडतर्फ भने २ हजार १ सय २८ मध्ये ४ सय २२ जना पास भएको जिल्ला शिक्षा अधिकारी अर्यालले जानकारी दिए । एक्जाम्टेडतर्फ प्रथम श्रेणीमा २ जना विद्यार्थी पास भएका छन् । ३ सय ८२ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् भने ३८ जना विद्यार्थी तृतीय श्रेणीमा पास भएका छन् ।
यसैबीच, २०६९ सालको एसएलसी परीक्षामा गुल्मीको एउटा विद्यालय निल भएको छ । जिल्ला शिक्षा कार्यालय गुल्मीका अनुसार रघुफेँदी मावि अग्लुङ निल भएको हो । १० जना विद्यार्थीले एसएलसी परीक्षा दिएको भए पनि दसै जना अनुत्तीर्ण हुँदा विद्यालय निल भएको हो ।
यस वर्ष सामुदायिकतर्फ महेन्द्र उच्च माध्यमिक विद्यालय तम्घास गुल्मीले गतिलो नतिजा प्राप्त गरेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार महेन्द्र उच्च माध्यमिक विद्यालयले ९६.७ प्रतिशत नतिजा प्राप्त गर्दै यस वर्षको उत्कृष्ट विद्यालय भएको छ ।

प्रतिक्रिया