‘वरिष्ठ’ शब्दै छैन/देउवा ‘नेता’ मात्रै : कांग्रेस

sher deubaकाठमाडौं, २६ जेठ । नेपाली कांग्रेसले आफ्नो आधिकारिक विज्ञप्ति वा बैठकको निर्णय पुस्तिकामा ‘वरिष्ठ’ शब्द लेख्ने गरेको छैन ।
भारत सरकारको अपौचारीक भ्रमणमा आज (आइतबार) दिल्ली प्रस्थान गरेका देउवाको बारेमा जानकारी दिन पार्टी कार्यालयद्धारा जारी विज्ञप्तिमा कांग्रेसले ‘नेता तथा पूर्व प्रधानमन्त्री’ मात्रै भनेर सम्बोधन गरेको छ ।
देउवालाई पार्टीका अधिकांश कार्यक्रममा ‘वरिष्ठ’ नेताका रुपमा आसन ग्रहण गराए पनि कांग्रेसको आधिकारिक स्थानमा भने उनलाई ‘नेता’का रुपमा मात्रै सम्बोधन गरिने गरिएको छ ।
कांग्रेस पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीद्धारा शनिबार बेलुका जारी विज्ञप्तिमा पनि देउवालाई ‘नेता एवं पूर्व प्रधानमन्त्री’ मात्रै भनेर सम्बोधन गरिएको छ । यस विषयमा जिज्ञासा राख्दा सचिव पराजुलीले देउवालाई ‘वरिष्ठ’ नेता दिने निर्णय सुशील कोइराला सभापति भए पछि पार्टीमा कतै नभएको जानकारी दिए ।
‘गिरिजाप्रसाद कोइराला सभापति भएका बेला पार्टी एकीकरण हुने क्रममा ‘वरिष्ठ’को उपाधि दिईएको थियो,’ उनले भने, ‘तर, अहिले सभापतिमा सुशील कोइराला निर्वाचित भएर आउनु भएको छ । यस पटक देउवालाई ‘वरिष्ठ’ नेता दिने निर्णय कतै भएको छैन ।’
यसै विषयमा जिज्ञासा राख्न प्रवक्ता दिलेन्द्र बडूसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनको मोवाइल फोन आफ थियो ।
देउवा निकट केन्द्रीय सदस्यहरुले उनी वरिष्ठ नेता भएको दावी गर्छन् । ‘शेरबहादुर देउवा वरिष्ठ नेता नै हुनुहुन्छ,’ उनी निकट एक सदस्यले भने, ‘निर्णय वा लेखिरहनु पर्दैन । देउवा सधै वरिष्ठ रहिरहनु हुन्छ ।’
केन्द्रीय सदस्य एन.पी.साउदले पनि पार्टी एकीकरण गर्ने क्रममा देउवालाई वरिष्ठ नेताको पद दिएकाले अर्को व्यवस्था नहुंदा सम्म सोही निर्णय कार्यान्वयन हुने दावी गरे । उनले भने, ‘नेता देउवा वरिष्ठ नेता नै हुन् । कुनै आशंका नगर्नुस् ।’

जेठ २५, २०७०

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भोलि जेठ २६ गते (तदनुसार ९ जुन २०१३) का दिन एयर इण्डियाको उडान नं २१४ द्वारा विहान १०:०० बजे काठमाडौबाट दिल्लीतर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री विमलेन्द्र निधि र नेता शेरबहादुर देउवाको धर्मपत्नी डा. आरजु राणा देउवा समेत उक्त भ्रमण कार्यक्रममा रहनु हुनेछ । भ्रमणका क्रममा भारतको उत्तरखण्ड प्रदेश समेत पुग्ने उहाहरुको कार्यक्रम रहेको छ । उहाहरुको दिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेश मन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाई लगायत भारत सरकारका उच्च पदस्थ पदाधिकारीहरुसाग भेट हुने कार्यक्रम रहेको छ । त्यस्तै भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवार, समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादव, काग्रेस पार्टीका महामन्त्रीद्वय जनार्दन द्विवेदी र दिग्विजय सिंह, कांग्रेस पार्टीका विदेश विभाग प्रमुख करण सिंह, नेपाल सोलीड्यारीटी सोसाइटीका अध्यक्ष डीपी त्रिपाठी, सिताराम यचुरी, केसी त्यागी, सुरिन्दर भदौरिया, विजय प्रताप लगायतका राजनीतिक शीर्ष नेताहरुसाग भेटघाट हुने कार्यक्रम रहेको छ । उहाहरुलाई नेपाली दूतावास र नेपाली जनसम्पर्क समिति भारतले स्वागत एवं सम्मान गर्ने कार्यक्रम समेत राखेको छ ।

प्रदीप पराजुली

सचिव

 

प्रतिक्रिया