अभियानमुखी मत्स्य कार्यक्रम लागू

वीरगन्ज, २९ जेठ । : माछा उत्पादनमा आत्मनिर्भर हुन र यसको उत्पादनबाट किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सरकारले पर्सा जिल्लामा अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागू गरेको छ ।
सो योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा कृषकलाई अनुदान दिन जिल्लामा ६ लाख बजेट विनियोजन गरिएको जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दिनेशप्रसाद रायले बताए ।
‘माछा उत्पादनका लागि जिल्लामा यो वर्ष कुल ६ हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गर्ने योजना रहेको छ,’ उनले भने, ‘यो अभियानमुखी कार्यक्रमलाई माछाको पकेट क्षेत्रमा नै लागू गर्न विशेष प्राथमिकता दिइएको छ ।’ अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माणका लागि यस वर्ष पर्साको बागवान, बिरुवागुठी, शंकरसरैया र लाहबरथकरीलगायत गाविसलाई विशेष प्राथमिकतामा राखिएको  छ ।
नयाँ माछापोखरी निर्माणका लागि सरकारले प्रतिहेक्टर एक लाखका दरले ६ हेक्टरका लागि ६ लाख अनुदानस्वरूप कृषकलाई उपलब्ध गराउनेछ । जिल्ला कृषि विकास कार्यालय मत्स्य कार्यक्रमका प्राविधिकसहायक दयाराम हरिजनका अनुसार नयाँ माछापोखरी निर्माणका लागि आह्वान गरिएको निवेदनको समयसीमाभित्र कुल ७३ जना कृषकले करिब ५० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माणका लागि निवेदन दिएका थिए । तर, बजेट विनियोजन भएअनुसार यस वर्ष ६ हेक्टर क्षेत्रफलमा मात्र नयाँ पोखरी निर्माण गर्न कृषकलाई अनुदान दिइने पनि उनले बताए ।
कृषकको अवस्था र मागलाई दृष्टिगत गरी यस वर्ष करिब १६ जना कृषकलाई तीनदेखि १५ कट्ठा क्षेत्रफलमा नयाँ पोखरी निर्माणका लागि अनुदान दिइएको प्राविधिक सहायक हरिजनले बताए । उनका अनुसार माछापोखरी निर्माणका लागि माटोको गुणस्तर परीक्षण र सम्भाव्यताको विस्तृत अध्ययन गरेर मात्र किसानको छनोट गरिएको छ ।
छनोट गरिएकामध्ये अधिकांश किसानले पोखरी खनाएर अनुदान रकमको अन्तिम किस्ताका लागि कार्यालयमा निवेदन दिएका छन् । माछाको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि त्यस्ता कृषकलाई माछा उत्पादनसम्बन्धी आवश्यक तालिम तथा प्रविधिसमेत उपलब्ध गराउने योजना कार्यालयको रहेको प्राविधिक सहायक हरिजनको भनाइ छ ।
जिल्लामा लागू भएका अभियानमुखी मत्स्य कार्यक्रम तथा पोखरी निर्माण कार्यक्रमलाई बढी व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सबै पक्षको सहयोग अपरिहार्य भएको उल्लेख गर्दै प्रमुख रायका अनुसार मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माणको अवस्था र यसको प्रभावकारी व्यवस्थापनमा देखिएको चुनौती, छडी माछा उत्पादन तथा बजार व्यवस्थापन, पोखरीमा माछाको उत्पादन र उत्पादकत्वको अवस्था, माछालाई खुवाउने दानाको प्रकृति, मत्स्य ह्याचरी तथा नर्सरीको आवश्यकता, माछाको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिमा देखिएको समस्या र यसका निराकरणका उपायबारे माछा उत्पादक किसानलाई तालिमको व्यवस्थासमेत गरिने योजना अगाडि बढाइएको छ ।
नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय सदस्य शैलेन्द्र चौधरी र जिल्ला अध्यक्ष भोला चौरसियाले माछाको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकलाई माछा उत्पादनसम्बन्धी तालिम, माछाको उत्पादन वृद्धिका लागि मेसिनरी, बजार व्यवस्थापन र माछावीज ढुवानीमा सरकारले अनुदान दिनुपर्ने माग गरे ।
पर्सा जिल्लामा हाल ८ सय कृषकसँग २ सय ४० हेक्टर क्षेत्रफलमा ८ सय ४५ वटा पोखरी रहेको अनुमान छ । जिल्लामा झन्डै साढे आठ हजार मेट्रिकटन उन्नत किसिमका माछा उत्पादन हुने गरेको छ भने माछाको उत्पादकत्व क्षमता २.५ देखि चार मेट्रिकटन प्रतिहेक्टर रहेको हरिजनले बताए ।

प्रतिक्रिया