झा र अर्याल केन्द्रीय सदस्य मात्रै

Ramchandra_Jhaकाठमाडौं, २७ जेठ । एकीकृत माओवादीमा थप नेताहरूको कार्यविभाजनसहित केन्द्रीय समिति विस्तारमा विवाद देखिएको छ । विवादकै कारण आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा कार्यविभाजनसम्बन्धी प्रस्ताव प्रस्तुत हुन सकेन भने एमाले छाडेर एमाओवादी गएका नेताहरू रामचन्द्र झा र उर्मिला अर्याललाई केन्द्रीय सदस्यको जिम्मेवारी मात्र तोकिएको छ । झा र अर्याललाई एमाले छाड्ने बेला एमाओवादीको स्थायी समितिमा लैजाने बताइएको थियो ।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको बैठकमा विभिन्न चार कार्यदलका प्रतिवेदन भने प्रस्तुत गरिएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले तयार गरेको उत्पादन व्यवस्थापनसम्बन्धी, नेता कृष्णबहादुर महराको संयोजकत्वमा गठित कार्यदलको संगठनसम्बन्धी, टोपबहादुर रायमाझीको संयोजकत्वमा गठित फौजदारी मुद्दा लागेका कार्यकर्ताका विषयमा अध्ययन गर्ने कार्यदलको र केन्द्रीय सदस्य हितराज पाण्डेको संयोजकत्वमा गठित कार्यकर्ता अभिलेख व्यवस्थापनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको हो ।
संगठनसम्बन्धी नीतिगत निर्णय गरेपछि मात्रै केन्द्रीय समितिमा थपिने सदस्यको नाम र कार्यविभाजनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । केन्द्रीय समिति विस्तारमा विवाद भएपछि विभिन्न ब्युरो र राज्यसमितिहरूको सुझावका आधारमा नाम तय गर्न महराको संयोजकत्वमा गठित कार्यदललाई जिम्मा दिइएको थियो । बैठकमा एमाले परित्याग गरेर एमाओवादी प्रवेश गरेका झा र अर्याललाई आमन्त्रितका रूपमा उपस्थित गराइएको थियो ।
केन्द्रीय समिति विस्तारका लागि महरा नेतृत्वको कार्यदलले नाम प्रस्ताव गर्नुअघि नीतिगत विषयमा सहमति गरिने एमाओवादी स्रोतले बताएको छ । ‘झाजी र उर्मिलाजीलाई केन्द्रीय सदस्यको जिम्मेवारी तोकिएको छ, उहाँहरूले पनि पार्टीको नीतिअनुरूप अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ,’ प्रवक्ता सापकोटाले भने । स्रोतका अनुसार झा र अर्याललाई केन्द्रीय सदस्यका रूपमा महराले प्रस्ताव तयार गरेका छन् ।
यस्तै, एमाले नै परित्याग गरी एमाओवादी प्रवेश गरेकी पूर्वसभासद् लक्की शेर्पालाई केन्द्रीय कमिटीको वैकल्पिक urmila-aryalसदस्यमा प्रस्ताव गरिएको स्रोतले बताएको छ । एमाले पोलिटब्युरो सदस्यबाट पार्टी छाडेका झा र अर्याललाई एमाओवादीमा स्थायी समितिमा लैजाने आश्वासन दिइएको बताइएको थियो । तर, उनीहरूलाई सुरुमै माथिल्लो स्तरको जिम्मेवारी दिने विषयमा पार्टीभित्र विवाद उत्पन्न भएपछि तत्काल केन्द्रीय सदस्यमा सिमित गर्न लागिएको हो ।
झालाई स्थायी समितिमा लैजाने प्रस्तावविरुद्ध एमाओवादीका मधेसी मुलका नेताहरू जुटेका छन् भने अर्याललाई पोलिटब्युरोमा लैजान नहुने पक्षमा नेत्री हिसिला यमी लागिपरेकी छन् । उनीहरूको चर्काे विरोधपछि तत्काललाई झा र अर्याललाई केन्द्रीय सदस्यमै सीमित गर्न लागिएको स्रोतले जनाएको छ । तीन सय ३९ सदस्यीय एमाओवादीको केन्द्रीय समिति विस्तार गरी चार सय ९९ पुर्‍याइने प्रस्तावमा उल्लेख छ ।
आइतबार प्रस्तुत प्रतिवेदनहरूमाथि अध्ययन गरी सुझाव प्रस्तुत गर्नका लागि तीन दिनको समय दिइएको छ । बैठक ३० जेठमा फेरि बस्ने पार्टीले जनाएको छ ।

प्रतिक्रिया