लोकतान्त्रिक व्यवस्था सुदृढ भएको हेर्न चाहन्छौँ : भारतीय प्रधानमन्त्री

deauकाठमाडौं, २९ जेठ । भारतले नेपालमा लोकतान्त्रिक व्यवस्था स्थिर र सुदृढ भएको हेर्न चाहेको जनाएको छ । भारत भ्रमणमा रहेका कांग्रेस नेता शेरबहादुर देउवासितको भेटवार्तामा भारतीय प्रधानमन्त्री डा. मनमोहन  सिंहले संविधानसभाको चुनावमार्फत नेपालमा शान्ति र लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।
‘भारतीय जनता र सरकार नेपालमा बहुदलीय लोकतन्त्र सुदृढ र सवल भएको हेर्न चाहन्छन् । संविधानसभाको चुनावमार्फत राजनीतिक गतिरोध अन्त्य भएर शान्ति, लोकतन्त्र र विकास भएको हेर्न चाहन्छन्,’ भारतीय प्रधानमन्त्री सिंहको भनाइ उद्धृत गर्दै भेटवार्तामा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले भने । भारतले नेपालमा संविधानसभा चुनावको मिति छिटो घोषणा हुने अपेक्षा गरेको पनि उनले बताए । भारतीय प्रधानमन्त्री सिंहको सरकारीनिवास रेसकोर्समा भेटवार्ता भएको थियो ।
भारतीय प्रधानमन्त्री सिंहले नेपालमा शान्तिप्रक्रिया सम्पन्न हुनु खुसीको कुरा भएको बताउँदै नेपाली जनता, सरकार र राजनीतिक दलहरूको सामूहिक प्रयासमा चुनाव सफलतापूर्वक सम्पन्न होस् भन्ने चाहना व्यक्त गरे । त्यसका लागि सबै किसिमको सहयोग गर्न भारत तयार रहेको जानकारी उनले कांग्रेस नेता देउवालाई गराएका थिए ।
पूर्वप्रधानमन्त्री देउवा भारत सरकारको निमन्त्रणामा ६ दिने भ्रमणमा आइतबार दिल्ली पुगेका हुन् । सोमबार कांग्रेस(आई)की अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गरेका उनले मंगलबार बिहान करिब ३५ मिनेट भारतीय प्रधानमन्त्री सिंहसँग नेपाल–भारत सम्बन्ध, विकासका परियोजना र वर्तमान राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् ।
भेटवार्तामा नेता देउवाले तत्कालीन माओवादीसित भएको १२ बुँदे समझदारीदेखि  नेपालको शान्तिपूर्ण परिवर्तनका आन्दोलनमा भारतको सहयोगको प्रशंसा गरेका थिए । उनले आगामी संविधानसभा चुनावमा पनि आवश्यक सहयोगको अपेक्षा गरेका थिए ।
‘०६२/६३ को आन्दोलनको परिवर्तनपछिका दुई महत्त्वपूर्ण काम शान्तिप्रक्रिया र संविधान निर्माणमध्ये शान्तिप्रक्रियाको काम सकिएको छ, अब संविधान निर्माणको काम बाँकी रहेकाले विभिन्न विचारधाराका दलहरूबीच सहमति जुटाएर निर्वाचनमार्फत संविधान बनाउने बाटोतर्फ हामी अग्रसर भएका छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै नेता निधिले भने ।
नेपालका लागि संघीयताको कुरा नयाँ विषय भएकाले विगतका कमी–कमजोरीबाट पाठ सिकेर संविधान निर्माणदेखि सबै विषयमा दलहरूबीच देखिएका विवाद आपसी सहमतिमा सुल्झाएर निर्वाचनमा जाने विश्वास देउवाले भारतीय प्रधानमन्त्री सिंहलाई दिलाएका थिए । उनले भारतीय प्रधानमन्त्रीसमक्ष नेपालको आर्थिक विकासका लागि पाँचवटा क्षेत्रमा सहयोगको आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया