तमलोपाका सहमहामन्त्री एमालेमा

काठमाडौं, २९ जेठ । तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री रत्नेश्वर गोइत एमाले प्रवेश गरेका छन् । मंगलबार पार्टी मुख्यालय बल्खुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले गोइतलगायत तमलोपा र एमाओवादीका विभिन्न तहका नेता–कार्यकर्तालाई टीका लगाएर पार्टीमा स्वागत गरे ।
संविधानसभाको अघिल्लो चुनावमा एमालेबाटै धनुषा–१ मा उम्मेदवार बनी पराजित भएका गोइत एमाले केन्द्रीय कमिटीका वैकल्पिक सदस्यसमेत थिए । भर्खरै एमालेबाट पोलिटब्युरो सदस्य रामचन्द्र झा एमाओवादी प्रवेश गरेपछि गोइत एमालेमा फर्किएका हुन् ।
तराईमा एमालेको नेतृत्वपंक्तिमा रहँदा गोइत र झाबीच एमालेमा चर्काे मतभेद थियो । झासँगको चर्काे मतभेदपछि एमाले छाडेर तमलोपामा लागेका गोइत झा एमाओवादीमा प्रवेश गरेपछि एमालेमा फर्किएका हुन् । गोइतले रामचन्द्र झाजस्ता अवसरवादी नेताहरूले एमालेलाई कमजोर बनाएको बताउँदै उनी गएपछि आफू एमालेमा फर्किएको बताए ।
‘आफूले २६/२७ वर्षसम्म पसिना बगाएर बनाएको पार्टी कमजोर हुँदा पीडा हुँदोरहेछ,’ गोइतले भने, ‘रामचन्द्र झाजस्ता घोर अवसरवादी एमाओवादीमा प्रवेश गरेका छन् अब उनी एमाओवादीबाट धनुषा–१ मा टिकट लिएर आउन् उनको जमानत जफत हुनेछ ।’
गोइतले मधेसको नाममा राजनीति गरिरहेका दलहरूले सत्ता र पैसाका लागि जस्तोसुकै अपराध गरेको आरोप लगाउँदै मधेसी जनतालाई भर्‍याङ बनाएर सत्ता र सम्पत्तिको लुट मच्चाएको बताए । ‘मधेसको नाममा राजनीति गर्नेहरूले मधेसी जनतालाई गुमराहमा राखेर सत्ता र पैसा आर्जन गरेका छन्, उनीहरूको कुनै एजेन्डा छैन, मधेसको नाम बेचेर सत्ता खरिद गरेका मात्र हुन्,’ उनले भने । नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले राज्यको पुन:संरचना पनि बहुजातीय पहिचानका आधारमा हुनुपर्ने उनले बताए ।
गोइतसँगै तमलोपाका विभिन्न जिल्ला र भ्रातृसंगठनमा आबद्ध कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका थिए । त्यस्तै, एमाओवादी नेवा: राज्य समितिका सचिवालय सदस्य भगवान दाहाल, थारुवान राज्य समिति सदस्य रोमहर्ष धिताल, केही पूर्वलडाकुसहित दुई सयभन्दा बढीलाई खनालले पार्टी प्रवेश गराएका थिए । त्यस्तै, सिन्धुली जिल्ला विकास समितिका पूर्वउपसभापति हेम लामा पनि एमालेमा प्रवेश गरेका छन् । लामा पार्टी विभाजनपछि स्वतन्त्र बसेका थिए ।
कार्यक्रममा ६ महिनायता मुलुकभर एमाओवादीबाट एमालेमा प्रवेश गरेका राज्य समिति सदस्य, जिल्ला कमिटी अध्यक्ष र सदस्यहरूको नाम र संख्या पढेर सुनाइएको थियो । देशभर जिल्लागत रूपमा एमाओवादीबाट प्रवेश गर्ने कार्यकर्ताको सूची पनि एमालेले सार्वजनिक गरेको छ । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीद्वारा हस्ताक्षरित सूचीमा अञ्चलगत रूपमा एमाओवादी अन्य पार्टीको जिम्मेवारी छाड्दै एमाले प्रवेश गर्नेहरूको विवरण छ ।
कार्यक्रममा पनि ज्ञवालीले सो सूची पढेर सुनाएका थिए । ‘क्रान्तिका लागि उठाइएका बन्दुक क्रान्ति पूरा भयो भनी चेक खोसिएपछि बिसाइएको छ र १७ हजारको बलिदानीपछि क्रान्ति सत्तामा जाने भर्‍याङ मात्र रहेछ भन्ने पुष्टि भएको छ,’ एमाओवादी थारुवान राज्य समितिका सदस्य रोमहर्ष धितालले भने, ‘अब १७ हजारको बलिदानीपछि वर्गसंघर्ष जातीय संघर्षमा रूपान्तरण भएको छ र राष्ट्रियताका लागि खनेका सुरुङ पुरेर नेतृत्व विदेशीसामु लम्पसार परेको छ, अब एमालेलाई बलियो बनाउनुको विकल्प छैन ।’
गोइतलगायतलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष खनालले एमाओवादीको युद्धले हिंसा र विनाशबाहेक केही नदिएको र ठूलो पार्टीका रूपमा पनि ऊ असफल भएको बताए । खनालले संविधानसभाको गत चुनावमा एमाले पहिलो पार्टी बनेको भए संविधान बन्ने दाबी गर्दै आउने चुनावमा एमालेलाई बहुमतसहितको पहिलो पार्टी बनाउने उद्घोष गरे ।
एमाओवादीबाट एमाले प्रवेश गर्ने अधिकांशले एमालेलाई कमजोर बनाउने केही नेता एमाओवादीमा प्रवेश गरेको र तल्लो तहमा एमाओवादीलाई सफल बनाउँदै आएका कार्यकर्ता एमालेमा प्रवेश गरिरहेको बताएका थिए ।
समारोहको अध्यक्षता गरिरहेका एमाले महासचिव ईश्वर पोखरेलले सस्तो प्रचार र स्टन्टवाजीका लागि पार्टी प्रवेश कार्यक्रम आयोजना नगरिएको बताए । पोखरेलले अन्य पार्टीबाट एमाले प्रवेश गर्ने लहर बढेको बताउँदै राजधानीमा देशव्यापी कार्यक्रमको नियमित कडीका रूपमा मात्रै मंगलबारको कार्यक्रमलाई लिन आग्रह गरे । ७ असारमा धनुषामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको पनि सो अवसरमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया