′असारभित्रै स्ववियु निर्वाचन गराउछु′

Khilraj Regmi Cjकाठमाडौं, २८ जेठ । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले असार भित्रै स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन गराउने बताएका छन् ।
नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले स्ववियु निर्वाचन गराउनु आफ्नो प्रतिष्ठाको विषय पनि भएकाले जसरी भएपनि असारमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेको संघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । गएको जेठ २३ गते हुने भनिएको निर्वाचन विद्यार्थी संगठनहरुको विबादका कारण त्रिविले निर्वाचन स्थगित गरेको थियो । देशका अधिकांश क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनहरुबीचको विबाद बढ्दै जाँदा क्याम्पस प्रमुखहरुले स्ववियू गराउन नसक्ने भन्दै उपकुलपतिको ध्यानाकर्षण गराएपछि त्रिविले निर्वाचन स्थगित गरेपनि अर्काे मिति भने अहिलेसम्म तोक्न सकेको छैन ।
मिनि संविधान सभाका रुपमा लिइएको स्ववियु स्थगित भएपछि चरणबद्ध आन्दोलनमा रहेको नेविसंघले आज तत्काल मिति घोषणाको माग गर्दै त्रिवि कुलपति रेग्मीलाई ज्ञापन पत्र बुझाएको थियो । रेग्मीले स्ववियु स्थगन भएकोमा आफु दुखित भएको भन्दै छिटो भन्दा छिटो स्ववियु निर्वाचन गराउन त्रिवि पदाधिकारीहरुसंग छलफल गर्ने आश्वासन दिएका थिए । उनले स्ववियु निर्वाचनले आसन्न संविधान सभा निर्वाचनका लागि पनि वातावरण बनाउने भएकाले पनि स्ववियु चुनावा आवश्यक रहेको धारणा व्यक्त गरेको नेविसंघले जनाएको छ ।
नेविसंघले सरकारले जारी गरेको शिक्षा निर्देशिका कार्यान्वयन नभएको रेग्मीको ध्यानाकर्षण गराएको थियो । यस्तै क्षमता अभिवृद्धि गरिएको त्रिशुली तेश्रोको बारेमा पनि नेविसंघले असन्तुष्टि जनाएको प्रवक्ता लामिछानेले बताए ।

प्रतिक्रिया