मानव सभ्यताको कलंक

रौतहटको एउटा दलित बस्तीमा आफूलाई कथित उपल्लोजाति भनाउँदाहरूले आक्रमण गरेर बस्ती नै उजाड बनाएका छन् । २१ सौँ शताब्दीको कलंकका रूपमा रहेको छुवाछुतजस्तो घृणित प्रथा कायमरहनु मानव सभ्यताकै उपहास हो । भिड्डाबर गाउँमा जुनसुकै कारणले आक्रमण भए पनि आक्रमण गर्ने अपराधी नै हुन् । मानवीय भावनासमेत नभएका आफूलाई उपल्लो जातको भएको दाबी गर्ने र दलितमाथि अमानवीय, अमर्यादित र अभद्र व्यवहार गर्नेहरू समाजका कलंक हुन् । मानिस जातका आधारमा ठूलो र सानो हुँदैन । सबै मानव समान हुन र यो धर्तीमा सबैको समान अधिकार हुन्छ । यदि कसैले जातका आधारमा आफूलाई ठूलो जातको भएको भन्दै विशेषाधिकार खोज्छ भने त्यो समाज विरोधी अपराधी हो । अहिले रौतहट पिपरिया दोस्तिया–८ भिड्डाबर गाउँको दलित बस्तीमा कथित उपल्लो जात हुँ भन्नेले आक्रमण गरेर गाउँनै उजाड बनाएका छन् । दलित बस्तीका वृद्धवृद्धा, बालबालिकालगायत १४ जनालाई गम्भीर घाइते बनाएको अवस्था छ । ती गाउँलेले दलित भएकै कारण कुटाइ खानुपर्‍यो । घरवार लुटियो र आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आयो । योभन्दा अन्याय र अत्याचार के हुन्छ ? के दलित मानिस होइनन् ? यो राष्ट्रमा, यो धर्तीमा र समाजमा उनीहरूको अधिकार छैन ? यसखाले प्रश्नको उत्तर अब नेपाल सरकारले दिनुपर्छ । नेपालबाट यो कलंक हटाउन सरकार कठोर बन्नै पर्छ । अन्यथा यही समाजिक कलंकले नेपालकै बदनाम गर्ने छ । र, दलितलाई विद्रोहका लागि उक्साउने छ ।
कथित उपल्लो जात दाबी गर्ने ती अपराधीलाई मन्दिर र भगवान् आफ्नो मात्र हुन्छ भन्ने लाग्दो रहेछ । उनीहरूले मन्दिरमा पूजा गरेकै निहुँमा दलितमाथि कुटपिट गरे । त्यो कुटपिटको अत्याचार सहन नसकी दलितले प्रहरीमा उजुरी दिए । उजुरीपछि दलितलेसमेत न्याय खोजेको उपल्लो जाति हुँ भन्नेलाई मन परेन । यसपछि आफूलाई उपल्लो जाति ठान्ने ती अपराधीले दलित बस्ती नै उजाड बनाए । कुटपिट गरेर लुटपाट मच्चाए । यो डकैती हो, सामाजिक अपराध र मानव सभ्यता विरोधी कार्य हो । यस्ता अपराध गर्नेहरू माथि सरकारले कानुनी कारबाही गरेर दलितको अधिकार संरक्षण गर्नुपर्छ । अब सामाजिक सद्भाव खल्बल्याउने, छुवाछुतप्रथा कायम राख्न खोज्ने र मानवलाई मानवको व्यवहार गर्न नसक्ने असामाजिक तत्वमाथि कडा कारबाही हुनै पर्छ । भिड्डाबर गाउँको घटना सामान्य खालको होइन । पशुत्वमा ओर्लिएर त्यहाँ अमानवीय व्यवहार भएको छ । यदि आफूलाई उपल्लो जातिका ठान्ने ती अपराधीमाथि कारबाही भएन भने त्यसले अर्कै खालको द्वन्द्व निम्त्याउन सक्छ । यसतर्फ सोच्न जरुरी छ । ६५ घर ध्वस्त बनाएर लुटपाट गर्ने र घरका मानिसलाई कुटपिट गर्ने कार्य डकैती नै हो । तसर्थ, ती अपराधीलाई डकैती मुद्दा अन्तर्गत कारबाही गर्न जरुरी छ ।
२१ साँै शताब्दीमा यसखालका घटना हुनुभनेको असभ्य समाजको नमुना बन्नु हो । सामाजिक विभेदको उपल्लो रूप यसलाई मान्न सकिन्छ । यस्ताखाले गतिविधि पूर्णरूपमा रोक्न अब कडा कानुन निर्माण गर्नुपर्छ । साथै छुवाछुत विषयलाई लिएर भिड्डाबरजस्तो आततायी घटना गर्नेमाथि व्यवहारमै हदैसम्मको सजाय हुनुपर्छ । स्थानीय समाजलाई मिलाउने अथवा सहभोज गराउनेजस्ता कार्यले मात्र अपराध ढाकछोप गर्ने काम हुन्छ । तसर्थ, त्यहाँ डकैती गर्ने उपल्लो जातकालाई अपराधबमोजिमको डकैती मुद्दा लगाएर सजाय गर्ने, क्षतिपूर्ति भराउने र सामाजिक सद्भाव साथै छुवाछुतजस्तो कानुन विरोधी काम गरेकोमा जरिवानासमेत तिराउने काम गरिनुपर्छ । र, यस्ता घटना दोहोरिन नदिन अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हँुदैन । सरकार यसतर्फ चनाखो हुनै पर्छ ।

प्रतिक्रिया