भारतसँगको सहमतिमा आपत्ति

काठमाडौं : नेपाल र भारतका गृहसचिवहरूबीच १८ जेठमा भएको २८ बुँदे सहमतिको दुई बुँदामा नेकपा–माओवादीले आपत्ति जनाएको छ ।
पार्टी अध्यक्ष मोहन वैद्यले आइतबार विज्ञप्ति जारी गरी सहमतिको २० र २१ नम्बर बुँदामा आपत्ति जनाएका हुन् । सहमतिको २०औँ नम्बरमा नेपालको आधुनिक प्रहरी प्रतिष्ठान पनौतीमा निर्माण गरी सञ्चालन गर्न भारतलाई दिने र २१औँ बुँदामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई पनि आधुनिकीकरण गर्ने नाममा भारतलाई दिने विषयमा गरिएको सहमति राष्ट्रिय सुरक्षा संवेदनशीलताको दृष्टिले गम्भीर र आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा भएका दुई पक्षीय निर्णयलाई निरन्तरतामा कार्यान्वयन गर्नका लागि सहमति गरिएको भन्ने बुँदाप्रति पनि आपत्ति जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘ती गोप्य निर्णय जहिलेसुकै सहमति गरिएको भनिए पनि त्यसप्रकारका राष्ट्रिय हितविपरीतका निर्णयहरूलाई अविलम्ब खारेज गर्न र ती निर्णयको कुनै पनि बहानामा कार्यान्वयन नगर्न सम्बद्ध पक्षहरूसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ (सौस)

प्रतिक्रिया