जलविद्युत्मा लगानी गर्न सुझाव

पोखरा : अर्थ मन्त्रालयका सल्लाहकार डा. चिरञ्जीवी नेपालले कर्मचारी सञ्चय कोषमा सञ्चित भएको रकम ठूला जलविद्युत् आयोजनामा लगानी गरी सञ्चयकर्तालाई राम्रो प्रतिफल दिन आग्रह गरेका छन् ।

कर्मचारी सञ्चय कोष पोखरा शाखाद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा सल्लाहकार नेपालले देशमा चरम ऊर्जा संकट भएकाले कम लगानी गरी राम्रो आम्दानी हुने जलविद्युत् आयोजनामा कोषको रकम लगानी गर्दा सञ्चयकर्तालाई पनि राम्रो आम्दानी प्राप्त हुने विश्वास व्यक्त गरे ।
सञ्चित कोषको लगानी गर्ने निश्चित नहुँदा धेरै वित्तीय संस्था डुबेको उदाहरण पेस गर्दै उनले कोष जम्मा गर्नु ठूलो कुरा होइन तर लगानीको जोखिम व्यवस्थापन गर्न कोष बढी सचेत हुनुपर्नेमा जोड दिए । अहिले तीन प्रतिशत नेपाली मात्रै राज्यले उठाउँदै आएको करको दायरामा आएको र त्यो सीमित व्यक्तिबाट संकलित राजस्वबाट ९७ प्रतिशत नेपाली जनताका आवश्यकता पूरा गर्नुपर्ने बाध्यता परेको विचार व्यक्त गर्दै उनले कोषले सञ्चयकर्तालाई हित हुने राम्रा कार्यक्रम ल्याई सञ्चयकर्तालाई आकर्षित गर्न सुझाव दिए ।
कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले लगानीको प्रतिफल सुनिश्चित पहिचान गरेर अघि बढ्ने कोषको रणनीति रहेको जानकारी दिए । सञ्चयकर्ताले लिएको ऋणको सावाँ–ब्याज नियमित रूपमा तिर्दै गएमा त्यसको मुनाफा सबै हिस्सेदार सञ्चयकर्तामा बाँडिने बताउँदै कोषले अब छिट्टै जोखिम विश्लेषण व्यवस्थापन विभाग गठन गर्ने धारणा राखे ।
अर्थ मन्त्रालयका उपसचिव वासुदेव शर्माले सार्वजनिक संस्थान एकपछि अर्को गर्दै धराशयी बन्दै गएको अवस्थामा सरकारीस्तरबाट चलेको कोषले सन्तोषजनक प्रगति गर्दै गएकोमा खुसी व्यक्त गरे । कोषका विभागीय प्रमुख राजेन्द्र काºलेले कोषमा आबद्ध चार लाख ७० हजार सञ्चयकर्ताबाट एक खर्ब ४० अर्ब रकम संकलन भएको जानकारी दिए । कोषका कर्जा तथा लगानी विभागका विभागीय प्रमुख कैलाशभक्त काररञ्जितको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त क्षेत्रीय प्रशासक लोकराज रेग्मी, कोषका पोखरा शाखा प्रमुख वीरेन्द्रमोहन भट्टराईलगायतले धारणा राखेका थिए । (सौस)

प्रतिक्रिया