काठमाडौं, २९ जेठ । जडीबुटी संकलनका विषयमा कांग्रेस र नेकपा–माओवादी निकट युवाको विवादका कारण असामान्य परिस्थिति उत्पन्न भए पछि जुम्लामा कर्फ्यू आदेश जारी भएको छ ।
कर्फ्यू आदेश जारी हुँदा आज (बुधबार) जुम्लाको सदरमुकामको जनजीवन प्रभातिव भएको छ । कर्फ्यूका कारण स्थानीय मर्कामा परेका छन् ।
कर्फ्यू आदेश मंगलबार बेलुका देखि शुरु भएको हो । आज (बुधबार) विहान एक घण्टा खुकुलो भएको कर्फ्यू आदेश बेलुका पाँच बजेसम्म यथावत राखिएको जुम्लाका प्रहरी निरीक्षक विनोद धितालले जानकारी दिए ।
जडीबुटी संकलनको विषयमा रकम लेनदेनको विषयमा कांग्रेस र नेकपा–माओवादीका युवा/विद्यार्थीबीच जेठ–२५ गते झडप भएको थियो ।
रकम नपाए पछि नेकपा–माओवादीका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरी निरीक्षक धितालले जानकारी दिए ।
उता, कांग्रेसले २०/२५ जनाको समूहमा आएका नेकपा—माओवादीका कार्यकर्ताले सुनियोजित रुपमा आक्रमण गर्दा आफ्ना कार्यकर्ताहरु गम्भीर घाइते भएको जनाएको छ । उसले दोषीलाई हदैसम्मको कारबाही र शान्तिसुरक्षाको माग गरेको छ ।
जेठ–२६ गते कार्यालय तर्फ गैरहेका जिल्ला पशु सेवा कार्यालय कर्मचारी युनियनका सह–सचिव जनक सैंजुवाललाई नेकपा–माओवादीका हतियारधारी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गरेको पनि कांग्रेसको भनाई छ । सैंजुवाल कांग्रेस निकटका कर्मचारी हुन् ।
जेठ–२५ मा जडीबुटी संकलन गरी फर्कने क्रममा नेपाल तरुण दलका शंकर शाही र नेपाल शिक्षक संघका घनश्याम थापालाई पनि नेकपा–माओवादीका कार्यकर्ताले आक्रमण गरेर गम्भीर घाइते बनाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया