गंगालालले पुष्पलाललाई भन्नुभो अधुरो काम पूरा गर्नू

Vijaya-Lal-Shresthaजेठो दाजु हुनुहुन्थ्यो गंगालाल । उमेरमा चौध वर्षको फरक थियो । सानै थिएँ, पढाइ र खेल्नमै बढी ध्यान हुन्थ्यो । दाजुहरू के गर्छन्, बुझ्दैनथेँ । आमा बितेपछि हाम्रो रेखदेखका लागि बुबाले पुनर्विवाह गर्नुभएको थियो । हाम्री आमापट्टिबाट पाँच भाइ थियौँ ।

दाजु राणाविरोधी आन्दोलमा लाग्नुभएको रहेछ । १९९७ कात्तिक २ गते राणाका सेनाले हाम्रो घर खानतलासी गरे । दाजुलाई पक्रिए । कागजको एक टुक्रा पनि छोडेनन्, हाम्रा कापीकिताबसमेत लगे । किताब मात्रै सात बोरा भएका थिए । हाम्रो सर्वस्वहरण भयो । स्कुलका कापीकिताबसमेत लगेकाले केही समय पढ्न पाएनौँ । उमेर बढ्दै जाँदा मैले पनि दाजुले सुरु गरेको आन्दोलनबारे थाहा पाएँ, ६–७ कक्षामा पढ्दा ।
आमा नभएकाले होला, गंगालाल दाजु हामी भाइहरूलाई साह्रै माया गर्नुहुन्थ्यो । फुर्सदमा हामीलाई पढाउनुहुन्थ्यो । कान्छो भएकाले मैले सबैको माया पाएँ । दाजु पक्राउ पर्दा म सात वर्षको थिएँ । घर प्याफलमा थियो । भाउजू माइत जानुभएको थियो । पक्राउअघि दाजुले मलाई हसना भाउजूलाई बोलाउन भन्नुभो’ । ढोकाटोल पुग्दा भाउजू भेट हुनुभो, घरतिरै आउँदै हुनुहुँदो रहेछ ।
दाजुलाई जेल हाले । खाना घरबाटै लगिन्थ्यो, दाजुहरू पालैपालो जान्थे । कहिलेकाहीँ दाजुका साला द्वारिकामान पनि जान्थे । एक दिन दाजुले काहिला दाजु देवीलालसँग भन्नुभएछ, ‘कान्छालाई ल्याओ न, भेट्न मन लागेको छ ।’ उहाँलाई सिहदरबारमा थुनिएको थियो । एक बिहान दाजुले मलाई पनि लैजानुभयो । तर, खाना दाजुको हातमा भएकाले मलाई भित्र छिर्न दिएनन् । त्यही साँझ दाजुले सिरक बोक्नुभयो, अनि मलाई खाना बोक्न लगाउनुभयो । बल्ल गंगालाल दाजुलाई भेट्न पाएँ । उहाँले मलाई एक मोहर दिनुभयो । अनि, भन्नुभयो, ‘राम्रोसँग पढ्नू है †’ दाजुसँगै अर्का एक मान्छे पनि थुनिएका थिए । सायद उनी दशरथ चन्द थिए ।
दाजुलाई राणाहरूले मार्छन् भन्ने अड्कल सबैले गरिसकेका थिए । परिवारमा दिनहुँ चिन्ता हुन्थ्यो । तर, उहाँले आत्मसमर्पण गर्नुहोस् भन्ने कमजोर भावना कसैमा थिएन । हत्याको अघिल्लो दिन उहाँलाई परिवारका सबै सदस्यसँग भेट गर्न दिइएको थियो । परिवारसँगै म पनि गएँ । जेलअगाडिको जगन्नाथ मन्दिरमा भेट गरियो । जेठी भाउजू र सानीआमाबाहेक सबै आफन्त गएका थियौँ । मामा, मावली बज्यै, दिदीबहिनी सबै । त्यति बेलाकी नेत्री कामाक्षदेवी पनि थिइन् ।
पुग्नेबित्तिकै माहिला दाजु पुष्पलालले ‘कानेजुत्ता’ खोलेर गंगालाल दाजुलाई अँगालो हाल्नुभयो । अँगालोमै केहीबेर कुरा भयो । पछि थाहा पाएँ, जेठा दाजुले माहिला दाजुलाई भन्नुभएको रहेछ, ‘मैले पूरा गर्न नसकेको काम तिमीले गर्नु ।’ सबैलाई थाहा थियो, यो अन्तिम भेट हो । सबै भावुक थियौँ । बुबा बोल्न सक्नुभएन । गंगालाल दाजुले गीताका केही अंश भन्नुभयो– ‘जे हुन्छ राम्रै हुन्छ ।’ बुबाले उहाँलाई सुनको एउटा टुक्रो दिएर भन्नुभयो– ‘अन्तिम अवस्थामा यो मुखमा हाल्नू ।’ मर्ने बेला मुखमा सुन हुनु पवित्र मानिन्थ्यो । कामाक्षादेवीले द्वारिकामानलाई पान किन्न पठाउनुभयो । त्यो पान दाजुलाई दिनुभयो । दाजुले मलाई देखाउँदै भन्नुभयो, ‘खान्छस् ?’ मैले टाउको हल्लाएँ । च्यातेर एक टुक्रा मलाई दिनुभयो, अनि बाँकी खानुभयो । पछि थाहा पाएँ– पान शुभकार्यमा सगुन मानिँदो रहेछ । त्यही भएर उहाँलाई खुवाइएको रहेछ ।
करिब एक घन्टाको भेटघाटपछि सेनाले समय सकिएको जनाउ दियो । परिवारको प्यारो सदस्यलाई सधैँका लागि छाडेर हिँड्दै थियौँ, कसैको मुहार उज्यालो थिएन । बज्यै धेरै रुनुभयो, दिदी भुइँमा लडीबुडी गर्नुभयो । त्यो भेटमा पुष्पलाल दाजुसँग नै उहाँको धेरै कुरा भयो । राजनीतिमै लागेकाले पहिलादेखि नै यसबारे उहाँहरूको कुरा हुँदो रहेछ । त्यसै कारण जेठा दाजुको भावना माहिला दाजुले हामीले भन्दा बढी गहिरोसँग बुझ्न सक्नुहुन्थ्यो ।
साँझ घरमा कोही कसैसँग बोलेन, पूरै सुनसान थियो । घरीघरी सबै जना रोइरहेका देखिन्थे । रुवाबासी त दाजुलाई राणाले मार्दै छन् भन्ने सुनेदेखि नै सुरु भइसकेको थियो । गंगालाल दाजुले आफ्ना राजनीतिक साथीहरूलाई भन्नुभएको रहेछ, ‘मेरा भाइहरूको हेरबिचार गरिदिनुहोला ।’ पछि उनीहरू बेलाबेला आएर हाम्रो हालचाल सोध्थे ।
म सधँै बुबासँगै सुत्थेँ । दाजु पक्राउ परेपछि भाउजूकी आमा सधैँजसो बिहान घर आउनुहुन्थ्यो । दाजुका बारेमा चिन्ता लिनुहुन्थ्यो । कुराकानी हुन्थ्यो । त्यस दिन पनि भन्नुभयो, ‘आज फाँसी दिने भनेका छन् ।’ मलाई नरमाइलो लागेर आयो ।
बिहानै सबैतिर समाचार फैलियो– ‘राणाले गंगालाललाई फाँसी दिए ।’ रुनु×–कराउनु त नियमितजस्तै भइसकेकै थियो । पूरै परिवार शोकमा डुब्यौँ । गुठियार कोही पनि आएनन्, राणाविरुद्ध लागेको भनेर । त्यो घटनापछि बुबाले आफूलाई गुठीबाट अलग रहेको घोषणा गर्नुभयो । नाता–कुटुम्ब कोही नै आएनन् । सबै राणासँग डराएका थिए । बुबाले भन्नुभयो, ‘यस्तोबेला समवेदनासमेत दिन नआउने गुठियार किन चाहियो †’ हत्यापछि गंगालाल दाजुको शव बुझेर माहिला र साहिला दाजुले बाहिरै अन्त्येष्टि गरिदिनुभयो । मैले त देख्न समेत पाइनँ । राणाहरूले उहाँलाई गोली हानेर मारेछन् । मृत्युको अन्तिम क्षणसम्म पनि उहाँ आफ्नो अडानबाट डगमगाउनुभएन ।
बुबा सरकारी जागिरे हुनुहुन्थ्यो, मालपोतको खरिदार । छोरा राणाविरुद्ध लागेको आरोपमा उहाँको जागिर खोसियो । जेठी दिदी पछि सुनाउनुहुन्थ्यो– ‘गंगालाल दाजुलाई त्यसअघि पनि पक्राउको आदेश गरिएको थियो ।’ त्यसबेला बुबाले दाजुलाई पहिले आफ्नो पढाइ सिध्याउन पत्र लेख्नुभएको थियो । बुबाले दाजुहरूलाई कहिल्यै ‘राजनीतिमा नलाग’ भन्नुभएन । सायद उहाँ पहिला पढाइचाहिँ सिध्याऊन् भन्ने चाहनुहुन्थ्यो । छोरा यसरी हाम्रा विरुद्ध लाग्दा पनि केही नभन्ने भनेर राणाहरू बुबासँग रिसाएछन् । दाजुको हत्या गर्नुभन्दा पहिल्यै बुबालाई जागिरबाट निकालियो ।
सर्वस्वहरण गरिएपछि हामीसँग केही नै थिएन । बुबा कुनैकुनै साँझ सबैलाई बसाएर सल्लाह गर्नुहुन्थ्यो, ‘सम्पत्ति सबै सकियो, अब के गर्ने ?’ पारिवारिक जमघटमा जेठा दाजुलाई मार्ने राणाहरूका बारेमा पनि कुरा हुन्थ्यो– ‘अब कति टिक्लान् र ?’ राणाविरोधी आन्दोलन बढ्दै गइरहेको थियो । त्यो आन्दोलनबारे गफ हुन्थ्यो । दाजुसँगै चार जनालाई फाँसी दिइएपछि राणाहरूमाथि दबाब बढिरहेको थियो । राणा जति कमजोर हुन्थे, हामी उति खुसी हुन्थ्यौं । सहिद दाजुको इच्छा पूरा हुँदै गएभैँm लाग्थ्यो । त्यसैले आन्दोलनप्रति हामी सबैको चासो थियो । बुबा माहिला र साहिला दाजुसँग बाहिरी राजनीतिबारे सोधखोज गरिरहनुहुन्थ्यो । हसना भाउजू पनि मलाई सोधिरहनुहुन्थ्यो–
‘कान्छा, बाहिरको अवस्था के रहेछ, केही बुझेका छौ ?’ उहाँ आन्दोलन अनि राजनीतितिर विशेष चाख देखाउन थाल्नुभएको थियो । ०७ सालमा राणाशासन अन्त्य भयो । हाम्रो परिवारै सबैभन्दा बढी खुसी भयो ।
राणाहरूले दाजुको हत्या गर्दा मलाई सहिद भनेको थाहा थिएन । विस्तारै सहिदको महत्त्व बुझ्दै गएँ । उमेर र पढाइसँगै विश्वराजनीति पनि बुझ्न थालेँ । त्यसबेला भारतीय स्वतन्त्रता संग्राम र विश्वयुद्ध चर्कंदै थियो । ०४ सालको वैशाख थियो, पुष्पलाल दाजुले ‘कान्छा आज चाँडै स्कुल जा’ भन्नुभयो । कारण नबुझीकनै म दाजुको आदेश मानेर फटाफट निस्केँ । असन पुगेको मात्रै थिएँ, बाटोमा हल्लाखल्ला सुनेँ । ‘इन्कलाब जिन्दावाद’ भन्दै जुलुस अघि बढिरहेको रहेछ । जुलुसमा अगाडिपट्टि सहाना र साधना प्रधान देखिए । सहानालाई पहिलोपटक त्यहीँ देखेको हो । दाजुलाई पनि देखेँ । लाग्यो– ‘यो जुलुस राम्रो काम रहेछ, म पनि जान्छु ।’ स्कुलै नगई त्यही जुलुसमा मिसिएँ म पनि । त्यसपछि माहिला दाजु घरमा आउनुभएन । जेठी भाउजू हसना मलाई बाहिरका घटनाक्रमहरू सोधिरहनुहुन्थ्यो । हामी नाताले देवर–भाउजू भए पनि भावनामा आमाछोराजस्ता थियौँ । मसँग कुरा गर्न उहाँलाई सजिलो पनि हुन्थ्यो ।
राणाविरोधी आन्दोलनमा सबै दाजुभाइ जान्थ्यौँ । हामीलाई देखेर मान्छेहरू भन्थे, ‘गंगालालको परिवारै आयो ।’ स्कुलका कार्यक्रममा पुष्पलाल दाजु लिएर जानुहुन्थ्यो । उहाँसँग कैयौँपटक महावीर स्कुल पुगेको छु । नेपालको राजनीतिमा हाम्रो परिवारका सबै सदस्यको कुनै न कुनै रूपमा सहभागिता छ । सानीआमालगायत आफन्तसम्मले परिस्थितिवश आआफ्नो ठाउँबाट सहभागिता जनाएका छन् । हामीलाई साथ दिएका छन् । दिदीहरू त्यति बेलाको महिला संगठनमा लाग्नुभएको थियो । साहिला दाजु निर्मल लामाहरूलाई प्रशिक्षण दिनुहुन्थ्यो । हामी सबै राजनीतिक स्कुलिङमा हुर्कियौँ । गर्व लाग्छ मलाई ‘गंगालाल र पुष्पलाल’ को भाइ हुन पाएकोमा ।
सहाना प्रधान बेलाबखत पुष्पलाल दाजुसँग घर आउँथिन् । मलाई लाग्थ्यो– उहाँहरूबीच केही न केही त पक्कै छ । पुष्पलाल दाजु भूमिगत अवस्थामै हुँदा हाम्रो ‘फेमिली पिकनिक’ थियो इंचगुमा । त्यहाँ सहाना र साधनाका दिदीबहिनी पनि आए । मलाई अचम्म लाग्यो– ‘फेमिली पिकनिकमा यी बाहिरी दिदीबहिनी किन आएका होलान् †’ पछि सहानाले पुष्पलाल दाजुसँग बिहे गरेपछि पो सबै कुरा बुझेँ । साधनाले चाहिँ मनमोहन अधिकारीसँग बिहे गरिन् ।
जतिबेला गंगालाल दाजुले स्वतन्त्रताका लागि मृत्यु रोज्नुभयो, त्यो रोजाइको औचित्य त्यतिबेला मैले बुझेको थिइनँ । समय र परिस्थितिहरूले बुझाउँदै लगे– ‘त्यो एउटा शरीरको अन्त्य होइन, खासमा राष्ट्रभक्ति पो रहेछ । देशको मुक्तिका खातिर गरिएको एउटा पवित्र समर्पण रहेछ ।’ यी र यस्ता कुरा बुझ्न थालेपछि मलाई आफ्ना दुवै दाजुप्रतिको श्रद्धा झन् बढ्यो । उहाँहरूको त्याग र संघर्षको महत्त्व बुझेँ । एउटा भाइ वा परिवारलाई भन्दा उहाँहरूको आवश्यकता राष्ट्रलाई रहेछ । उहाँहरूलाई जति सम्झन्छु, श्रद्धा उति बढ्छ ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया