बाँदरमुढे निको नहुने घाउ

चितवनको बाँदरमुढेमा विभत्स घटना भएको आठ वर्ष बितेर नौ वर्ष लाग्यो । तत्कालीन माओवादी विद्रोहीले सर्वसाधारण यात्रा गर्ने बसलाई धरापमा पारेर ३८ जनाको ज्यान लियो भने ७० जनालाई घाइते बनायो । अत्यन्त पासविक, निन्दनीय, क्रूर र अमानवीय घटनामा मरेर जानेलाई ‘भाग्यमानी’ भन्ने हो भने घाइतेहरू अहिले पनि मानसिक, शारीरिक र आर्थिक पीडा भोगिरहेका छन् । उनीहरूले सहानुभूतिसमेत पाउन सकेनन् । तत्कालीन राज्य पक्षबाट पनि यस्तै विभत्स घटना भएका थिए । ती घटनामा पर्ने जो माओवादी पक्षका थिए, माओवादी नै सरकारमा पुगेका बेला सहिद घोषित भएर राहत पनि पाए । तर, राज्यपक्ष बाटै कालिकोटमा मारिएका धादिङ जोगिमाराका पीडितले राहत पाएनन् । दोरम्बा, कालिकोट र बाँदरमुढे घटना अक्षम्य घटनाका कहाली लाग्दा उदाहरण हुन् । बाँदरमुढे जस्तो आतताही र निर्मम हत्याका हत्याराहरूलाई कारबाही गरिनुपथ्र्यो, त्यो पनि भएन र पीडितले राहत पनि पाएनन् । तत्कालीन विद्रोही पक्ष शान्ति प्रक्रियामा आएर दुईपटक सत्ताको बागडोर समाल्न पुग्यो । बाँदरमुढेका पीडितलाई राहत दिने कबुल पनि गर्‍यो । तर, छली, धूर्त र कपटपूर्ण आस्वासनबाहेक एमाओवादीका नेताले बाँदरमुढेका पीडितलाई केही पनि दिएनन् । यसबीचमा एमालेले दुईपटक सरकार चलायो । अहिले खिलराज रेग्मीको सरकार छ । तर, पीडितलाई न्याय र राहत उपलब्ध गराउनेतर्फ कसैले सोचेको पाइएन ।
आफ्ना कार्यकर्तालाई राज्यको ढुकुटी प्रशस्त बाँड्ने माओवादी नेताहरू जनताको कुरा पनि गर्छन् । बडो आदर्शवादी भएर अन्यायमा परेका र पीडितलाई न्याय दिने तर्क पनि गरी टोपल्छन् । तर, बाँदरमुढेलगायतका घटनाले एमाओवादीको आदर्शलाई नंग्याएको छ । यति छली, धूर्त र कृतघ्न कोही पनि हुन सक्तैनन् । शान्ति प्रक्रियामा आइसकेपछि उनीहरूले सत्ता समाले । १० वर्षे द्वन्द्व मान्छे मार्नकै लागि मात्र भएको थियो भन्ने प्रमाणित उनीहरूले नै गरिसकेका छन् । धेरै जनताको ज्यान लिने, अंगभंग गर्ने र सर्वसाधारणलाई मुक्तिको सपना बाँडेर हिँड्नेहरू अहिले महासामन्तको जीवन बिताउँदै छन् । राज्य सत्ताको सुखभोग गर्दै छन् र विदेशीको इसारामा राष्ट्रियताको धज्जी उडाउँदै छन् । शान्ति प्रक्रिया टुंगिएन, संविधान बनेन, जनताले पीडा पाए, मुक्ति पाएनन् । शान्ति प्रक्रिया टुंग्याउन लुटिएका, मारिएका, अंगभंग बनाइएका र सताइएकाहरूले न्याय पाउनुपथ्र्यो त्यो हँुदै भएन । आफ्ना लडाकुलाई राज्यको ढुकुटीबाट पैसा बाँडनुलाई नै शान्ति प्रक्रिया टुंगिएको भनेर एमाओवादी नेताले भाषण गरे । जबकि शान्ति प्रक्रियाको सबैभन्दा ठूलो पाटोतर्फ प्रवेश नै गरेनन् । बाँदरमुढे पनि यही पाटोभित्रको दर्दनाक घटना हो ।
वास्तवमा माओवादीले आफँैद्वारा हत्या गरिएका, अंगभंग बनाइएका र पीडा पुर्‍याइएकालाई न्याय र राहत नदिनु स्वाभाविक हो । तर, अन्य दलका नेता र वर्तमान सरकारले पनि न्याय र राहतका पक्षमा नबोल्नु अनौठो भएको छ । जबसम्म बाँदरमुढे, कालिकोट, दोरम्बालगायतका जघन्य घटनाका अपराधीले कठोर सजाय पाउँदैनन् तबसम्म पीडितका पक्षमा काम भएको मान्न सकिँदैन । र, शान्ति प्रक्रिया पनि टुंगिँदैन । तसर्थ, माओवादीको मुख ताक्नेभन्दा पनि द्वन्द्वका पीडितलाई वर्तमान सरकारले नै राहतको व्यवस्था गर्नुपर्छ । बाँदरमुढेमा घाइते, अंगभंग र मानसिक तनाव भोगेकालाई जीवीकाको ग्यारेन्टी सरकारले गर्नुपर्छ । अपराधीले सजाय पाउने व्यवस्था पनि यही सरकारले गर्नुपर्छ ।

प्रतिक्रिया