बर्सेनि खस्कँदो नतिजा

slc-chitकाठमाडौं: पाँच वर्षदेखि एलएलसी परीक्षाको नतिजा खस्कँदै गएको छ । ०६५ सालमा ६८ दशमलव ४७ प्रतिशत रहेको नतिजा यस वर्ष ४१ दशमलव ५७ मा सीमित भएको छ ।
वार्षिक कुल बजेटको १७ प्रतिशत बजेट शिक्षामा खर्च हुँदै आएको छ । तैपनि, ५ वर्षयता लगानीअनुसारको सन्तोषजनक नतिजा आउन सकेको छैन । प्रत्येक वर्ष परीक्षाफल खस्कँदै गए पनि सरोकारवालाले ध्यान दिन सकेका छैनन् । शिक्षाविद्हरूको भनाइमा एसएलसीको नतिजा खस्कँदै जानुमा मुख्य कारण शिक्षकको सिकाइ, विद्यार्थीको घोकन्ते शिक्षा र नतिजा सुधारोन्मुख बनाउनतर्फ ध्यान नदिनु हो ।
०६२ देखि ०६५ सालसम्म एसएलसीको नतिजा प्रतिशत बढेको थियो । त्यसपछि प्रत्येक वर्ष ओरालो लाग्दै आएको छ । सम्बन्धित निकाय विगतमा देखिएको परीक्षाफललाई सुधार्नतर्फ नलागेका कारण बर्सेनि परीक्षाफल घटेको शिक्षाविद्हरूको निष्कर्ष छ । शिक्षाविद् तीर्थ खनियाले सरोकारवाला पक्षले एसएलसीको नतिजाप्रति कुनै चासो नदिएका कारण परीक्षाफल घट्दै गएको बताए ।
‘के कारणले नतिजा घट्दै गएको हो र शिक्षक, विद्यार्थी वा अन्य के कारण हो ? त्यो पत्ता लगाउनुपर्छ, अनि मात्रै सुधार्न सकिन्छ,’ शिक्षाविद् खनियाले भने । ०६२ मा ४६ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने ०६५ मा आइपुग्दा ६८ दशमलव ४७ प्रतिशत उत्तीर्ण भए । त्यसपछि ०६६ मा ६४ दशमलव ९५ प्रतिशत, ०६७ मा ५५ दशमलव ९५ प्रतिशत र ०६८ मा ४७ दशमलव १६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए ।
‘बर्सेनि परीक्षाफल खस्कँदा पनि मन्त्रालयले नैतिक जिम्मेवारी लिएको छैन,’ शिक्षाविद् विद्यानाथ कोइरालाले भने, ‘यदि मन्त्रालयले नैतिक जिम्मेवारी लिएर सुधार्नतर्फ ध्यान दिएको भए नतिजा राम्रो आउन सक्थ्यो तर मन्त्रालय यसतर्फ लागेन ।’
शिक्षासचिव सोमलाल सुवेदीले पाठ्यपुस्तकबाट नभएर पाठ्यक्रमबाट प्रश्नपत्र सोधिएकाले नतिजा घटेको बताए । ‘यसपटक पाठ्यक्रमबाट पनि प्रश्नपत्र सोधियो,’ उनले भने, ‘परीक्षा पनि मर्यादित भएको थियो । त्यसैले नतिजा घटेको हो ।’

प्रतिक्रिया