पूर्वराजालाई शिवसेनाको थप सुरक्षा

Gyanendra-Shahaकाठमाडौं, ३० जेठ । पूर्वाञ्चल भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न राजनीतिक दलका युवा कार्यकर्ताले अभद्र शैलीमा अवरोध पुर्‍याउन थालेपछि शिवसेना नेपालले काठमाडौंबाट थप सुरक्षा दस्ता पठाएको छ । थप ५० जनाको दस्ता भ्रमणस्थलतर्फ खटाएको शिवसेनाका अध्यक्ष अनिल बस्नेतले बताए ।

‘सरकारले सुरक्षा त दिएकै छ तर हामी विश्वस्त हुन नसकेपछि थप सुरक्षा दस्ता पठाएका हौँ,’ अध्यक्ष बस्नेतले भने । गत शुक्रबारदेखि पूर्वाञ्चलको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई सरकार र शिवसेनाको ॐ रक्षा बाहिनीले संयुक्त रूपमा सुरक्षा दिँदै आएको छ ।
पूर्वराजाको सुरक्षार्थ शिवसेना नेपालले यसअघि नै चिरणवीर प्रताप खड्काको नेतृत्वमा दुई सय सुरक्षा दस्ता परिचालन गरिसकेको थियो । भ्रमणका क्रममा राजनीतिक दलका कार्यकर्ताले रकम दिई एक युवकलाई चप्पल प्रहार गर्न लगाएपछि थप सुरक्षा दस्ता पठाइएको हो । पूर्वराजालाई चप्पल प्रहार गर्ने युवा पक्राउसमेत परिसकेका छन् ।
करिब डेढ साता लामो भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले सिरहा, सर्लाही, सप्तरी, रौतहट, जनकपुर, मकवानपुरलगायत जिल्लाको भ्रमण गर्नेछन् । उनलाई सुरक्षा दिन शिवसेना नेपालले सुरक्षा क्याम्प नै स्थापना गरेको छ ।

प्रतिक्रिया